Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

आज २० औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव


 ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ मूल नाराका साथ आज २० औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदैछ ।


२०६१ मा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गर्न अनुरोध गरेका थिए । राष्ट्रसंघले धान वर्ष घोषणा गरेपछि नेपालले पनि राष्ट्रिय धान दिवस मनाउने निर्णय गरेको थियो ।


२९ मंसिर २०६१ मा मन्त्रिस्तरीय निर्णय गरी १५ असार २०६२ देखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । विश्वको जनसंख्याको आधा मानिसको मुख्य खाना नै चामल हो । ९० प्रतिशत धान एसियामै उत्पादन हुने गर्छ । उत्पादनको आधा एसियामै खपत हुने गरेको छ । नेपालमा धानको उत्पादन वृद्धि हुँदा आर्थिक वृद्धिदर बढ्ने गरेको छ ।


नेपालमा अधिकांशको पेसा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै धान छुपुछुपु रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौंला, बनाई कुलो लगाई पानी आएर गोडौंला’ जस्ता गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ ।


कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही-चिउरा खान्छन् । यसबेला दही-चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही-चिउरा खाने पर्वका रुपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही-चिउरा खाएर असार १५ मनाउँछन् ।


हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ। शुभकार्यका लागि घर बाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । यस्ता शुभकाममा निस्कनुअघि सगुनका रुपमा पनि दही खुवाएर बिदाइ गरिन्छ । दही खुवाएर बिदा गरे शुभ प्राप्त हुने सांस्कृतिक मान्यता पनि छ ।

Top Post Ad

post bottom ads

Ads Bottom