सप्तरी जिल्ला अदालतका जिल्ला न्यायाधीश हरिश्चन्द्र इङ्गनामको इजलासले आरोपित सन्तोषीकुमारी र बिन्देश्वरलाई कसुरदार ठहर गर्दै जनही ३० हजार रुपियाँ जरिवाना तिराउने र एक हजार दुई सय रुपियाँ फौजदारी कसुर पीडित राहत कोषमा जम्मा गर्न लगाउने समेत फैसला भएको छ । कसुर ठहर भएका आरोपितहरूले पीडित पक्षलाई एक लाख रुपियाँ क्षतिपूर्ति समेत तिर्नुपर्ने फैसला भएको अदालतले जनाएको छ ।
अन्य आरोपितहरू सप्तरीको राजविराज नगरपालिका–७ का वडाध्यक्ष ४० वर्षीय टुनटुन भनिने सुभाषचन्द्र यादव, ३५ वर्षीय श्रवण कुमार महतो, ३१ वर्षीय प्रेम भनिने योगेशकुमार देव, ३० वर्षीय कमलु भनिने कमलदेव यादव, २७ वर्षीय शशी आनन्द देव र २३ वर्षीय प्रमोदकुमार यादवले अभियोग दाबीबाट सफाइ पाएका छन् ।
राजविराज नगरपालिका–७ खर्साल टोलमा गत २०७६ साल असार ९ गते राति आठ जनाको समूहले गरेको कुटपिटबाट मृत्यु भएको भन्दै पीडितका बुबा उपेन्द्रप्रसाद यादवले जिल्ला प्रहरी कार्यालयमा ०७६ असार ११ गते उजुरी दिनुभएको थियो । कुटपिटबाट गम्भीर घाइते बिराजीको नोबेल अस्पताल विराटनगरमा ०७६ असार ११ गते दिउँसो उपचारको क्रममा मृत्यु भएको थियो । शवको विराटनगरस्थित कोशी अस्पतालमा ०७६ असार ११ गते पोष्टमार्टम भएको थियो । आरोपितहरूविरुद्धको उजुरी ०७६ असार १२ गते दर्ता भएको थियो ।
पिस जोन मोडेल स्कुलको होस्टलमा वार्डेन समेत रहेका शिक्षक बिराजीलाई केटी साथी भेट्न ०७६ असार ९ गते राति राजविराज नगरपालिका–७ खर्साल टोल पुगेका बेला स्थानीय युवाहरूको समूहले कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका थिए । गोरखापत्र