Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

विदेशी विनिमय सञ्चिति कमी भए के हुन्छ ? - Brighter Khabar


प्रथमतः विनिमय सञ्चितिको कमीले कुनै देशको मौद्रिक नीति निर्माण र खासगरी विदेशी विनिमय नीति सञ्चालनमा असर पार्छ। यसमा केन्द्रीय बैङ्क बढी संवेदनशील हुन्छ। विदेशी विनिमय भन्नाले अरू देशको मुद्रा हो तर यसको महìव स्वदेशी मुद्राभन्दा बढी देखिएको छ। गत वर्षदेखि नै हाम्रो छिमेकी देश श्रीलङ्कामा देखिएको आर्थिक सङ्कट स्वदेशी मुद्राका कारणले नभई विदेशी विनिमयको सङ्कटको कारण देखा परेको हो। यसले आर्थिक रूपमा मात्र देशलाई नकारात्मक असर नपारी राजनीतिक रूपमा पनि असर पार्न पुग्यो। देशमा राजनीतिक परिवर्तन भयो। राष्ट्रपति, प्रधानमन्त्रीलगायत कैयौँ नेताले देश छोड्नुपर्ने बाध्यता देखा प¥यो, उनीहरूको घर जलाइयो। टेलिभिजनलगायत सारा संसारभरका सञ्चार माध्यममा त्यहाँको समाचारले प्राथमिकता पायो। इतिहासमा पहिलोपल्ट विदेशी मुद्रामा लिएको ऋणको ब्याजसमेत तिर्न सकेन र देश टाट पल्टियो। यसबाहेक खाद्य सामग्रीको अभाव देखिएको छ। अन्य देशबाट खाद्यान्न, औषधिजस्ता अत्यावश्यक वस्तु आयात गर्नसमेत विदेशी मुद्राको अभाव छ ।

दोस्रो, विदेशी मुद्रा सञ्चितिको अवस्थाले स्वदेशी मुद्राको विनिमय दरमा असर पार्छ। अहिले विकासशील देशमा स्वदेशी मुद्राको विनिमय दर अवमूल्यन हुनुको एक प्रमुख कारण विदेशी विनिमय सञ्चितिमा कमी हुनु हो। अरू देशबाट वस्तु वा सेवाको आयात गर्नका लागि विदेशी मुद्रा आवश्यक पर्छ र आयात कम गर्न विदेशी वस्तु र सेवाको मूल्य बढी बढाउन स्वदेशी मुद्रा अवमूल्यन गर्नुपर्छ। मुद्रा अवमूल्यनले गर्दा स्वदेशी वस्तु र सेवा विदेशीका लागि सस्तो पर्छ। निर्यात बढ्न सक्छ। आफूसँग विदेशमा प्रशस्त विदेशी विनिमय सञ्चिति भएका देशले देशको आर्थिक अवस्थाका आधारमा स्वदेशी मुद्राका विनिमय दर अभिमूल्यन वा पुनर्मूल्यन गर्न सक्छ। जस्तो– विश्वमा सबैभन्दा बढी विदेशी विनिमय सञ्चिति भएको देश चीन हो र यसले निर्यात बढाउन युयानको विनिमय दर निर्धारण गर्छ। जसले गर्दा चिनियाँ वस्तु विश्वमा सबैभन्दा सस्तो पाइन्छ। विश्वका विकसित देशमा पनि चीनका वस्तुको ठूलो मात्रामा किनबेच हुन्छ। चिनियाँ बजार जताततै देख्न सकिन्छ। 

तेस्रो, देशमा बाढी, पहिरो, भूकम्प, महामारीजस्ता दैवी प्रकोपको समयमा अर्थव्यवस्था तहसनहस हुने भएकाले त्यस्तो समयमा बढी विदेशी विनिमय आवश्यक पर्छ। जस्तो– सन् २०१९ को अन्त्यमा देखा परेको कोरोना महामारीका कारण विदेशी विनिमयको स्रोत धेरै देशमा घट्न थाल्यो। खासगरी पर्यटन र विप्रेषण आयमा आधारित देशमा पर्यटक आगमनमा कमी आउनुका साथै विदेशमा रोजगारीका लागि जाने कामदार पनि जान नसकेकाले यी दुईबाट आउने विदेशी मुद्राको आप्रवाह बढ्न नसकेकाले यी देशमा विदेशी मुद्राको सङ्कट बढ्न सक्छ। त्यसैले विदेशी विनिमय सञ्चिति आवश्यक पर्छ।

चौथो, देशमा विदेशी विनिमयको कमी भएमा उद्योग सञ्चालनका लागि आवश्यक वस्तु र सेवा आयात गर्न सकिँदैन भने विदेशी लगानीकर्ताले पनि आफ्नो लगानी डुब्ने डरले लगानी फिर्ता लैजान सक्छन्। विदेशी विनिमय सञ्चिति पर्याप्त भएमा केन्द्रीय बैङ्कले विदेशी लगानीकर्तालाई उनीहरूको लगानी नडुब्ने विश्वास दिन सक्छ। उनीहरूले लगानी फिर्ता लैजाँदैनन्। यसरी पर्याप्त मात्रामा सञ्चिति भएमा आर्थिक सङ्कट टार्न सकिन्छ।

पाँचौँ, विदेशी ऋणको ब्याज तिर्न नसकेमा देशको प्रतिष्ठा घट्छ र अन्तर्राष्ट्रिय बजारबाट ऋण माग्न कठिन हुन्छ। विशेषगरी अन्तर्राष्ट्रिय बजारबाट विदेशी मुद्रामा व्यापारिक ऋण लिएका देशमा यस्तो अवस्था देखापर्छ। अन्तर्राष्ट्रिय वित्त समूहबाट सुविधायुक्त ऋण लिएका देशमा भने यस्तो अवस्था कमै भएको देखिएको छ।

यसैले कतिसम्म विदेशी विनिमय सञ्चितिलाई सुविधाजनक मान्ने भन्ने प्रश्न उठ्न सक्छ। कुनै देशका लागि यतिनै विदेशी मुद्रा सञ्चिति हुनुपर्छ भन्ने कुनै पनि सर्वमान्य परिभाषा भने छैन तर पनि नीतिनिर्माताले विनिमय सञ्चिति नाप गर्ने विभिन्न बेन्चमार्क तयार गरेका छन्। स्थिर विनिमय दर हुने देशले परीवर्तनशील विनिमय दर हुने देशको तुलनामा सञ्चितिको स्तर बढी हुनुपर्छ भन्ने मान्यता छ। विभिन्न बेन्चमार्कमध्ये आयात धान्न पर्याप्त हुने र अल्पकालीन विदेशी ऋण तिर्न पर्याप्त हुने विदेशी सञ्चितिलाई प्रमुख आधार मानिएको छ।

अर्जेन्टिनाका पूर्वअर्थमन्त्री र पाब्लो गुइडोटी र फेडरल रिजर्वका पूर्वअध्यक्ष अलान ग्रिन्सपानको नियमअनुसार कुनै देशको विदेशी विनिमय सञ्चिति अल्पकालीन बाह्य ऋण भुक्तानी गर्न पर्याप्त हुनुपर्छ। अल्पकालीन बाह्य ऋण भन्नाले एक वर्ष र त्योभन्दा कम भुक्तानी भएको विदेशी ऋण भन्ने बुझिन्छ। परम्परागत मान्यताअनुसार (रुल अफ थम) तीन महिनाको आयात धान्न पुग्ने विदेशी विनिमय सञ्चिति भएमा त्यसलााई सुविधाजनक मानिन्छ। उदीयमान देशका लागि भने छ महिनाको आयात धान्न पुग्ने र अल्पकालीन ऋणको २०० प्रतिशतसम्म विदेशी मुद्रा सञ्चिति आवश्यक हुने मानिन्छ। विगत वर्षमा विभिन्न देशमा देखिएको आर्थिक सङ्कट र त्यसको कारणले भएको विदेशी मुद्रा पलायन हेर्दा यसैलाई नै आधार मान्न कठिन हुने देखिन्छ। विश्वमा विदेशी मुद्रा सञ्चिति हेर्दा जुन देशले बढी निर्यात गरेको छ, अर्थात् व्यापार बचतमा रहेको छ ती देशमा नै सञ्चिति रहेको छ। विश्वमा सबैभन्दा बढी विदेशी विनिमय सञ्चिति हुने देश चीन रहेको छ।   गोरखापत्र 

Top Post Ad

post bottom ads

Ads Bottom