Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

लथालिङ्ग छन् देशैभरका सरकारी पुस्तकालय - Brighter Khabar

 

भदौ १५ गते । भूकम्प गएको आठ वर्ष बित्दा पनि मुलुकका सरकारी पुस्तकालय भवन अपूरा छन्। 
प्रायः सबै सरकारी भवनको पुनर्निर्माण भइसके पनि कुनै पुस्तकालय भवनको निर्माण कार्य जारी छ भने कुनैको निर्माण कार्य अत्तोपत्तो नै छैन।

सम्बन्धित निकायले ‘साइट क्लियर’ नगरिदिएकाले काठमाडौँको केशर पुस्तकालयको निर्माण गति सुस्त छ। ललितपुरको पुल्चोकस्थित राष्ट्रिय पुस्तकालय भक्तपुरको सानोठिमीमा सारिएको छ। 

सानोठिमीमा अस्थायी टहरामा पुस्तकालय सञ्चालन भइरहेको छ। जमलको केन्द्रीय कानुन पुस्तकालयको भवन निकै पुरानो भइसकेको छ। 

लाजिम्पाटस्थित डिल्लीरमण कल्याणी रेग्मी स्मारक पुस्तकालयको नयाँ भवन निर्माण गर्ने योजना भए पनि जग्गासम्बन्धी विवादले जीर्ण भवनमा कुँजिनु परेको छ।

विसं २०७६ मङ्सिर २८ गते दुई वर्षभित्र निर्माण सक्ने गरी केशर पुस्तकालयको पुनर्निर्माण अगाडि बढाइएको थियो। कोभिड–१९ का कारण निर्माण सम्पन्न अवधि एक वर्ष थपिएको थियो। 

हाल केशर पुस्तकालय रहेको टहरो, पुराना सामग्री राखिएका टहरो, पुराना दस्तावेज आदि साइट स्थलबाट नहटाइँदा निर्माण कार्यलाई अवरोध सिर्जना गरिरहेको छ। ठेकेदार कम्पनीले निर्माण अवधिको म्याद आगामी मङ्सिरसम्म लम्ब्याउन प्रक्रिया अगाडि बढाएको छ।

पुनर्निर्माणको परामर्शदाता कम्पनी जेएसए–पिडिए–एसडब्लुएन जेभीका आवासीय इन्जिनियर आकाशकुमार शाहले मुख्य भवन दसैँअगाडि सम्पन्न गरिसक्ने बताउनुभयो। 

केशर पुस्तकालय भवनका हरेक कोठाका रङ्गीन फल्ससिलिङ फरक फरक आकृतिका छन्। जिङ्क र फलामे पाताबाट बनेका ती खियाले काम नलाग्ने अवस्थामा पुगेका छन्। 

नेपाली प्राविधिकलाई बनाउन लगाउँदा नसकेका कारण निर्माण गरिदिने कम्पनी खोज्न टोली भारत पुगेको छ। 

जमलमा अत्याधुनिक भवन निर्माण गरी राष्ट्रिय पुस्तकालयलाई सार्ने योजना अनुरूप भवन निर्माणका लागि टेन्डरसमेत आह्वान गरिएको थियो तर ठेकेदारसँगको मिलेमतो भएका कारण देखाई सो टेन्डर रद्द गरिएको थियो। 

पुस्तकालयका प्रमुख दशरथ मिश्रले सहरी विकास तथा भवन निर्माण विभागमार्फत कार्यान्वयन गर्ने गरी पुनः भवन निर्माण गर्न १० करोड रुपियाँ विनियोजन भएको जानकारी दिनुभयो। 

भृकुटीमण्डपमा सार्वजनिक पुस्तकालय छ। त्यसको करिब एक किलोमिटरको दुरीमा केन्द्रीय कानुन पुस्तकालय छ। कानुन पुस्तकालयको सडकपारि राष्ट्रिय पुस्तकालय निर्माण गर्न प्रस्ताव गरिएको छ। 

राष्ट्रिय पुस्तकालयको प्रस्तावित जग्गाबाट केही पाइलाअगाडि केशर पुस्तकालय छ। केशर पुस्तकालयबाट करिब एक किलोमिटरको दुरीमा डिल्लीरमण कल्याणी रेग्मी स्मारक पुस्तकालय छ। गोरखापत्र दैनिक 

Top Post Ad

post bottom ads

Ads Bottom