Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

चार दिनमा एक हजार भन्दा बढी डेंगुका सङ्क्रमित थपिए - Brighter Khabar


साउन १५ गते । पछिल्लो समय डेंगु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्र मरासिनीका अनुसार पछिल्लो चार दिनमा ६६ जिल्लाबाट एक हजार २४ जना डेंगु सङ्क्रमित थपिएका छन् । 


सबैभन्दा बढी बागमती प्रदेशमा २९१, सुदूरपश्चिम प्रदेश १७३, गण्डकी प्रदेशमा १७१, कोही प्रदेशमा १५४, लुम्बिनी प्रदेशमा ११३, कर्णाली १६ र मधेश प्रदेशमा १४ रहेका छन् । 


हालसम्म सुनसरी जिल्लाबाट तीन जना डेंगु सङ्क्रमितको मृत्यु भएको मरासिनीले जानकारी दिनुभयो । यो सँगै ७० जिल्लामा पाँच  हजार ६८८ जनामा डेंगु पुष्टि भएको छ । डा.मरासिनीका अनुसार कोशी प्रदेशमा सबैभन्दा बढी डेंगु पुष्टि भएको छ । सो प्रदेशमा तीन हजार ८२१ जनामा डेंगु पुष्टि भएको छ ।


यसैगरी, बागमती प्रदेशमा ९६२, गण्डकी प्रदेशमा ३५७, सुदूरपश्चिम प्रदेशमा ३२५ लुम्बिनी प्रदेशमा १७०, कर्णाली प्रदेशमा २६ र मधेश प्रदेशमा २७ जनामा डेंगु पुष्टि भएको छ । सङ्क्रमितमध्ये ८७ प्रतिशत डेंगु सङ्क्रमित १० जिल्लाबाट छन् । १० जिल्लामा मात्रै चार हजार ९३९ जनामा डेंगु पुष्टि भएको छ ।


सुनसरी जिल्लामा सबै भन्दा बढी डेंगु सङ्क्रमित पुष्टि भएका छन् । सुनसरीमा तीन हजार ४४८, धादिङमा ६५५, कास्कीमा २०८, दार्चुला १९१, काठमाडौँमा ९६, म्याग्दीमा ५८, मोरङमा ५७, कञ्चनपुरमा ५७, झापामा ५६ जनामा डेंगु पुष्टि भएको छ ।


चिकित्सकका अनुसार डेंगुको ज्वरो डेंगु भाइरसबाट सङ्क्रमित एडिज जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । डा.मरासिनीका अनुसार ज्वरो आउने, मांसपेशी दुख्नु, आँखाको गेडी दुख्नु, टाउको दुख्नु, शरीरमा रातो बिमिरा आउनु, वाकवाकी लाग्नु, वान्त हुनु डेंगुका प्रमुख लक्षण हुन् । डेंगुको लक्षण देखिए तत्काल स्वास्थ्यकर्मीसँग सल्लाह गरी उपचार गराउने रहेको छ । 


चिकित्सकका अनुसार डेंगु सङ्क्रमणबाट बच्ने एक मात्र उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्ने रहेको छ । एडिज जातको लामखुट्टेले दिनको समयमा टोक्ने हुँदा बिहान र साँझको समयमा टोक्ने सम्भावना बढी भएकोले सो सयमा थप सचेत रहन चिकित्सकको सुझाव छ।


लामखुट्टेको टोकाइबाट बच्चने उपाय जस्तै झुल टाँगेर सुत्ने, खेतबारीमा काम गर्दा लामो बाहुला भएका लुगा लगाउने, घरको झ्याल ढोकामा जाली हाल्ने, सम्भव भएसम्म लामखुट्टे भगाउने धूप वा मलम लगाउने जस्ता उपाय अपनाउन डा. मरासिनीको सुझाव छ । 


लामखुट्टेको वृद्धि रोक्न घरपालुवा पशुपक्षी व्यवस्थित ढङ्गले पाल्ने, घर वरिपरि गमला, टायर वा कुनै पनि खुल्ला भाँडामा पानी जम्न नदिने लामखुट्टेको टोकाइबाट बच्ने उत्तम उपाय हो ।


स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेंगु सङ्क्रमण फैलिन नदिन हरेक शुक्रबार बिहान १०ः३० बजे सबै कर्मचारी सहभागी भई सरकारी तथा सार्वजनिक कार्यालय हालभित्र र वरपर सरसफाइ अभियान सञ्चालन गर्न निर्देशन दिएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom