Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

सुन तस्करसँग २ सय ५६ पटक संवाद गरेका महराका बाबुछोरा अझै अनुसन्धान बाहिरै - Brighter Khabar


भाद्र १२, विद्युतीय चुरोट (भेप) मा लुकाएर भित्र्याइएको तस्करीको सुन प्रकरणमा जोडिएका पूर्वसभामुख एवं सत्तारूढ माओवादीका उपाध्यक्ष कृष्णबहादुर महरा अझै अनुसन्धानको दायराबाहिर छन् । 

जबकि प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा पेस भएको आरोपपत्रमा महरा बाबुछोराको सुन तस्करसँग टेलिफोन सम्पर्क भएको कल डिटेल रेकर्डसमेत उल्लेख छ । 

विवरण पेस भएको ४७ दिन बितिसक्दासमेत उनीहरूमाथि प्रहरीले सामान्य सोधपुछसमेत गरेको छैन । २०७९ पुस १० मा दुबईबाट चिनियाँ नागरिक दाओजिन वाङसहितको गिरोहले भेपभित्र लुकाएर करिब ९ केजी सुन ल्याएको थियो । 

जाँचपासका क्रममा भेप शंकास्पद देखिएपछि भन्सारले जफत गरी गोदाममा राखेको थियो । भेप जफतपछि अत्तालिएको गिरोहले पूर्वसभामुख महरा र छोरा राहुलमार्फत सामान छुटाउन दबाब दिएको अनुसन्धानबाट खुलिसकेको छ ।

भेप छुटाउनकै लागि चिनियाँ तस्कर वाङसँग महराले छोरा निर्मलको फोनमार्फत ११ पटक कुराकानी गरेको तथ्य पनि पुष्टि भइसकेको छ । विमानस्थल भन्सार प्रमुख अरुण पोखरेललाई पनि महराले सम्पर्क गरी ‘राहुल आउँछ, हेर्दिनुहोला’ भनेको स्रोत बताउँछ । 

राहुललाई सुन तस्कर वाङले ६४ पटक र राहुलले दाओजिनलाई १ सय ३१ पटक सम्पर्क गरेको देखिन्छ । हाल फरार असिन भनिने अर्का चिनियाँ तस्करलाई राहुलले ३ पटक सम्पर्क गरेका थिए । राहुलले नै फरार रहेका अर्का व्यक्ति लोकेन्द्र पौडेललाई ३६ पटक फोन सम्पर्क गरेको देखिन्छ । 

महराले छोरा निर्मलको फोनमार्फत ११ पटक कुराकानी गरेका छन् । यी सबैसहित महराका बाबुछोराले सुन तस्कर र यसको नेटवर्कमा रहेका गिरोहसँग समेत २ सय ५६ पटक संवाद गरेको प्राविधिक अनुसन्धानले पनि पुष्टि गरिसकेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले सुन प्रकरण र महराका बाबुछोराको कनेक्सन खुलाइसकेको छ । सुन भएका भेप जफत गरेर भन्सारले गोदाममा राखेकामा पछि त्यहीँबाट चोरी भएको थियो । 

भन्सारका कर्मचारी, एजेन्टसहितको सेटिङमा सुन चोरी भएको पाइएपछि सीआईबीमार्फत यसको अनुसन्धान भएकामा चोरीमा संलग्न ९ जनामाथि जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको थियो ।

तर, सुन ल्याउने गिरोहमाथि मुद्दा दायर त परैको कुरा, अनुसन्धानसमेत हुन सकेको छैन । भेपमा सुन ल्याउने चिनियाँ गिरोहका सदस्य वाङसँग आफ्नो पुरानै सम्बन्ध रहेको र भेप प्रकरणमा पनि चिनजानका हिसाबले सहजीकरण गर्न आफूले भन्सारका कर्मचारीलाई सम्पर्क गरेको महरा स्वयंले पनि स्वीकार गरिसकेका छन् । 

भन्सारले भेप नियन्त्रणमा लियो भनेर चिनियाँ व्यक्तिले भनेपछि आफूले कर्मचारीसँग कुरा गरेको उनले बताएका छन् ।

महराले वाङसँग फलफूल व्यापारीका रूपमा आफूले चिनेको दाबी गरेका छन् । तर, उनी सुन तस्करका नाइके भएको अनुसन्धानबाट खुलेको छ । उनी अहिले फरार छन् । 

सीआईबीले भेपभित्रको सुन चोरीमा संलग्नविरुद्ध यसअघि मुद्दा दायर भएको र अनुसन्धान अहिले पनि जारी रहेको जनाएको छ । 

भेपमा लुकाएर ल्याएको सुन प्रकरणलाई लिएर केही दिनअघि जिल्ला सरकारी वकिल कार्यालय, गृह मन्त्रालय र प्रहरीका उच्च अधिकारीबीच अनौपचारिक छलफल भएको थियो । त्यस क्रममा यो प्रकरणमा जोडिएका पूर्वसभामुख महरा, उनका छोरा राहुल र चिनियाँ तस्करलाई कारबाहीको दायरामा ल्याउने विषय पनि उठेको थियो । स्रोतका अनुसार केही दिनअघि तत्कालीन विमानस्थल भन्सार प्रमुख रहेका अर्थ मन्त्रालयका सहसचिव अरुण पोखरेलसँग सीआईबीले सोधपुछ गरेको छ । 

भेपमा लुकाएर ल्याएको सुन गोदामबाटै चोरिएपछि पोखरेलले नै सीआईबीलाई पत्र लेखी अनुसन्धान गर्न भनेका थिए । त्यसपछि पोखरेललाई नै जाहेरीकर्ता मानेर सीआईबीले चोरी र सुन तस्करीका छुट्टाछुट्टै कसुरमा अनुसन्धान गरेकामा चोरीमो मुद्दा यसअघि नै अदालतमा दायर भइसकेको छ ।

चिनियाँ नागरिक ली हानसोङ २०७९ पुस १० मा फ्लाई दुबईको उडानबाट काठमाडौं आएका थिए । त्यस क्रममा ७३ बट्टामा ७ सय ३० थान भेपमा उनले करिब ९ केजी सुन लुकाएर ल्याएका थिए । तर, जाँचपासका क्रममा सामान शंकास्पद देखिएपछि भन्सार गोदाममा राखेर अनुसन्धान अघि बढाएको थियो । 

करिब डेढ महिना सुन भएको भेप भन्सार गोदाममै थन्किएको थियो । त्यसपछि केही कर्मचारीलाई हातमा लिएर सुन ल्याउनेबाहेक अर्कै गिरोहले सुन भएका भेप चोरेर सुन व्यापारीलाई बेचेका थिए । भेपमा ल्याएको सुन करिब ८ करोड ५५ लाख रुपैयाँको देखिए पनि बेचबिखन गरी गिरोहले भागबन्डा लगाएर पैसा लिएका थिए । आजको कान्तिपुरमा समाचार छ  ।

Top Post Ad

post bottom ads

Ads Bottom