जल तथा मौसम विज्ञान विभागको जलवायु विश्लेषण शाखाले पश्चिमका दुई र पूर्वका तीन जिल्लाबाहेक सबै जिल्लाको तापक्रमले उच्च सतर्कताको तह पार गरेको जनाएको छ । ती जिल्लामा ४१ डिग्री सेल्सियसभन्दा माथि तापक्रम पुगेको छ ।
पाँच जिल्लामा तापक्रमको सतर्कता तहको अवस्थामा रहेको छ । सबैभन्दा बढी जनकपुर, विराटनगर, भैरहवा, सिमरा र नेपालगन्जमा तापक्रम वृद्धि भएको देखिएको छ । यसैबीच बङ्गालको खाडीबाट मनसुनी न्यूनचापीय रेखा हिजो भारतको केरलामा आइपुगेको छ ।
त्यहाँबाट मनसुनी जलवाष्प नेपाल आउन करिब एक साता लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । नेपालमा यो वर्ष मनसुन भित्रिने अनुमानित दिन भनेर जुन १३ लाई तोकिएको छ । अहिलेकै अवस्थालाई गणना गर्ने हो भने मनसुन सुरु हु्न करिब एक साता वा त्यसभन्दा बढी समय लाग्ने सम्भावना देखिएको छ ।
दुई दिन पश्चिमी वायु र स्थानीय वायुको प्रभावले देशका पहाडी भेगमा हल्का खण्डवृष्टि हुने सम्भावना भने रहेको छ । पूर्वतर्फ केही बादल बनेको छ भने पश्चिम पहाडी इलाकामा पनि बादल बन्ने क्रम जारी छ । धेरै ठूलो वर्षा नहुने भएकाले तापक्रम तत्काल घट्ने सम्भावना भने कम रहेको मौसमविद्हरुले बताएका छन् ।