सांकेतिक तस्विर |
'डेंगु क्लिनिक'को ग्राउन्ड जिरोमा सेवा दिँदै गर्दा बिरामीहरुले व्यक्त गरेका जिज्ञासाहरुलाई बुँदागत रुपमा यहाँ प्रस्तुत गरिएको छ।
१) राती सुत्दा झुल लगाएर र धुप/लिक्विड बालेर सुत्छौं तर कसरी डेंगु भयो?
- राती झुल लगाएर र धुप/लिक्विड बालेर मात्र डेंगुबाट सुरक्षित हुन् सक्दैनौं। किनभने डेंगु सार्ने एडिस जातको लामखुट्टे विशेषत सुर्योदयपछि र सुर्यास्त हुनुभन्दा केहि घण्टा अगाडि अधिक सक्रिय हुने गर्दछ र सो समयमा टोक्दा डेंगु सर्ने सम्भावना उच्च हुने गर्दछ।
२) आफन्त भेट्न आएका थिए त्यसपछि (अर्को दिन) ज्वरो आयो। पछि थाहा भयो उ (व्यक्ति) पनि बिरामी थियो रे।
- बिरामी आफन्त भेटेर डेंगु लाग्ने होइन। संक्रमित लामखुट्टेको टोकाई पछि मात्र डेंगु लाग्ने गर्दछ।
३) लामखुट्टेले टोकेको २ घण्टा भित्र ह्वात्तै ज्वरो आयो !
- लामखुट्टेले टोक्ने बित्तिकै ज्वरो आउने होइन। सामान्यतय संक्रमित एडिस जातको लामखुट्टेले टोकेको ४ देखि १० दिनमा लक्षणहरु देखिन शुरु हुने गर्दछ।
४) डेंगु लागेदेखि म छुट्टै कोठामा सुत्छु अनि आफूले प्रयोग गर्ने कपडा अरुलाई छुन पनि दिएको छैन।
- डेंगु संक्रमित व्यक्तिको कपडा लगाएर वा छोएर संक्रमण सर्दैन।
५) संगै बसेर वा जुठो खाएर पनि डेंगु सर्छ?
- सर्दैन। डेंगु सर्न संक्रमि एडीस जातको लामखुट्टेले नै टोकेको हुनु पर्दछ।
६) मेवाको पात खान हुन्छ?
- मेवाको पातको बारेमा धेरै भनाइ, लेखाइहरु (विशेषत सामाजिक संजालमा) हाल सार्वजनिक भएको देखिन्छ। तर यसको मात्रा, तरिकाको बारेमा, कस्तो स्वस्थ अवस्था भएकाले मात्र प्रयोग गर्ने भन्ने विषय विज्ञसंग नसोधी अरुको लहलहैमा जथाभावी खाँदा संक्रमितहरु अस्पताल भर्ना हुनु परेका विभिन्न उदाहरणहरु छन। मेवाको पातको सेवन बिना नै हजारौं डेंगु संक्रमित बिरामीहरु स्वास्थ लाभ गरिसकेका लेखकसँग अनुभव छ।
७) सिटामोल मात्र खाएर बस्ने रहेछ त्यसैले घरमै बसेको तर समस्या देखिए पछि मात्र (ढिला)अस्पताल आइपुगें।
- पछिल्ला केहि दिनदेखि लेखकसँग यस्तै भनाइ भएका बिरामीको संख्या तीब्र गतिमा बढ्दै गइरहेको देखिन्छ। यसले अस्पतालमा देखिने गरेको संक्रमितको भार समुदायमा सरेको देखिन्छ। ढिला हुदा बिरामी आफु जटिल अवस्थामा गएको थाहा नहुने र उपचारमा ढिला हुदा बिभिन्न जटिलताहरु देखिने गरेको पाहिन्छ।
८) पानीमा रुझेको थिए बेलुका त ज्वरो आयो (र पछि डेंगु पुष्टि भयो)।
- पानीमा रुझेर वा चिसो पेय पदार्थ खाएर डेंगु हुने होइन। संक्रमित एडिस जातको लामखुट्टेले टोकेर संक्रमण हुने हो।
९) सिटामोल मात्र खाने ? डेंगुको औषधि लेखिदिनुस न!
- कतिपयले अहिले पनि डेंगु पुष्टि भए डेंगु विरुद्धको विशेष औषधि दिन्छ भन्ने आशा लिएर आएको देखिन्छ। तर डेंगुको विशेष "एन्टी डेंगु औषधि" भन्ने हुँदैन/ छैन। लक्षणमा आधारित भएर उपचार गर्ने गरिन्छ।
१०) फ्लेकसन खानु हुदैन भन्ने थाहा थियो तर सिटामोलले पटक्कै नछोएकोले पिडा मुक्त हुन खाएँ।
- सिटामोलले दुखाइ वा ज्वरो पूर्णरुपमा कम नहुँदा फ्लेकसनको प्रयोग गर्ने बिरामीहरु पनि धेरै छन्। झन् बजारमा सिटामोलको अभावले गर्दा बिरामीलाई विकल्प नभएकोले पनि यसको प्रयोग बढेको देखिन्छ। फ्लेकसनको प्रयोगले रक्तश्रावको जोखिम उच्च हुने भएकोले प्रयोग गर्नु हुँदैन। लेखकसंग डेंगु संक्रमितले फ्लेकसनको प्रयोग गर्दा रक्तश्राप भएका उदाहरणहरु छन्। स्वास्थ्य खबर