Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

अमेरिका र युरोप पठाउने भन्दै ३ करोड ८२ लाख रुपैयाँ ठगेर मेनपावर फरार - Brighter Khabar


आश्विन ५, अमेरिका र युरोप पठाउने भन्दै कम्तीमा ४३ जनासँग ३ करोड ८२ लाख रुपैयाँ ठगीको आरोप लागेका विस एचआर सेलुसनका सञ्चालक र कर्मचारी फरार भएका छन् । कम्पनीले एक जनाबाट १० देखि ४० लाख रुपैयाँसम्म लिएको खुलेको छ ।

पीडितमध्येका एक धर्मभक्त मानन्धरले अमेरिका पठाइदिन्छु भनेर आफूसँग १५ लाख रुपैयाँ लिएको बताए । ‘मासिक चार हजार डलर तलब हुन्छ, २० लाख लाग्छ भनेपछि १५ लाख रुपैयाँ दिएँ,’ उनले भने, ‘पैसा बुझाएपछि धेरै समय झुलाउने काम भयो । अहिले त सम्पर्कविहीन छन् ।’

अर्का पीडित दोर्जी शेर्पाले पनि अमेरिका पठाइदिन्छु भन्दै म्यानपावरले ४० लाख ठगी गरेको बताए । ‘अमेरिकाको होटलमा काम लगाइदिने सुनिश्चित गरिदिएका थिए । म एक्लैको ४० लाख रुपैयाँ लिएर पठाइदिएन,’ उनले भने । विस एचआरले सबैभन्दा बढी पोर्चुगल र पोल्यान्ड पठाइदिने भन्दै रकम असुल गरेको छ । अर्का पीडित दिनेशराज बोगटीले पोल्यान्ड जानका लागि ९ लाख ४० हजार बुझाएका थिए । ‘७ सय ८० डलर मासिक तलब पाउने सेक्युरिटी गार्डमा लगाइदिन्छु भनेको थियो,’ उनले भने, ‘रकम बुझाइसकेपछि सञ्चालकले ग्यारेन्टीका लागि ९ लाखको चेक दिएका थिए । न चेक साटियो, न म पोल्यान्ड जान पाएँ ।’ ईश्वर केसीले पोर्चुगलमा होटलमा काम गर्नका लागि १३ लाख ५० हजार रुपैयाँ बुझाएको बताए । तर, अहिले उक्त म्यानपावरका सञ्चालकहरू फरार छन् ।

वैदेशिक रोजगार विभागले ठगी गरी फरार म्यानपावर कम्पनी खारेज गरी सञ्चालकविरुद्ध वैदेशिक रोजगार न्यायाधीकरणमा मुद्दा दायर गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले म्यानपावर कम्पनीको धरौटी बढाउने नीति कार्यान्वयन गरेपछि ठूलो रकम ठगी गरेर सञ्चालक फरार भएको पहिलो घटना हो । सरकारले २०७५ मा धरौटी बढाएको थियो । मन्त्रालयले २ देखि ५ करोडसम्म धरौटी राख्ने नीति ल्याएको थियो । यो म्यानपावर कम्पनीले ५० लाख धरौटी र एक करोड ५० लाख रुपैयाँ बैंक ग्यारेन्टी गरी विभागबाट वैदेशिक रोजगारीमा कामदार पठाउने इजाजत लिएको थियो ।

विभागका निर्देशक कविराज उप्रेतीका अनुसार म्यानपावरका अध्यक्ष तुलसीप्रसाद श्रेष्ठ, महाप्रबन्धक लालबहादुर पुलामी, सञ्चालक अमृत श्रेष्ठ र कर्मचारी रमेश कोइरालाविरुद्ध असोज २ गते मुद्दा दायर भएको हो । उनीहरूमाथि ३ करोड ८२ लाख बिगो, १ करोड ९१ लाख हर्जाना गरी ५ करोड ७३ लाख रुपैयाँ मागदाबी गरिएको खबर कान्तिपुर दैनिकमा छ ।

Top Post Ad

post bottom ads

Ads Bottom