Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पोखरा–मुग्लिङ सडकखण्ड निर्माण कामको हरिविजोग , काम सकिने अवधिसम्म आठ प्रतिशत मात्रै प्रगति - Brighter Khabar

सांकेतिक तस्विर 


असार १९ गते । पृथ्वीराज मार्गको विस्तारको काम अन्तर्गत पोखरा–मुग्लिङमा पर्ने पश्चिम खण्डको काम अत्यन्त सुस्त गतिमा भएको छ । सडक विस्तारको काम सम्झौता भएको आधा समय बितिसक्दा आठ प्रतिशत मात्रै काम पूरा भएको छ  । 

काम कछुवा गतिमा हुँदा यात्रु र राजमार्ग आसपासका बासिन्दाहरूले हिलो र धुलोको सास्ती पाइरहेका छन् । ट्राफिक जामको समस्या झेलिरहेका छन् भने धुलोले गर्दा ग्राहक नआउँदा राजमार्गका व्यापारीले पेसा नै छाड्नुपर्ने अवस्था आएको छ । 

सीमित कामदारले सुस्त गतिमा काम गर्दा सडक विस्तारले गति लिन नसकेको देखिन्छ । पश्चिम खण्डमा पर्ने तनहुँको जामुनेदेखि कास्कीको पोखरासम्मको काम २०८१ सालको भदौसम्ममा सकिनुपर्छ तर आधाभन्दा बढी अवधि आठ प्रतिशत मात्रै पूरा भएको छ । निर्माण कम्पनीले चाहिँदो जनशक्ति र स्रोत परिचालन नगर्दा प्रगति असाध्यै कम भइरहेको पश्चिम खण्डका आयोजना प्रमुख अमृत श्रेष्ठले बताउनुभयो । 

श्रेष्ठले भन्नुभयो,‘‘सुस्त गतिमा काम भएकोले हालसम्म आठ प्रतिशत मात्रै काम सम्पन्न भएको छ ।’’  ठेकेदारलाई समयमा नै काम पुरा गर्न बारम्बार ताकेता गर्ने र पत्र लेखिरहेका छौँ तर पनि सन्तोषजनक प्रगति नभएको उहाँले बताउनुभयो । निर्माण कम्पनीलाई त्रुटि सच्याउन मौका दिइने र त्यसपछि पनि यस्तै अवस्था रहे ठेक्का खारेजसम्मको अवस्थामा पुग्नुपर्ने आयोजना प्रमुख श्रेष्ठ बताउनुहुन्छ । बिजुलीको पोल सार्ने, खानेपानीको पाइप सार्ने लगायतका काममा भइरहेको ढिलाइले पनि असर गरेको उहाँले जानकारी दिनुभयो ।  

पश्चिम खण्ड अन्तर्गत जामनेबाट पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यस खण्ड निर्माणको ठेक्का चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले पाएको छ । यस खण्डको म्याद विसं २०८१ भदौसम्म छ । विसं २०२६ मा रेखाङ्कन गरिएको यस सडकमा सवारीको चाप बढेसँगै एसियाली विकास बैङ्क (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको छ । पूर्वी खण्डको रु. छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको रु. सात अर्ब ४० करोड ४६ लाखमा ठेक्का लागेको छ । 

सडक विस्तार गर्दा सडक सीमा दुईतर्फी २५–२५ मिटर हुनेछ भने सहरी क्षेत्र बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ । सडकको डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक हुनेछ । दुलेगौँडाबाट खैरेनी टार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगन गौँडाबाट पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुने आयोजनाले जनाएको छ । सडकलाई विस्तार गरी सहरी क्षेत्रमा सर्भिस लेन सहित ६ लेन र अन्यत्र चार लेनमा विस्तार गरिने सम्झौतामा उल्लेख छ

चार लेनमध्ये पहिलो चरणमा दुई लेनको कालोपत्रे सुरु गरिएको  पोखरा–मुग्लिङ सडक योजना (पूर्वी खण्ड)का प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिनुभयो । पूर्वी खण्ड ३० प्रतिशत काम पूरा भएको सुवेदीले बताउनुभयो । यातायात आवागमनलाई सहजताको दुई लेनलाई आलोपालो कालोपत्रे गरिने उहाँले जानकारी दिनुभयो ।  

यस खण्डमा सडक विस्तारका क्रममा फराकिलो बनाउने, टेवा पर्खाल लगाउने तथा खाल्टोहरू पुर्ने, पक्की पुल तथा कल्भर्ट निर्माण तथा बिजुलीको पोल सार्ने  काम भइरहेको जानकारी सुवेदीले दिनुभयो ।

सुवेदीले भन्नुभयो,‘‘निर्धारित समयमा पुरा गर्ने गरी कामलाई तीव्र पारेका छौँ ।’’ पूर्वी खण्डको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई विसं २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । ४१ दशमलव ४५ किमी यस खण्डमा तीन ठुला र चार साना पुल निर्माण गरिनेछ । 

पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ भने यस खण्डको म्याद विसं २०८१ वैशाखसम्म छ । काम सुस्त गतिमा हुँदा ठुलो मर्का परेको राजमार्गलाई लक्षित गरी व्यापार गर्नेहरूको गुनासो छ ।  

धुलोमैलोले गर्दा ९५ प्रतिशत व्यापार घटेकोले व्यापार नै छाड्नुपरेको व्यास नगरपालिका–१ अम्रेनी, स्याउलीमा ग्रिनपार्क होटेलकी सञ्चालिका मञ्जु श्रेष्ठले बताउनुभयो । ‘‘व्यापार नहुँदा लामो समयसम्म घाटा खानुपरेकोले पेसाबाट विस्थापित हुनुपर्यो ।’’ धुलो गर्दा सवारी साधन नरोकिँदा कर्मचारीलाई तलब र घरभाडा तिर्ने आम्दानी हुन छाडेपछि  बाध्य भएर छाड्नुपरेको श्रेष्ठले बताउनुभयो । अमरराज नहर्कीले गोरखापत्रमा समाचार लेखेका छन् ।

Top Post Ad

post bottom ads

Ads Bottom