Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

नीरा हत्याको अनुसन्धानप्रति आशङ्का - Brighter Khabar


एक साताअघि काठमाडौँको कपनस्थित सरस्वतीनगरमा धारिलो हतियार प्रहार गरी  नीरा पाण्डे आचार्यको हत्या भएको घटनाको अनुसन्धान ढिला भएको भन्दै स्थानीय र आफन्तले बिहीबार प्रदर्शन गरेका छन्। 

दिनदहाडै पसलभित्र पसेर भएको हत्याको घटनामा प्रहरीको अनुसन्धान प्रभावकारी नभएको र अभियुक्त फेला नपरेको भन्दै हत्या भएको पसल अगाडि प्रदर्शन भएको हो।

नीरू किचेनकी सञ्चालक ३२ वर्षीया आचार्यको एक साताअघि अज्ञात व्यक्तिले धारिलो हतियार प्रयोग गरी पसलभित्र हत्या गरेको थियो। मृतकका दाजु यमलाल पाण्डेले घटनाको एक हप्ता बित्दासमेत अभियुक्त फेला नपर्नु र प्रहरीले गरिरहेको अनुसन्धानबारे आफूहरूलाई सामान्य जानकारीसमेत नहुँदा अनुसन्धानप्रति अविश्वाश पैदा भएको बताउनुभयो। 

उहाँले आफ्नी बहिनीको नियोजित रूपमा हत्या गरिएको आरोप लगाउँदै आशङ्कित व्यक्ति पक्राउ नपर्नु रहस्यमय रहेको बताउनुभयो। हत्या घटनाबारे अनुसन्धानका लागि उपत्यका अपराध अनुसन्धान कार्यालयबाट प्रहरी उपरीक्षक रवीन्द्र रेग्मी, जिल्ला प्रहरी परिसर काठमाडौँबाट प्रहरी नायब उपरीक्षक हरि बस्नेतलाई परिचालन गरिएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान (सीआईबी)बाट विशेष सुराकी टोली  खटाइएको छ। 

अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले अनुसन्धान जारी रहेको तर अभियुक्त फेला नपरेको बताउनुभयो। उपत्यका अपराध अनुसन्धानबाट खटिएको प्रहरी टोलीले बिहीबार पुनः हत्या भएको भाँडा पसल खाली गरेर अनुसन्धान सुरु गरेको छ।

अर्घाखाँची छत्रदेव गाउँपालिका माइती भएकी नीराको विवाह बागलुङ बढीघाट गाउँपालिका­–५ का योगेन्द्र आचार्यसँग भएको थियो। १० वर्षीय छोरीसहित कपनमा बस्दै आउनुभएका आचार्य दम्पतीले सरस्वतीनगरमा फरक–फरक दुईवटा भाँडा पसल सञ्चालन गर्दै आउनुभएको थियो।

पोस्टमार्टममा संलग्न एक अधिकारीका अनुसार नीराको शरीरमा करिब २० ठाउँमा गहिरो चोट देखिएको छ। हत्यापछि पसलमा चोरी तथा लुटपाट नभएको मृतक नीराका दाजु यमलाल पाण्डेले जानकारी दिनुभयो। 

घटना भएको भाँडा पसल र आसपासमा समेत सीसीटीभी क्यामरा नभएका कारण अभियुक्तसम्म पुग्न प्रहरीलाई कठिन भएको छ। घटना हुँदा पसलबाट एक जना युवक भागेको देखिएको खबर गोरखापत्रमा छ। 

Top Post Ad

post bottom ads

Ads Bottom