Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

सडकखण्ड विस्तारका लागि रात्री समयमा पृथ्वी राजमार्ग बन्द गरिने - ब्राइटर खबर - Brighter Khabar


चितवन , १३ फाल्गुन ।  पृथ्वी राजमार्गअन्तर्गतको सडक खण्ड विस्तारको काम प्रभावकारी बनाउनका लागि सो अन्तर्गत  मुग्लिन–पोखरा खण्डमा रात्रि समयमा सडक अवरुद्ध गरिने भएको छ ।

 सो सडकखण्डमा बर्षात लागेपछि  सडक विस्तारमा समस्या हुनसक्ने भन्दै  लेन विस्तार गर्ने कार्यअन्तर्गत भीर काट्न रात्रि समयमा सडक अवरुद्ध गरिने भएको हो । यो सँगै फागुन १८ गतदेखि २७ गतेसम्म राति पूर्णरूपमा उक्त सडकखण्ड  बन्द गरी काम गर्ने निर्णय भएको  प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिनुभयो । 

यस खण्डमा नाली निर्माण, रिटेनिङ वाल निर्माण, भित्ता काट्ने र सडक फराकिलो बनाउने काम भइरहेको मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड) का प्रमुख इञ्जिनीयर नरेन्द्र सुवेदीले जानकारी दिनुभयो । पूर्वी खण्डको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । ४१ दशमलव ४५ किमी यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिने छन् । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ वैशाखसम्म रहेको छ । पश्चिम खण्डअन्तर्गत जामुनदेखि पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ भदौसम्म रहेको छ ।

स्रोतका अनुसार विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एशियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजार र पश्चिम खण्डको ठेक्का रु सात अर्ब ४० करोड ४६ लाखमा लागेको छ ।

चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५-२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ । डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौँडादेखि खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौँडादेखि पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ ।

सडक चौडा पार्ने क्रममा निस्किएका निर्माण सामग्रीमा स्थानीय तहबाट रोयल्टी माग भएको साथै निर्माण सामग्री ढुवानी गर्दा प्रत्येक स्थानीय तहलाई ढुवानी शुल्क तिर्नुपर्ने अवस्था रहँदा आयोजनाको काममा केही समय ढिलाइ भएको थियो । अहिले उक्त समस्या समाधान भएको बताइएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom