Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

गर्भपतन गराउने २० वर्ष मुनिका महिला १० प्रतिशत-Brighter Khabar


पौष २७, लुम्बिनी प्रदेशमा गर्भपतन सेवा उपभोग गर्ने २० वर्षमुनिका महिला झण्डै दश प्रतिशत छन् । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकको आधारमा गत पाँच वर्षमा सुरक्षित गर्भपतन गराउने महिलामध्ये २० वर्षमुनिको संख्या बढ्दैगएको देखिएको हो ।

आर्थिक वर्ष २०७८-७९ मा लुम्बिनी प्रदेशभित्र २० वर्षमुनिका महिलाहरूले सुरक्षित गर्भपतन सेवा लिनेको संख्या नौ दशमलव ६ प्रतिशत छ । प्रदेश स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकले आर्थिक वर्ष २०७४-७५ मा ६ दशमलव दुई प्रतिशत रहेको थियो । पाँच वर्षमा यो संख्या बढेर नौ दशमलव ६ प्रतिशतमा पुगेको देखिएको छ ।

सूचीकृत स्वास्थ्य संस्थामा पुगेर गर्भपतन गराउनेको संख्या बढेको देखिदा असुरक्षित रुपमा पनि गर्भपतन गराउने महिलाको संख्या त्यस्तै छ । विवाहपूर्व शारीरिक सम्बन्धका कारण पनि २० वर्ष नपुग्दै गर्भपतन गराउन खोज्नेको संख्या बढेको देखिएको हो । सामाजिक कारणले, आर्थिक कारणले, सांस्कृतिक कारणले सुरक्षितभन्दा पनि असुरक्षित स्थानमा गर्भपतन गराउन पुग्नेहरू पनि छन् ।

“विवाह नगरी गर्भपतन गराउने, २० वर्ष नपुगेका महिला पनि गर्भपतन गराउन पुग्नेको संख्या बढ्दो छ” राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रोफेसर श्याम लम्सालले भन्नुभयो, “पाठेघरमा प्वाल पर्ने, आन्द्रामा प्वाल पर्ने, पुनः गर्भधारण हुन नसक्ने अवस्था आउने, शरीरमा संक्रमण भएर मृत्यु हुनेजस्ता समस्याहरू देखिने भएकाले असुरक्षित गर्भपतन गराउनु हुँदैन ।”

लुम्बिनी प्रदेशभित्रका १२ जिल्लामा सुरक्षित गर्भपतन गराउन १७४ स्वास्थ्य संस्था सूचीकृत छन् । सरकारी अस्पतालदेखि स्वास्थ्य चौकी र गैरसरकारी संस्थाले सञ्चालन गरेका परिवार नियोजन कार्यक्रममार्फत सुरक्षित गर्भपतन सेवा उपलब्ध छ तर अझै पनि सामाजिक पछौटेपनका कारण सुरक्षित गर्भपतन सेवा लिने ठाउँमा नपुगी असुरक्षित गर्भपतन गराउने गरिएको देखिन्छ ।

यसरी असुरक्षित गर्भपतन गराउँदा महिलाको ज्यान जानेसम्मका जोखिम रहेकाले स्वास्थ्य मन्त्रालयले सचेतना अभिबृद्धिका कार्यक्रम समेत गर्दैआएको जनस्वास्थ्य अधिकृत अर्जुन ढकालले बताउनुभयो । लिङ्ग पहिचान गरेर गर्भपतन गराउने कार्य कानुनले बर्जित गरेको छ तर पनि अझै छोराको नाममा गर्भपतन गराउन असुरक्षित स्थान तथा सूचीकृत नभएका स्वास्थ्य संस्थामा पुग्नेगरेको देखिन्छ । महिलाको इच्छाविपरीत करकाप, जबरजस्ती गर्भपतन गराउने कानुनले बर्जित गरेको छ ।

मुलुकी अपराध संहितामा लिङ्गको पहिचान गरेर गर्भपतन गर्न नपाइने, गरेको पाइए कैद एवं जरिवानासम्मको सजाय तोकिएको छ । अझै पनि लिङ्ग पहिचान गरेर गर्भपतन गराउनेहरु भेटिने गरेका छन् । बजारमा खुलेका औषधि पसलमा सूचीकृत र सिफारिस भएकोभन्दा बाहिरका औषधिसमेत बिक्री वितरण हुनेगरेको छ ।

नेपालमा हरेक वर्ष करिब १२ लाख महिला गर्भवती हुने, पाँच लाख ३९ हजार अनिच्छित गर्भ रहने, एक चौथाई अनिच्छित जन्म हुने, दुई तिहाई गर्भपतन हुने र बाँकी ६१ हजार आफैँ खेर जानेगरेको तथ्याङ्कले देखाएको छ । लक्ष्मण पौडेलले गोरखापत्रमा समाचार लेख्नुभएको छ  ।

Top Post Ad

post bottom ads

Ads Bottom