Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

भिजिट भिसामा गएका ५३ हजार नेपाली फर्किएनन - Brighter Khabar


भदौ १४ गते । पछिल्लो छ महिनामा खाडी मुलुकमा मात्र ५३ हजार ५४ नेपाली भिजिट भिसामा गएका छन्। संयुक्त अरब इमिरेट्स (यूएई)लगायत खाडी मुलुकमा भिजिट भिसामा गएका तीमध्ये अधिकांश फर्किएका छैनन्। 

अध्यागमन विभागको तथ्याङ्क अनुसार गत फागुन २७ देखि भदौ १० गतेसम्म सबैभन्दा बढी खाडी मुलुक दुबईमा ३९ हजार ६३० जना भिजिट भिसामा गएका छन्। यसैगरी कतार एक हजार ३८६ जना, साउदी अरब एक हजार ८१, ओमन ७९६, कुवेत ५२८ र बहराइन ३०४ जना भिजिट भिसा गएकामध्ये अधिकांश फिर्ता भएका छैनन्।

आकर्षक रोजगारीको प्रलोभनमा विभिन्न गिरोहले भिजिट भिसामा युवतीलाई खाडी मुलुक पु-याई अलपत्र तथा बन्धक बनाएको पाइएपछि मानव बेचबिखनमा पर्ने गरेपछि नेपाल सरकारले भिजिट भिसामा रोक लगाएको थियो।

पछिल्लो समय भिजिट भिसामा दुबई जान लागेका ११४ जना युवती र १०३ जना युवकका कागजपत्र नक्कली पाइएपछि प्रहरीले विमानस्थलबाट फिर्ता गरेको थियो। यस घटनाले फेरि खाडी मुलुकमा भिजिट भिसाको आवरणमा मानव तस्करी भएको आशङ्का गरिएको छ। 

यति मात्र होइन त्यसरी विदेश पठाउँदा डलरको अपचलन गर्ने र उताबाट सुनको तस्करी बढेको अनुमान अनुसन्धानमा संलग्न प्रहरीको छ। २०७८ फागुन २७ गते भिजिट भिसासम्बन्धी कार्यविधि जारी भई भिजिट भिसा पुनः खुला भएपछि यूएई जानेको सङ्ख्या अत्यधिक देखिएको छ। भिजिट भिसामा पछिल्लो दुबई जाने यात्रुले प्रयोग गरेका कागजपत्र नक्कली रहेको पाइएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ। भिजिट भिसामा युवतीलाई दुबई पु-याउने दलालदेखि विमान र अध्यागमनका कर्मचारीको समेत मिलेमतोको आशङ्का छ।

अध्यागमन विभागले नक्कली कागजपत्र प्रयोग गरी भिजिट भिसामा खाडी मुलुक जाने गरेको घटनाबारे आन्तरिक रूपमा निगरानी गरेको जनाएको छ। विभागका महानिर्देशक ऋषिराम तिवारीले अध्यागमनका तर्फबाट कुनै कमजोरी रहेको पाइए आवश्यक कारबाही गरिने बनाउनुभयो। उहाँले भन्नुभयो, “नक्कली कागजपत्र प्रयोग गरी यात्रु खाडी मुलुक गएकोबारे प्रहरी निकायले अनुसन्धान गरिरहेको छ। हामीले पनि यस विषयमा आन्तरिक रूपमा बुझ्ने काम गरिरहेका छौँ।”

भिजिट भिसामा दुबई पुगेका अधिकांश युवती मानव तस्करीमा पर्ने गरेको पाइएको छ। नक्कली कागजपत्र तयार पारी भिजिट भिसामा युवतीलाई दुबई, कुवेत, इराक र इरानलगायतका खाडी मुलुकमा पु-याउने गरेको पाइएको छ। भिजिट भिसामार्फत दुबई पुगेका ६० जना, दुबईबाट इराक पु-याइएका करिब सय जना युवतीलाई बन्धक बनाएको पाइएको छ। उनीहरूलाई माइती नेपालमार्फत उद्धारको प्रयास भइरहेको माइती नेपालकी कानुनी सहयोगी उमा तामाङले जानकारी दिनुभयो।  

आकर्षक तलबको प्रलोभन देखाई नेपाली युवतीलाई भिजिट भिसामा संयुक्त अरब इमिरेट्स (यूएई) पु-याउँदा प्रयोग गरिएका नक्कली कागजपत्र, प्रयोग भएको उडान रुट र अन्जान युवतीलाई खाडी मुलुकसम्म पु-याउन गरिएका विभिन्न गतिविधिबाट मानव तस्करी भएको अनुसन्धानमा संलग्न प्रहरीको दाबी छ। माइती नेपालको संरक्षणमा रहेका अधिकांश युवतीले विभिन्न व्यक्तिको प्रलोभनमा परी उनीहरूले नै तयार पारेका कागजपत्र बोकेर खाडी मुलुक जान लागेको बताएका छन्।  झापाकी २६ वर्षीया अनिता लिम्बू (नाम परिवर्तन)लगायत १० जनाभन्दा बढी युवतीसँग झापाका पुष्प रसाइलीले जनही एक लाख ५० हजारसम्म लिएर सबैको प्रहरी रिपोर्ट, विदेशबाट आफन्तले झिकाएको पत्र (स्पोन्सर लेटर)लगायत बैङ्किङ कागजपत्र बनावटी रूपमा तयार गरी पठाएको गुनासो छ। 

मुगुकी रमिता बस्नेत (नाम परिवर्तन)सहित चार जना युवतीले आफूहरूलाई डबल भन्ने व्यक्तिले पासपोर्टबाहेकका सबै कागजपत्र विमानस्थलमा नै दिएको बयान प्रहरी समक्ष दिएका छन्। अधिकांश युवतीले राम्रो कमाइ हुने प्रलोभनमा भिजिट भिसामा दुबई जान लागेको बताएका छन्।

माइती नेपालकी कानुन सहयोगी उमा तामाङका अनुसार यसअघि भिजिट भिसामा दुबई पुगेका अधिकांश युवतीलाई द्वन्द्वग्रस्त मुलुक इराक, इरानलगायत अन्य खाडी मुलुकमा पु-याएको खुलेको छ। भिजिट भिसामा दुबई गएका करिब सय जना महिला इराक र ६० जना महिलालाई दुबईको अज्ञात क्षेत्रमा पु-याई बन्धक बनाएको सूचनापछि उद्धारको प्रयास भइरहेको उहाँले बताउनुभयो।

यसबाहेक भिजिट भिसामा जाने युवतीलाई विभिन्न दलालले इरान, साउदी अरब, बहराइनलगायत खाडी मुलुकदेखि अफ्रिकी मुलुकसम्म पु-याएर यौनजन्य क्रियाकलापमा संलग्न गराएको पाइएको छ। गोरखापत्र राष्ट्रिय दैनिकबाट 

Top Post Ad

post bottom ads

Ads Bottom