Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पश्चिम तराईमा लू (तातो हावा) चल्न सुरु , सतर्क रहन आग्रह - Brighter Khabar


जेठ १९ गते । मध्य र पूर्वी तराईमा विषम खालको र पश्चिम तराईमा हल्का लू (तातो हावा) चल्न थालेको छ । मौसम पूर्वानुमान महाशाखाले अधिकांश भूभागमा अधिकतमदेखि न्यूनतम तापक्रम वृद्धि हुँदा तातो हावा चल्ने जनाएको छ । विगत केही दिनदेखि देशका अधिकांश भू–भागको अधिकतम तथा न्यूनतम तापक्रम वृद्धि भइरहेको देखिएको महाशाखाले जनाएको छ ।

शुक्रबार दिउँसो बुलेटिन जारी गर्दै महाशाखाले भनेको छ, ‘‘काठमाडौं उपत्यका लगायत देशका अन्य उपत्यकामा समेत तापक्रममा क्रमिक वृद्धि भइरहेको र देशको तराई भू–भागमा, मुख्यतयाः मध्य तराई र आसपासमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन भएको छ ।’’

आगामी केही दिनको देशभरको तापक्रमको अवस्था तथा विश्लेषण अनुसार तराईका धेरैजसो भू–भागहरूमा अधिकतम र न्यूनतम तापक्रम क्रमिक रुपमा बढ्दै जाने खबर  छ ।

जसका कारण तराई भू–भागमा आगामी पाँच दिनसम्म तातो हावा तथा लू लाग्न सक्ने सम्भावना रहेकाले सो बाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

साथै पहाडी भू–भागका उपत्यका तथा खोँचहरूमा समेत तापक्रम क्रमिक रुपमा बढ्न सक्ने सम्भावना रहेकोले यस महाशाखाबाट जारी हुने सूचना तथा पूर्वानुमानमा अध्यावधिक रहनु हुन अनुरोध छ ।

तातो हावा तथा लू बाट हुने सम्भावित असर जस्तैः थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने,  चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता आदि हुनसक्छ ।

तातो हावा तथा लूबाट बच्न बढी गर्मीको समयमा घर भित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक–पटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन महाशाखाले अनुरोध गरेको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom