जब प्रधानमन्त्री कार्यक्रम स्थल पुगे त्यहाँ उनी विरुद्धको असन्तुष्ट पोखिन सुरु भयो । वास्तवमा त्यो असन्तुष्टि कुनै व्यक्ति विशेषको मात्र नभएर समग्र नेपालीको समस्या बोलिरहेको थियो । त्यो कुरा न त त्यहाँ घेरिएका सुरक्षाकर्मीलाई अनुभव भयो न त अरू लाई नै । सुरक्षाको घेरामा घेरिएका प्रधानमन्त्रीलाई त झन् पत्तो हुने कुरै भएन ।
अझै रोचक त के छ भने बोल्ने स्वतन्त्रता हामीले ल्याएका हौँ भनेर खोक्नेहरूले नै आज बोल्नेको मुख थुन्न लगाएको लज्जित अवस्था छरपस्ट भएको छ । त्यही अवस्थामा एक युवाको चर्को आवाज आइरहेको थियो कि ''प्रहरीले मुख बन्द गर्न पाइँदैन'' ।
परिवर्तनले ल्याएको स्वतन्त्रता भन्नेहरूका लागि असली नाङ्गो रुपमात्र देखाएको छैन यसले त उनीहरूको स्वार्थ बोकेको नियति पनि छर्लङ्गै बनाइदिएको छ ।
''मूल्यवृद्धि खारेज गर्, यस्तो सरकार चाहिँदैन, ७७ जिल्लाका युवा एक हौँ'' भन्ने आवाज सुन्न नसक्ने सरकारले अब दुखी गरिब सर्वसाधारणका व्यथा कथा अनि त्यही सतहका वास्तविकतालाई कसरी सुन्न सक्ला ? कसरी स्विकार्न सक्ला ? कसरी सम्बोधन गर्न सक्ला ?
व्यक्तिगत रूपमा त म चिन्दिन ती युवाहरू कहाँ कसरी त्यहाँ उपस्थित भए भनेर तर जहाँ जसरी उपस्थित भए पनि त्यो आवाज समग्र नेपालीको पिर , व्यथा , समस्या र वास्तविकता भने पक्कै पनि हो ।
अब सोच्नुहोस् त यसरी वास्तविकता स्विकार्न र सुन्न नसक्ने सरकार र यो प्रणालीले गरिब जनताको कुरा सुनिदेला ? समस्या बुझिदेला ? अनि नेपालीले जनमुखी सरकार भएको अनुभूति गर्न पाउलान् त ?
यसले त सारा नेपालीलाई पक्कै पनि एउटा ढङ्गले अभिभावक विहीन नेपालीको महसुस गराएको छ भने शासकहरूले गर्ने परिवर्तनले जनतालाई परिवर्तन गराउन सक्दैन भनेर प्रमाण सहितको पुष्टि गरिदिएको छ ।
आजको यो घटनालाई हेर्दा चाहे उनीहरू नियतवश गरुन् , चाहे कसैले परिचालन गरेको होस् चाहे स्वतःस्फूर्त निस्केको आवाज होस् तर त्यो आवाज अहिलेका समग्र नेपालीको आवाज हो । सरकार जन गुनासो सम्बोधन गर्न भन्दा पनि आफ्नै सत्ताको स्वार्थमा चुर्लुम्म डुबुल्की मारेको छ मस्त स्वार्थको निद्रामा छ न त उसलाई आफ्नो इतिहासको मतलब छ न त उसलाई जना सर्वसाधारणको मतलब छ न रोदन र पिडा को ! छ त चिन्ता केवल आफू र आफ्नाहरूको !
अब यो सब छोडिदिऊँ अनि सोचौँ त बोल्दा मुख थुनिदिने अहिलेको तन्त्र राणा शासन भन्दा कसरी फरक भयो त ?