विद्यालय पठायो परीक्षा दिन्छन् नतिजा आउँछ त्यसैबाट उत्तीर्ण अनुत्तीर्ण थाहा हुन्छ । तर व्यावहारिक मूल्याङ्कनमा कतिपय विद्यालय सँगै अभिभावकहरू पनि चुकिरहेका हुन्छन् त्यो कुरा कसैलाई पत्तै हुँदैन ।
कतिपय अभिभावकलाई त विद्यालयले कति धेरै परियोजना कार्य ( प्रोजेक्ट वर्क) दिइरहेको होला भनेर शिक्षकले दिइएको अतिरिक्त परियोजनालाई अनावश्यक भारको रूपमा लिगीरहेको देख्न पाइन्छ । यस्ता प्रकारका परियोजना कार्यहरूमा विद्यार्थीहरूलाई पूर्ण रूपमा सहभागी हुन अभिभावकको भूमिका निकै महत्त्वपूर्ण हुने गर्दछ जसले सिकाइ प्रक्रियामा महत्त्वपूर्ण भूमिका खेलिरहेको हुन्छ ।
यसरी पछिल्लो समय विद्यालय स्तरमा सम्पूर्ण विषयको अङ्क भारलाई कसरी छुटाइएको छ र विद्यार्थीहरूले त्यसमा आफ्नो सहभागिता लाई प्रयोगपूर्ण सँगै उपयोगी कसरी बनाउन सक्छन् भन्ने कुरा विद्यालय र अभिभावक सँगै विद्यार्थीहरूले पनि गहन रूपमा बुझ्नु जरुरी छ ।
आधारभूत तहमा निर्णयात्मक पद्धतिभन्दा बढी निर्माणात्मक सुधारात्मक मूल्याङ्कन पद्धतिका आधारमा विद्यार्थीको सिकाइलाई सुनिश्चित गर्नुपर्ने भएकाले खास गरेर विद्यार्थीको कक्षा कार्य, सिकाइ क्रियाकलापमा सहभागिता, परियोजना कार्य, सिर्जनात्मक कार्य, गृहकार्य, उपलब्धि परीक्षा, हाजिरी, अनुशासन, व्यवहार परिवर्तनको अवलोकन आदिका माध्यमले विद्यालयले विद्यार्थीको उपलब्धिका बारेमा आवधिक गरिरहेको हुन्छ ।
आधारभूत शिक्षाको कक्षा १-३ मा पूर्ण रूपमा निरन्तर मूल्याङ्कन पद्धति अवलम्बन गरिने भए पनि ४ र ५ कक्षामा ५० प्रतिशत भारको निरन्तर मूल्याङ्कन पद्धति र ५० प्रतिशत भारको आवधिक परीक्षाका लागि छुट्ट्याई विद्यार्थीको उपलब्धिको लेखाजोखा गर्नुपर्ने प्रावधान छ भने कक्षा ६ र ७ मा ६० प्रतिशत भारको आवधिक परीक्षा र ४० प्रतिशत भारको निरन्तर मूल्याङ्कनका माध्यमले विद्यार्थी उपलब्धिको लेखाजोखा गर्नुपर्ने प्रावधान छ ।
४ र ५ कक्षाको ५० प्रतिशत सँगै ६ र ७ को ४० प्रतिशतले माथि उल्लेख गरे जस्तै विद्यार्थीको कक्षा कार्य, सिकाइ क्रियाकलापमा सहभागिता, परियोजना कार्य, सिर्जनात्मक कार्य, गृहकार्य, उपलब्धि परीक्षा, हाजिरी, अनुशासन, व्यवहार परिवर्तनको अवलोकनका आधारमा विद्यार्थीहरूले अङ्क प्राप्त गर्ने गर्दछन् ।
यो अङ्कको लागि विद्यार्थीले परीक्षामा लेखेर ल्याउने मात्र नभएकोले यसका लागि अभिभावकको पनि उत्तिकै भूमिका रहेको हुन्छ । यस अर्थमा करिब ५० प्रतिशत अङ्क भारको पूर्ण जिम्मेवार विद्यालय भन्दा पनि विद्यार्थीको घर परिवार र उसको अभिभावक बढी हुन्छ भने बुझ्नुपर्दछ ।
त्यस्तै माध्यमिक तहमा विद्यार्थी मूल्याङ्कन प्रक्रियामा चाहिँ निर्माणात्मक मूल्याङ्कनबाट प्राप्त नतिजाका आधारमा आन्तरिक मूल्याङ्कनबाट २५ प्रतिशत भार र अन्तिम / बाह्य परीक्षाको ७५ प्रतिशत भार कायम गरी निर्णयात्मक मूल्याङ्कन गरिने व्यवस्था रहेको छ । यसमा निर्माणात्मक मूल्याङ्कन भन्नाले विद्यालयले विद्यार्थीको उपलब्धिका आधारमा गरिने मूल्याङ्कन भनेर बुझ्नु पर्दछ जसले सुधारको मौका प्रदान गर्दछ भने निर्णयात्मक मूल्याङ्कन भन्नाले शैक्षिक सत्रको अन्तिममा गरिने मूल्याङ्कन भनेर पनि बुझ्न सकिन्छ ।
यस अर्थमा माध्यमिक तहका विद्यार्थीहरूको २५ अङ्क प्राप्तिका लागि ९० प्रतिशत भन्दा बढी अभिभावकको भूमिका रहेको हुन्छ भनेर बुझियो भने राम्रो हुन्छ ।
विद्यार्थीको समग्र पठनपाठनमा सुधार ल्याउन विद्यालय , शिक्षक, सँगै अभिभावकहरूको आ-आफ्नो भूमिका त हुन्छ नै अझै विद्यार्थीको २५ देखि ५० प्रतिशत अङ्क जसलाई उहाँहरूले परियोजना कार्य ( प्रोजेक्ट वर्क ) भनेर बुझ्नु हुन्छ त्यसमा शत प्रतिशत अङ्क प्राप्त गर्न १०० प्रतिशत भूमिका अभिभावकको हुन्छ भनेर मनन गर्यो भने पक्कै पनि हाम्रा बाबु नानीहरूको सिकाइ उपलब्धिमा पक्कै पनि सुधार आउनेछ ।
साथै अङ्क प्राप्तिका लागि मात्र नभई बाबुनानिहरुको सबै पक्षको विकासको लागि परियोजना कार्यले महत्वपुर्ण भूमिका खेलिरहेको हुन्छ भन्ने सम्झेर सो कार्यमा उत्प्रेरित हुन प्रेरणा दिनु पर्दछ ।
त्यसैले परियोजना कार्य सँगै माथि उल्लेख गरिएका सबै पक्षहरूमा अभिभावकको भूमिका तदारुकताका साथ हुनु पर्ने देखिन्छ ।