आधा आकाश ढाक्ने नारीहरू जननी हुन, सृष्टि कर्ता ब्रह्मा हुन। मानव सभ्यताको विकास सँगै नारीलाई विशेष महत्त्व दिएर पुजिएको पाइन्छ। नारिलाई दुर्गा, लक्ष्मी, सरस्वती मात्रै नभई विभिन्न शक्ति पिठहरुको रूपमा पुज्दै आएको पाइन्छ।
नारीहरूलाई हाम्रो पूर्वीय सभ्यताले जति सम्मान गरेको छ त्यति नै व्यवहारिक रूपमा विभिन्न उतारचढावको सामना गर्नु परेको छ।
नारीहरू सतीको नाउँमा जिउँदै पुरुषको चितामा जल्नु पर्यो,जिन्दगी भर बिधुवा बन्नु पर्यो, बोक्सीको आरोपमा यातना सहन गरिनु पर्यो, समान ज्याला कहिल्यै गरिएन,पैतृक सम्पत्तिमा कुनै अधिकार दिइएन यी र यस्तै यातना नारीहरूले खेप्नु पर्यो।
महिलामाथि हुने घरेलु हिंसा, यातना, शोषण, अन्यायको जति विरोध र भर्त्सना गरे पनि कम नै हुन्छ।
नेपालको इतिहासमा लिच्छविकलाका राजा मानदेवले आफ्नो आमालाई सती जानबाट रोकेकोबाट समेत पनि नारीहरू सतीको रूपमा जल्नु पर्ने, त्यस समयको सती प्रथाको विकराल अवस्थाको बारेमा जानकारी लिन सकिन्छ।
नेपालको शासनकालमा राजमाताहरू आफ्नो बालक छोराको नायवी भई राज्य सञ्चालन गरेको पाउन सकिन्छ। नायक देवी, राज राजेश्वरी, ललित त्रिपुरासुन्दरी, राजेन्द्र लक्ष्मी जस्ता नारीहरू नेपालको शासकको रूपमा उदाएको पाइन्छ।
नारीहरू आजको सूचना प्रविधिको युगमा विभिन्न यातनाहरू सहन परेको अवस्था विद्यमान छ। घरेलु हिंसा, दाइजोको निहुँमा नारीहरू जिउँदै जल्नु परेको छ।
गरिब असहाय महिलाहरू बोक्सीको आरोपमा कुटिनु परेको छ। जातीय छुवाछूत, शारीरिक तथा मानसिक हिंसामा नारीहरू दिन प्रतिदिन जल्नु परेको छ।
नारी पुरुषबाट मात्रै हिंसा भएको मान्न स्विकार्न सकिँदैन । आजको समाजमा हाम्रो समाजको सोचाइमा समेत नारी प्रति गरिने व्यवहारमा परिवर्तन आउन जरुरी छ। (छोरी- बुहारी- आमा) एक नारी कुनै बेला छोरी बुहारी हुँदै आमा हुन्छिन्। सासू बुहारी, बुहारी सासू बिचको सम्बन्ध पनि नारी नारी बिचको सम्बन्ध हो। नारिलाई पैतृक सम्पत्तिमा समान अशिव हक हुनेछ भनेर संविधान लिपिबद्ध गरिएको छ तर व्यवहारमा कमजोर छ। नारीहरू छोरा जन्माउने बाध्यतामा सुन्दर सन्सार देख्न नपाउँदै हत्या गराउन बाध्य छन् ।
यो अवस्थामा नारीको रूपमा स्वयम् आमाहरूले आवाज उठाउन सकेको पाइँदैन। समाजका विभेद विरुद्ध आवाज उठाउँदा छोरी भएर बोल्नु हुँदैन भन्न सिकाउने आमा, हेपिदा, अन्याय सहन नसक्दा बरु प्राण त्याग्न परोस् तर समाज र इज्जत को रूपमा सहनै बाध्य बनाउने आमालाई कसरी नारी मान्ने? छोरी भन्ने थाहा पाउनसाथ गर्भ पतन गराउन दबाब दिने र यो नगर भन्न नसक्ने समाजका आमा दिदिबहिनिहरुलाई कसरी नारी मान्ने? यी र यस्तै प्रश्नको उत्तर खोज्नु पर्ने बेला आएको छ।
समाज र सामाजिक परम्परा कानुनको स्रोत हुन। लिखित कानुन त बरु समयानुकूल संशोधित हुन्छ तर सामाजिक रीतिरिवाज परम्परा कानुन भन्दा कठोर छ। राज्यले महिला सशक्तीकरणको नाउमा करोडौँ रकम खर्चेको छ तर समस्या जिउका त्यही छ।
सम्पूर्ण समाज, समुदाय र परिवारसँग प्रत्यक्ष जोडिएको महिला हिंसालाई निर्मूल पार्न सचेत वर्ग, सम्पूर्ण विद्यालयका शिक्षक शिक्षिका, बुद्धिजीवी, नागरिक समाजहरू जस्ता सम्बद्ध निकायहरूको साथ सहयोग साथै सामाजिक चेतनाको विकास हुनु जरुरी देखिन्छ।
सम्पूर्ण नारीहरूमा विश्व ११३ औ नारी दिवसको शुभकामना।
- महेश देवकोटा , अर्जुनचौपारी -१, स्याङ्जा