Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

बाल सुधार गृहबाट फरार भएकामध्ये थप १० जना पक्राउ, घटनाले उग्ररुप लिँदा भित्र रहेका बालबालिकामा त्रास - Brighter Khabar


भाद्र ६, मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीस्थित बाल सुधार गृहबाट सोमबार फरार भएकामध्ये प्रहरीले थप १० जनालाई पक्राउ गरेको छ । सोमबार दिउँसो सुधार गृहको पछाडिको गेट भत्काएर भागेका दुई सय २१ जना बन्दीमध्ये प्रहरीले पक्राउ गर्न बाँकी १७ जनामध्ये मंगलबार दिनभरमा १० जना पक्राउ गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिनुभयो ।


फरार रहेकामध्ये सोमबार रातिसम्ममा दुई सय चार जनालाई पक्राउ गरेको र मंगलबार थप १० जनालाई उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ गरेको उहाँले जानकारी दिनुभयो । बाँकी सात जना पनि आनसम्म पक्राउ गरिसक्ने उहाँले बताउनुभयो ।


जिल्ला प्रहरी कार्यालय रामेछापबाट २०७७ जेठ २९ गते १८ वर्षको उमेरमा पाँच वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा सजाय भुक्तान गर्न बाल सुधार गृह सानोठिमीमा ल्याइएका रामेछापको मन्थली नगरपालिका–३, कठजोरका २१ वर्षीय कमल बस्नेतको उच्च ज्वरोलगायतका कारण आइतबार बिहान मृत्यु भएपछि सुधार गृहमा सुरु भएको घटनाले सोमबार भयावह रुप लिएको थियो ।


सोमबार दिउँसो घरेलु हतियार लिएर गेट भत्काएर बाहिर निस्किएका बन्दीले प्रहरीलाई लखेट्दै कुट्ने गरेपछि प्रहरीले दुई राउण्ड अश्रृग्यास प्रहार गर्नुका साथै तीन राउण्ड गोली चलाएको थियो । घटना १९ सुरक्षाकर्मी र १० जना बन्दी गरी २९ जना घाइते भएका थिए । केही घाइते उपचारपश्चात् फर्किएको र बाँकीको उपत्यकाका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


सुधार गृहबाट उपचारका लागि नागरिक अस्पताल पुर्‍याएपछि मृत्यु भएका बस्नेतको अझै शव परीक्षण भएको छैन । मृतकका परिवार तथा आफन्तले प्रहरीमा जाहेरी नदिएकै कारण शव परीक्षण हुन नसकेको प्रहरी उपरीक्षक केसीले जानकारी दिनुभयो ।


उहाँले मृतकका परिवारसँग भएको छलफलमा आज बुधबार जाहेरी दिने र त्यसपछि शव परीक्षण गर्ने तयारी भएको जानकारी दिनुभयो । सुधार गृहभित्र आइतबारबाट भएको घटनाले उग्ररुप लिए पछि तीनदिनदेखि यहाँ रहेका बालबालिका भने त्रसित रहेका छन् ।

Top Post Ad

post bottom ads

Ads Bottom