Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

मानिस पैसा नै कमाउनको लागि जन्मेको हो त ? - Ramkrishna

 

एउटा भनाइ नै छ नि, कसैलाई आफ्नो वंशमा पार्नु छ भने साम, दाम, दण्ड र भेदको प्रयोग गरी अघि बढ्नुपर्छ। यो भनाइ पूर्खाको पालामा बनेता पनि यसको मुख्य प्रयोग अहिलेँको व्यस्त संसारमा नै यसको बढी उपयोग छ। हो पनि अहिलेँको समाज शक्ति र पैसाको वरपर नै घुमिरहेको छ। जे गर्छ यहीँ पैसाले नै गर्छ। बेला बेलामा त यस्तो लाग्छ कि कतै मानिस पैसा नै कमाउनको लागि त जन्मिएको होइन नि?


ल लेखन सुरू गरौँ है त। मानिस जन्म र मृत्युको नाटकीय चक्रव्यूहमा रूमलिँदा उसको मुख्य आवश्यकता नै गाँस, बाँस र कपास हो। तर अब यी तीनै तत्त्वलाई चलाउने केन्द्रबिन्दु भनेकै धन वा पैसा हो भन्दा फरक नर्पला। हुन त अझै पनि विश्वको अधिकांश ठाउँमा पैसाको मुखै नदेखि परिश्रम र मानवताको संगममा जिविकोपार्जन गर्ने आदिम मानिस नभेटिने होइनन् तर यो लेख पढिरहने तपाई हामी जस्ता व्यक्तिलाई भने पैसाको पलपलमा खाँचो हुने देखिन्छ। त्यसैले पैसा सबै कुरा नभए जीवन चलाउने अत्यावश्यक सामाग्री भने पक्‍कै पनि हो।

बडो अच्चमको छ हैँ यो पैसा भन्ने बस्तु। यसो तपाईले पनि सोच्नुहोला त? आज यो दुनियाँमा  पैसा नै नजन्मिएको भए के हुन्थ्यो होला!  बडो सोचनीय विषय हो। एक हिसाबले संसारमा जति पनि प्रगति भएको छ यसमा मुख्य भूमिका पैसाले नै खेलेको छ किनकि मानिस पैसा कमाउनको लागि नै काम गर्छन् जसले व्यक्ति वा देशकै अर्थतन्त्रमा ठुलो भूमिका खेलेको छ। हरेक मानिस चाहे शारीरिक होस् वा मानसिक परिश्रम गरेर सबैले लक्ष्मीलाई आफ्नो घरमा भित्र्याउन प्रयन्तरत हुन्छन्। तर बाफ रे! लक्ष्मी पनि कहाँ एकै ठाउँमा बस्छिन् र!  बरू हजार नोट भएको मानिस आफ्नो ठाउँ भन्दा कहीँ कतै नघुमेतापनि उक्त हजार नोट पुरा विश्व भ्रमण गरेर केहीँ समयमै तपाईसँग आइपुग्छ। कत्ति साथीहरूले त नोटमा केहीँ लेखेर वा हस्ताक्षर गरेर पनि विचार गर्नुभएको होला। हैन त?

मानिस जन्मे पश्चात शिशु बच्चालाई ‌ओछ्याउने थाउनो देखि मरे पश्चात लास जलाउने मुढोलाई समेत पैसा पर्छ भनेपछि जीवनभर मान्छेको सबैभन्दा बढी कारोबार कुनै अर्को मानिससँग भन्दा पनि पैसासँग हुन्छ होला। बरू आफू र अर्को व्यक्तिसँगको सम्बन्ध अल्पकालिन हुन्छ होला तर मानिसको प्राणपखेरू नउडिन्‍जेलसम्म पैसा तपाईको साथमा दीर्घकालिन रूपमै घुमिरहेको हुन्छ। वास्तवमा पैसासँग यति धेरै शक्ति हुन्छ कि मानिस पैसाको लागि मर्न र मार्न पनि तयार हुन्छ। यी सबै हाम्रै समाजमा देखिआएको कुरा भएको हुनाले यसलाई थप विश्‍लेषण गर्न जरूरी देख्दिन। 

जब मानिससँग अलि धेरै पैसा वा सम्पत्तिसँगै शक्ति हुन्छ तब ऊ सबैको प्यारो हुन्छ। तर त्यस्तै केहीँ अपवाद बाहेक गरिब मानिससँग न त कुनै कसैको साथ न कसैको आस नै हुन्छ। त्यहीँ भएर त धनी र गरिबबिचको दुरी पैसाको कारणले नै बढ्दै गईरहेको छ। कतिपय व्यक्ति खान नपाएर मरेका छन् तर कत्तिपय व्यक्ति खान नजानेर मरेका छन्। यस बिचमा पैसा नै मुख्य केन्द्रबिन्दुमा रहेको छ। होला, पैसा कमाउनु र गुमाउनुमा सोच, विचार, पापपुण्य वा कर्मको फलको अन्तरसम्बन्ध होला तर बाहिर बोक्रो भित्र खोक्रो भने जस्तै मौकामा चौका हानि अधिकांश ठाउँमा पुगेका व्यक्ति नै कालो धन जम्मा पार्न व्यस्त छन्। यो कार्य गर्नाले क्षणिकताको आराम त देला तर कर्मको फलले कतै न कतैबाट जुनसुकै समयमा हिसाब-किताब बराबार राखेकै हुन्छ। बरू यसको साट्‍टो आफ्नो मिहिनेतको फलले धन कमाउनु नै सर्वोत्तम बाटो हो। मुख्यत: हाम्रो बानी कस्तो छ भने आफ्नो स्वास्थ्यको नै बेप्रवाह कुनै ख्याल नगरी धनको पोको जम्मा गर्न व्यस्त हुँदा हाम्रो मुख्य धन स्वास्थ्य नै गुमाइसकेको हुन्छौँ।त्यसैले तन, मन, धन र जोवनको उचित समिश्रणको साथमा पारिवारिक र सामाजिक हैसियतलाई सँगै लैजान सके मात्र जिन्दगीमा सधैँ खुसी र सुखी भइन्छ। पैसा वा धन कमाउनु भनेकै आफ्नो क्षमता वा कला बेचेर हो। उदाहरणको लागि व्यापारीले सामान बेचेर, कलाकारले गला बेचेर वा जागिरेले सेवागाह्रीलाई सेवा दिएर इत्यादि। जे होस् झुट-कपट बिना आफ्नो समयको मूल्यमा पैसा आउँदाको सन्तृष्टिको मज्जा छुट्टै नै हुन्छ।

त्यसैगरी यो संसारमा पैसाको खेल भन्दा अन्य कुनै ठुलो खेल छदैँ छैन। हिरा देखि जिराको मात्र नभएर प्रत्येक व्यक्तिको जीवन नै पैसामा अडेको छ भन्दा फरक नपर्ला। यसो सोच्नुहोस् त! विशेषत: नेपाली समाजमा अधिकांश नेपाली समाजमा एउटा परम्परा नै छ। हरेक बच्चालाई सानो छँदा देखि नै हरेक घरका आमाबुबाले जबरजस्ती घोकन्ते शिक्षामा रट्न लगाउँछन्। उहाँहरूलाई मतलब छैन कि आफ्ना नानीबाबुले किताब वा बाहिरी समाज पढेर के शिक्षा पाएँ, बस् सोचाइ हुन्छ त केवल पछि भविष्यमा धेरै पैसा कमाउनको लागि जसरी भएपनि परीक्षामा राम्रो अंक ल्याउनुपर्छ जुन सर्टिफिकेटसँग प्रत्यक्ष सरोकार रहेको छ। पैसा नै कमाउन छ भने सानैदेखि बच्चालाई पैसा कमाउने तरिका सिकाएको भए नि त हुने नि! आखिर यत्रो खर्च गरेर पढेकव त्यहीँ पैसा कमाउनको लागि त रहेछ नि! केहीँ मतलब छैन। हरेक अभिभावकले बच्चाको प्रतिभा र इच्छालाई हेरेर शिक्षा दिन सकेको भए एक त समाजले पनि दक्ष जनशक्ति पाउँथ्यो भने भविष्यको कर्णधार त्यो बाल कोपिलाले पनि आफ्नो सीपलाई निखारेर उक्त सीपलाई आयस्रोतमा बदली खुसीसाथ आफ्नो जिन्दगी बाँच्न पाउँथ्यो। यसले नै देखाउँदै छ कि जीवन निवार्हको निम्ति मानिसको अन्तिम लक्ष्य पैसा कमाउनु हो। त्यहीँ भएर पैसाकै पछाडि लाग्दा कैयौँ कस्तुरी आफ्नै नाभीको बास्ना थाहा नपाएर भौतारिहेका छन्। सोच्नुहोस् त, जति पनि विश्व चर्चित व्यक्तिहरू छन् उनीहरूले आफ्नो इच्छा अनुसारको काम नगरी पैसाकै पछाडि लागेको भए उनीहरूको अवस्था गुमनाम हुन्थ्यो होला। सफल र सामान्य व्यक्तिमा यत्ति नै फरक छ कि सफल व्यक्तिहरू आफ्नो क्षमतालाई प्रदर्शन गरेर धनलाई पछाडि लगाउँछन् तर सामान्य जीवनमा रमेका व्यक्ति भने धनको पछाडि मात्र लागि पर्छन्। अब आफैँ सोच्नुहोस् तपाई कुन वर्गमा पर्नुहुन्छ? पैसालाई आफ्नो पछाडि लगाउनको लागि समय लाग्न सक्ला तर  मानिसमा धैर्यता भएन भने अन्तिममा पैसाको पछाडि लाग्नु बाहेक कुनै विकल्प नै रहदैँन।

समग्रमा यस लेखलाई विश्लेषण गर्दा मानिस पैसा नै कमाउनको लागि मात्र नजन्मेर प्रत्येक पलको मूल्य बुझी जीवनमा खुसी र सुखी भई समाजमा आफ्नो असल छवि पनि राख्‍नु हो। आखिर हामी मरेर जाँदा फेरि आफूसँग भएको सम्पत्ति लाने पनि त हैन? फेरि यसो भन्दैमा जीवनभर सम्पत्ति नै नकामउनु पनि होइन। वास्तवमा जीवनमा आफूलाई आवश्यक पर्ने धन कमाएर समाजको लागि पनि कल्याण हुने काम गर्नुपर्छ। पैसाको मूल्य मात्र नभई यसको महत्त्व पनि थाहा पाउन सकिए मात्र मानिस पैसा नै कमाउनको लागि जन्मेको हो कि होइन भन्‍ने कुरा सजिलै बुझ्न सकिन्छ।

राम कृष्ण भण्डारी , पोखरा

Top Post Ad

post bottom ads

Ads Bottom