Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

विदेश पलायन हुँदै नेपाल : यहाँ लासले पनि कुर्न बाध्य हुनेछ छोरो आउला अनि दागबत्ती देला भनेर - Brighter Khabar


हो , एउटा लास पनि यहाँ बिदेसिएको छोरो कहिले आउला र दागबत्ती देला भनेर कुर्नुपर्ने बाध्यता छ । 

आखिर  देश कहिले सम्म छोराको दागबत्ती कुरेर बस्ने हो त्यो त थाहा छैन तर पक्कापक्की के चाहिँ हो भने तपाई हामी पनि सोही कुराइमा पर्ने वाला भने पक्कै छौँ । 
यो व्यथा अनि बाध्यता न तपाईँले बुझ्ने वाला हुनुहुन्छ न त मैले नै बुझ्ने वाला छु न त त्यो लासले नै । अझै देशको बागडोर सम्हालेकाहरूले त कहाँबाट बुझुन् उनीहरूको झिटी झाम्टो नै विदेश तिरै हुँदो रहेछ । कतै पढेको अनि कतै सुनेको कुन्नि के जाति बैङ्कमा करोडौँ अरबौँ रकम उल्टो ब्याज नै तिरेर राख्ने गरेका छन् अरे । 

अनि स्वदेशमै इलम गर्न प्रोत्साहन गर्न नसक्ने सरकारले रेमिट्यान्समा राज गरिरहेको हुन्छ । ''रेमिट्यान्समा १२ प्रतिशतको वृद्धि, ११ महिनामा भित्रियो ९ खर्ब'' भनेर बडबडा अक्षरमा शीर्षक रहेका समाचार तपाईँले पनि पक्कै पढ्नु भयो होला । अनि रेमिट्यान्स कम भित्रिँदा देशको आर्थिक अवस्था नाजुक बन्दै गएको खबर पनि तपाईँको कानमा पक्कै परे होला । 

जसरी जता बाट व्याख्या गरे पनि देशको अर्थतन्त्रमा रेमिट्यान्सले महत्त्वपूर्ण हिस्सा ओगटेको छ । हो .. त्यही रेमिट्यान्स कै मोहले देशले युवा बेचिरहेको छ  ।  उनीहरूको श्रम बेचिरहेको छ  । 

एयरपोर्टमा आउँदा आफ्नी आमालाई ल्याएको पछ्यौरी , श्रीमतीलाई ल्याएको गुनियो, आफ्ना संसार ठानेका साना छोराछोरी लाई ल्याएको लुगाफाटा साथै केही खत्र्याङखुत्रुङ त्यहीँ खोसिए पनि उसकै रेमिट्यान्सले  देशको अर्थतन्त्र धानिएको चाहिँ पक्का हो । 

रोजगारीका लागि औसतमा  बर्सेनि  ५ लाख नेपाली युवा बिदेसिने गरेको तथ्याङ्कले देखाउँछ । वैदेशिक रोजगार बोर्डको तथ्याङ्क अनुसार वैदेशिक रोजगारीका क्रममा कडा खाले रोग लागेर बिरामी भएका, कामको सिलसिलामा अङ्गभङ्ग भएका र मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ।

घरको छानो फेर्छु भन्दै  कमाउन गएको छोरो बाकसमा फर्कँदा  बाबुआमाको मन कस्तो होला , कल्पना गरौँ त !  पर्खाइको पीडा के हो ? प्रेमी भेट्न आतुर प्रेमिकालाई होइन, बर्षौ देखि बिदेसिएको छोरो भेट्न आतुर ती आमा बाबालाई सोध्यो भने थाहा हुन्छ ।  घरको छानो फेर्न बिदेसिएको पिडा न त सरकारले बुझ्छ न त सरोकारवालाले नै बुझ्छन् । उनीहरूले बस् यति बुझ्छन् देश धानिन रेमिट्यान्स चाहिन्छ । 

यता बिदेसिएको छोरोले आफ्ना बाबुआमाको काजक्रिया गर्ने बिदा समेत नपाउँदा बर्षौ पछि आएर कर्म पुरा गरेका धेरै उदाहरणहरू तपाईँ हामी सामु छन्  । राम्रै जागिर राम्रै ठाउँ गएकैले पनि भनेको समयमा स्वदेश आउन नपाउँदा मृत शरीर पनि कुरेर बसिरहन्छ कि ; मेरो छोरा कहिले आउला र अनि दागबत्ती देला भनेर ... ।

यति बेला जिल्लामा जानुस् पासपोर्ट बनाउनेको लाइन छ , बिदेसिनका लागि भाषा परीक्षा तिर हेर्नुस् खचाखच लाइन छ , पिटिई / आयल्स पढ्नेहरूको सङ्ख्या हेर्नुस् उत्तिकै भिड छ ,  एयरपोर्टमा जानुस् बिदेसिने युवाहरूको उत्तिकै  लाइन छ । मुटु गाँठो पारेर लेख्नुपर्ने कस्तो बाध्यता फर्कँदा बाकसमा फर्कनेहरूको सङ्ख्या पनि दिनानुदिन  उत्तिकै बढ्दै गइरहेको  छ । 

यति भनिरहँदा तपाईँको दिमागमा जति कुराहरू खेले ती मध्ये एउटा  कुरा पनि खेल्दैन हाम्रा देशका नेतृत्वकर्ताहरूमा अनि कसरी हुन्छ देश विकास ? अनि कसरी सिर्जना हुन्छ स्वदेशमै रोजगारी ? अनि कसरी हट्छ यता छोराको दागबत्ती कुरेर बस्नुपर्ने मृत लासको बाध्यता र बाकसमा लास बुझ्नुपर्ने एउटा अभिभावकको बाध्यता ?
समग्र नेपालमा  राजनेताको अभाव छ । गरिब नागरिकलाई बारम्बार ढाँटेर र झुटा सपना बाँडेर निर्वाचनमा आफ्नो  पोल्टामा भोट  पार्ने र सत्तामा पुगेपछि राज्यको ढुकुटी बरबाद गर्ने असक्षम नेताहरूको कारण देश बरबाद तर्फ गइरहेको छ भनेर कसले बुझिदिने अनि कसले खोजिदिने समाधानको बाटो।

यति बेला  देश धार नभएको हँसियाजस्तै भएको छ । भिजन, मिसन र एक्सन नभएको प्रभावहीन संयन्त्रका रूपमा सरकार सञ्चालित छ ।  युवाहरूकालागि प्रचुर सम्भावना स्वदेशमै हुँदा हुँदै पनि राज्य संयन्त्रले त्यता पट्टी ध्यान दिएर स्वदेशमै रोजगार सिर्जना गर्न नसक्नु दुखद हो  ।

माथिका कतिपय कुरामा तपाइको चित्त बुझेर कतिपयमा विमत भए पनि हामीले अन्त्यमा बुझ्न जरुरी छ नेपाली युवा मात्रै विदेश पलायन भइरहेको  छैन यहाँ त  समग्र नेपाल नै विदेश पलायन भइरहेको  छ भनेर बुझ्न सकिने अवस्था छ  । 

आफ्नो परिवार अनि  वृद्ध बाबु आमालाई बुढेसकालमा सुख दिउँला भनेर बिदेसिएको छोरो बाबुआमा ती सपना सँगै अस्ताउँदा पनि  काजक्रियामा समेत उपस्थित हुन नपाउनु एउटा छोराको लागि कति दुर्भाग्य होला सम्झनुस् त !  फर्कन पाइहाले पनि मरिसकेको शरीरलाई पर्ख है मा आउँदै छु भनेर कुराउनु पर्ने कस्तो विडम्बना ।

त्यसैले यहाँ लास पनि कुरिरहन बाध्य हुनेछ छोरो आउने छ अनि दागबत्ती दिनेछ भनेर  ।  क्रमशः ......

Top Post Ad

post bottom ads

Ads Bottom