Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

मतपेटिका पुर्‍याएर फर्किंदै गरेको जिप दुर्घटना, ३ जनाको घटनास्थलमै मृत्यु - Brighter Khabar


मङ्सिर ५,  बैतडीमा  प्रहरी सवार जिप दुर्घटनामा परेको छ । दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–४ निङलाडी खोला भन्ने स्थानमा से१ज ८५४ नम्बरको जिप दुर्घटनामा परेको हो । 

मतपेटिका पुर्‍याएर फर्कँदै गरेको नेपाल प्रहरी टोली सवार जिप दुर्घटनामा हुँदा तीन प्रहरीको घटनास्थलमै मृत्यु भएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “तीन जनाको मृत्यु भएको भन्ने खबर आएको छ, उद्धार जारी रहेको आएको खबर छ, म आफैँ घटनास्थल जाँदैछु ।” 

जिप सडकबाट करिब तीन सय मिटर तल खसेको जनाएको छ । रातभरि मतपेटिका ढुवानी गरिरहेको र चालकलाई अनिँदो भएर दुर्घटना भएको हुनसक्ने प्रजिअ पन्थीको भनाइ  छ । घटनाको थप विवरण आउन बाँकी छ । 

यो पनि : 

आइतबार सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको मतगणना म्याग्दीमा सोमबार साँझबाट मात्र सुरु हुने भएको छ । जिल्लाको दुर्गम धवलागिरि गाउँपालिका १ गुर्जा र ४ नम्बर वडा मुदीको बगरा मतदान केन्द्रका मतपेटिका आएपछि मात्र मतगणना सुरु गरिने सहायक निर्वाचन अधिकृत तेजप्रसाद पौडेलले जानकारी दिनुभयो । गुर्जा र बगराको मतपेटिका बेनी ल्याउन ९ घण्टा लाग्छ । 

गुर्जा र बगराको बाहेक अन्य सबै मतदान केन्द्रका मतपेटिका आइतबार राती मतगणना स्थलमा आइपुगेको सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन शर्माले जानकारी दिनुभयो । जिल्ला समन्वय समितिको सभा हलमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतगणनाका लागि आवश्यक तयारी गरिएको छ । 

उहाँका अनुसार गुर्जाको मतपेटिका लिएर कर्मचारी र सुरक्षाकर्मीको टोली सोमबार बिहानै पैदल हिँडेको छ ।  यस्तै मुदीको बगरामा रहेको मतदान केन्द्रका मतपेटिका ल्याउनका लागि हेलिकप्टरको माग गरिएको उहाँले बताउनुभयो । बगराका मतदान अधिकृत बिरामी भएको भन्ने खबर आएको छ सहायक प्रमुख जिल्ला अधिकारी शर्माले भन्नुभयो ‘बगराबाट यातायातको पहुँच भएको सम्म हिँडेर आउन करिब ८ घण्टा लाग्छ । मतदान अधिकृत बिरामी भएको खबर आएको छ,मतपेटिका ल्याउन हेलिकप्टरको माग गरेका छौँ ।’गुर्जाको मतपेटिका धवलागिरि गाउँपालिकाको केन्द्र मुनासम्म आउन करिब ८ घण्टा लाग्छ । मुनादेखि सवारी साधनमार्फत बेनी ल्याइपुर्याउन साढे दुई घण्टा लाग्छ । 

आइतबार सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा म्याग्दीमा ५८ प्रतिशतभन्दा बढी मत खसेको छ । जिल्लाका ८२ मतदान स्थलका एक सय २० मतदान केन्द्रमा भएको निर्वाचनमा ५८.७८ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

छ वटा स्थानीय तह र ४५ वडा रहेको म्याग्दीमा ८६ हजार १२० मतदाता रहेकोमा ५० हजार ६ सय २५ जनाले निर्वाचनमा मतदान गरेको जनाइएको छ । मतदानमा पुरुष २४ हजार ३३१ र महिला २६ हजार २९३ जनाले सहभागिता जनाएका छन् । जिल्लाभर शान्तिपूर्ण रूपमा मतदान कार्य सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सबै मतपेटिका आइपुगेपछि सोमबार साँझबाट मात्र मतगणना थालिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रतिनिधिसभातर्फ एक र प्रदेशसभातर्फ दुई निर्वाचन क्षेत्र रहेको म्याग्दीमा निर्वाचित हुने तीन पदका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १९ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

Top Post Ad

post bottom ads

Ads Bottom