निर्वाचन अधिकृतको कार्यालयले भने उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी अन्य योग्यताअनुसार उम्मेदवारी दर्ता गर्न आउने राष्ट्रपतिको भन्दा फरक समुदाय वा लिङ्गका व्यक्तिको उम्मेदवारी दर्ता गर्ने तयारी गरेको छ । आयोग स्रोतका अनुसार निर्वाचन अधिकृतको कार्यालयले दर्ता भएको उम्मेदवारबारे उजुरी परेपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दा त्यसबारे निर्णय गर्नेछ ।
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा १३ मा राष्ट्रपति वा उपराष्ट्रपतिका लागि उम्मेदवारीको मनोनयन दर्ता भएको तर निर्वाचन परिणाम घोषणा नभएको अवस्थामा कुनै उम्मेदवार अयोग्य छ वा हुन गएको छ भन्ने कसैलाई लागेमा सो विषयमा स्पष्ट प्रमाणसहित सम्बन्धित निर्वाचन अधिकृतमार्फत आयोगसमक्ष उजुरी दिन सकिने उल्लेख छ । आयोगले त्यसबारे निर्णय गर्ने समयसीमा सात दिन तोकिएको छ । तर उक्त विधि पछ्याउँदा निर्वाचन प्रक्रिया लम्बिनेछ ।
उपराष्ट्रपति पदमा उम्मेदवारी दिने व्यक्ति वंशजका आधारमा नेपाली नागरिक भएको, कम्तीमा ४५ वर्ष उमेर पूरा भएको, कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको, कुनै सङ्घीय कानुनले अयोग्य नभएको तथा कुनै लाभको पदमा बहाल नरहेको हुनुपर्छ ।
साथै उम्मेदवारी दिनेले पाँच जना समर्थक र पाँच जना प्रस्तावक जुटाउनुपर्नेछ । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐनअनुसार प्रस्तावक र समर्थक सो पदका लागि निर्वाचन आयोगले प्रकाशन गरेको ८८२ जनाको मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्छ । मतदाता भने सङ्घीय संसद् र प्रदेश सभाका सदस्य मात्रै छन् ।
निर्वाचन कार्यक्रमअनुसार शनिबार नै निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको सूची प्रकाशन गर्नेछ । उम्मेदवारको सूची दिउँसो २ देखि ३ बजेभित्र प्रकाशन हुनेछ । शनिबार नै ३ बजेपछि उम्मेदवारविरुद्ध उजुरी दिन पाउने समयसीमा तोकिएको छ ।
निर्वाचन अधिकृतको कार्यालयकी सूचना अधिकारी अमृता भण्डारीले मनोनयनपत्र र उजुरीउपर निर्णय गर्ने, उम्मेदवारको नामावली प्रकाशन गर्ने, उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम फागुन २८ गते आइतबार नै हुने जानकारी दिनुभयो । उपराष्ट्रपति निर्वाचनको निर्वाचन अधिकृत महेश शर्मा पौडेलले उपराष्ट्रपति पदमा परेको उम्मेदवारीबारे संविधान र कानुनबमोजिम निर्णय गर्ने बताउनुभयो ।
यसैबीच निर्वाचन आयोगले निर्वाचन अधिकृतलाई उपराष्ट्रपति पदको मनोनयन गर्दा निर्वाचित राष्ट्रपतिको भन्दा फरक लिङ्ग वा समुदायको प्रतिनिधित्व हुने गरी मनोनयन दर्ता गर्न निर्देशन दिएको छ । आयोगको निर्देशनमा भनिएको छ, “फागुन २७ गते उपराष्ट्रपति पदको मनोनयन गर्दा राष्ट्रपतिको पदमा निर्वाचित व्यक्तिको लिङ्ग (पुरुष) वा समुदाय (खस आर्य) भन्दा
फरक लिङ्ग (महिला वा अन्य) वा फरक समुदाय (दलित, आदिवासी जनजाति, मधेशी, थारू वा मुस्लिम) व्यक्तिको मनोनयन पत्र मात्र दर्ता गर्नुपर्नेछ ।”उपराष्ट्रपति पदका लागि चैत ३ गते मतदान हुनेछ । मतदानमा सङ्घीय संसद्का सदस्यको मतभार ७९ र प्रदेश सभा सदस्यको मतभार ४८ तोकिएको छ ।