राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनीलराज शर्माले सुर्तीजन्य पदार्थको सेवन गर्दा मुख, दाँत, गिजामा समस्या आउने, उमेर नपुग्दै छाला चाउरी पर्ने सम्भावना हुने, आँखाको दृष्टि कमजोर हुने र श्रवणशक्ति कमजोर हुने जस्ता स्वास्थ्य समस्या देखा पर्ने बताउनुभयो।
उहाँले अभिभावकले धूमपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा बालबालिका र परिवारका अन्य सदस्यमा श्वासप्रश्वाससम्बन्धी समस्या, मुटु रोग, क्यान्सरलगायतका स्वास्थ्य जोखिम बढाउने बताउनुभयो। उहाँले परिवारमा एक जनाले सुर्ती सेवन गरेको छ भने परिवारका अन्य सदस्यलाई त्यसको असर हुने बताउनुभयो।
नेपालले सन् २००३ मा सुर्तीजन्य पदार्थ रोकथामको अन्तर्राष्ट्रिय महासन्धिमा हस्ताक्षर गरेको थियो। सन् २००६ मा नेपालले उक्त महासन्धि अनुमोदन गरेको जानकारी दिँदै त्यसकै आधारमा सन् २०११ मा सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन तथा निर्देशिका जारी भएको थियो। स्वास्थ्य सूचना केन्द्रका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा भक्तबहादुर केसीले सरकारले अनुमोदन गरेको नसर्ने रोगको रोकथाम र नियन्त्रणका लागि राष्ट्रिय बहुक्षेत्रीय कार्ययोजना २०२१–२०२५ ले नेपालमा सन् २०२५ सम्ममा १५ वर्षमाथिका मानिसमा व्याप्त रहेको सुर्तीजन्य पदार्थको प्रयोगमा ३० प्रतिशतले कमी ल्याउन आह्वान गरेको जानकारी दिनुभयो।
विश्व स्वास्थ्य सङ्गठनद्वारा गरिएको नसर्ने रोगको सर्वेक्षण अनुसार विश्वमा हरेक वर्ष सुर्तीजन्य पदार्थ सेवनका कारण ८० लाख मानिसको मृत्यु हुने गरेको छ। तीमध्ये ७० लाखभन्दा बढीको मृत्यु प्रत्यक्ष सुर्तीजन्य पदार्थको प्रयोगका कारण हुने गरेको छ। धूमपान नगर्ने तर अन्य व्यक्तिले गरेको धूमपानबाट उत्पन्न धुवाँका कारण करिब १२ लाखभन्दा बढीको मृत्यु हुने गरेको छ। विश्व स्वास्थ्य सङ्गठनको सन् २०२२ को तथ्याङ्कअनुसार विश्वमा २२.३ प्रतिशत मानिस सुर्तीजन्य पदार्थको प्रयोग गर्दछन्।
क्यान्सर रोग विशेषज्ञ डा अरुण शाहीले नेपालमा धूमपान तथा सुर्तीजन्य पदार्थका कारण क्यान्सर रोगी वृद्धि हुँदै गएको बताउनुभयो।
शिक्षण तथा स्वास्थ्य संस्था, बालकल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथालयको कम्तीमा एक सय मिटरभित्रको घर, पसलबाट सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न गराउन नपाइने व्यवस्था रहे पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको खबर गोरखापत्रमा छ।
सुर्तीजन्य पदार्थको ऐन अनुसार नेपालमा सुर्तीजन्य पदार्थ बिक्रेताले १८ वर्ष उमेर नपुगेका व्यक्ति र गर्भवती महिलालाई सुर्तीजन्य पदार्थ नबेच्ने, बेच्न नलगाउने र चुरोट तथा बिँडीको फुटकर खिल्ली बेच्न नपाउने व्यवस्था गरेको छ।