भवन निर्माणको सम्पन्नका काममा घुस लिएको सूचना पछि अख्तियारको टोली त्यस कार्यालयमा पुगेका थिए । यता घुस लिने कर्मचारीहरू नगद र चेक छाडेर पर्खाल नाघेर भागेका छन् ।
टोली पुग्ने सूचना पाएसँगै कार्यालयका सबै कर्मचारीहरू फरार भएपछि अख्तियार रित्तो हात फर्कनु परेको छ । आयोग इटहरीको टोलीले उक्त कार्यालयको पूर्वी पट्टीको गल्लीमा फालिएको अवस्थामा नगद र चेक फेला पारेको छ ।
घुस लिएको इकाईका कर्मचारी सब–इन्जिनियर अजय कुमार साफीले पर्खाल नाघी भाग्ने क्रममा उक्त रकम र चेक फालेको आयोगको दाबी छ ।
सिराहाको नवराजपुर गाउँपालिका –१ स्थित जनता आधारभूत विद्यालयको भवन निर्माण सम्पन्न भए पनि भुक्तानी लिने क्रममा घुस मागेका थिए ।
घुस बापत ५५ हजारको चेक तथा १५ हजार नगद रकम दिएको उपभोक्ता समितिका एक सदस्यले जनायो ।
नौ लाखको काममा १० प्रतिशत घुस मागेपछि उपभोक्ताहरूले आयोगलाई जानकारी गराएका थिए ।
यस विषयमा बुझ्न खोज्दा कार्यालयका प्रमुख दुनियाँ लाल यादवले कुनै प्रतिक्रिया दिन मानेनन् ।