Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

डेंगुको संक्रमण तराईमा भन्दा पहाडमा बढी - प्रदेश : १ - Brighter Khabar


आश्विन १०,  विगतका वर्षहरुमा डेंगुको संक्रमण खास गरी तराईका जिल्लामा बढी मात्रामा फैलने गरेको पाइन्थ्यो । पहाडी र हिमाली जिल्लाहरु तुलनात्मक रुपमा तराइका जिल्ला भन्दा सुरक्षित हुने गरेका थिए । तर यो वर्ष प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकमा भने नतिजा फरक देखिएको छ । तराईका जिल्ला भन्दा पहाडी र हिमाली जिल्लामा डेंगुको संक्रमण बढि फैलिएको पाएको छ ।

पछिल्लो समय प्रदेश १ मा डेंगुको संक्रमण बढ्दो छ । स्वास्थ्य निर्देशनालय धनकुटाका अनुसार लामखुट्टेको टोकाइवाट हुने डेंगुका विरामीको संख्या प्रदेश १ मा दिन प्रतिदिन बढिरहेको छ । सोमबारसम्म प्रदेश १ का १४ जिल्लामा डेंगुका विरामीको संख्या ७ सय ५४ पुगेको छ । अझ अनौठो तथ्य त यो पटक डेंगुको संक्रमण तराईका जिल्लामा भन्दा पहाडी र हिमाली जिल्लामा फैलिएको छ । अघिल्ला वर्षहरुमा तराइ उपत्यका जस्ता घना बस्ती भएको स्थानमा बढि देखिने डेंगुको संक्रमण देखिएपनि यो वर्ष भने पहाडी र हिमाली जिल्लामा बढि देखिएको हो ।

सोमबारसम्म प्रदेश १ को तराईका तिन जिल्लामा ३ सय २४ जनामा डेंगु देखिदा पहाडी तथा हिमाली जिल्लामा भने ४ सय ३० जनामा डेंगुको संक्रमण देखिएको छ । प्रदेश १ को सुनसरी जिल्लामा सबैभन्दा बढी १ सय ७० जना र सबैभन्दा कम ताप्लेजुङ जिल्लामा २ जनामा डेंगुको संक्रमण देखिएको छ । संक्रमण देखिएको प्रदेश १ को दोस्रो जिल्लामा तेह्रथुममा १ सय ३७, तेस्रोमा संखुवासभामा १ सय २५ जनामा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका मेडिकल ल्याब टेक्निसियन तथा किट जन्य रोग फोकल पर्सन दिलिप सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार झापामा ८१, मोरङमा ७३, उदयपुरमा ६१, खोटाङमा ३६, धनकुटामा २९ जनामा संक्रमण देखिएको छ । यस्तै ओखलढुंगामा २३, इलाम, पाचँथर र भोजपुरमा १२/१२, सोलुखुम्बुमा ७ र ताप्लेजुङमा २ जनामा संक्रमण देखिएको छ ।

तराईमा सबै भन्दा बढी सुनसरीमा र पहाडमा सबैभन्दा बढी तेह्रथुममा संक्रमण देखिएको छ । यो संक्रमण फैलदो रुपमा रहेकाले एडिज जातको लाम्खुट्टेबाट जोगिनु एकमात्र बिकल्प रहेको चिकित्सकको सुझाब छ ।

प्रदेश १ को पहाडी र हिमाली जिल्लामा नपत्यारिलो ढंगले यसको संक्रमण बढिरहेको प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाकी जनस्वास्थ्य निरीक्षक तारादेवी सुवेदीको भनाइ छ । उहाँका अनुसार थकित तथा कमजोरी महसुस हुनु डेंगु रोगका सुरुका लक्षण हुन भने त्यसपछि उच्च ज्वरो आउनु, जिउ दुख्नु, हाडजोर्नी दुख्नु, टाउको दुख्नु, आँखा दुख्नु र कसै कसैलाई वान्ता वा पखाला हुनु डेंगु रोगको लक्षण हुन् । यी लक्षण देखिएमा पारासिटामोला जस्ता सामान्य औसधि घरमै प्रयोग गर्न सकिने र सामान्य औषधि प्रयोग गर्दा निको नभएमा नजिकको अस्पताल जान उहाँको सुझाव छ ।

डेंगु रोग एडिज जातको लामखुट्टेको टोकाइबाट मात्र सर्ने संक्रमण हो । डेंगु भएको बिरामीलाई टोकेर अर्को स्वस्थ व्यक्तिलाइ एडिज जातको लामखुट्टेले टोकेमा संक्रमण सर्ने धनकुटा अस्पतालका प्रमुख निमित्त मेडिकल सुपरिटेन्डेन डा. मनिष शाहले बताउनु भयो । लामखुट्टेले टोकेको ४ देखि १४ दिन भित्रमा यसको लक्षण देखिने र पहिलो चरणमा संक्रमितले राम्रो उपचार नपाएमा गम्भीर समस्या आउने र बिरामीको मृत्यु पनि हुने उहाँको भनाइ छ । धनकुटा अस्पतालमा डेंगुका बिरामी नआउने गरेको भएपनि पछिल्लो २ हप्तादेखि दैनिक संक्रमण बढिरहेको उहाँको भनाइ छ ।

Top Post Ad

post bottom ads

Ads Bottom