नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले बागमती प्रदेश सभामा बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री तीर्थ लामाको जवाफ माग गरेको छ । शनिबार बसेको प्रदेशसभा बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले भन्नुभयो– ‘मन्त्रीको नाम उल्लेख गरेर सुन तस्करी भएको सुनिन आएको छ । यस विषयमा सरकारले सदनलाई जानकारी गराउनुपर्दछ । त्यसको पुष्टि नहुँदासम्म पदबाट अलग हुनुपर्छ ।’
प्रदेश सभा बैठक शुरु हुनुअघि एमालेले राजीनामा माग्ने सूचना पाएर मन्त्री लामाले विज्ञप्ति प्रकाशित गरी सुन तस्करी प्रकरणमा संलग्नतालाई अस्वीकार गर्नुभएको थियो । तर विज्ञप्तिमा अनुसन्धानका क्रममा भेटिएका तथ्य, प्रमाण र प्रयोग भएका सवारीसाधनका बारेमा केही उल्लेख गरिएको छैन । मुख्य योजनाकार तीर्थ लामाकै कार्यकर्ता एवं तरुण दलको क्षेत्रीय सदस्यसमेत रहेका प्रदेश र प्रतिनिधिसभा निर्वाचन २०७९ मा समानुपातिकतर्फबाट उम्मेदवार रहेका विकास योञ्जन फरार छन् । प्रहरीले योञ्जनको घरमा दुईपटक छापा मारिसकेको छ तर पनि फेला पार्न सकेको छैन । सुनमा लगानी गरेका तीर्थ लामा र भुम्लु गाउँ समितिका सभापतिसमेत रहेका गाउँपालिकाका उपाध्यक्ष दावा लामाको समेत लगानी खुलेको छ । भरिया पक्राउ परेलगत्तै दावा भनिने जितेन्द्रमान तामाङले अनुसन्धान नै प्रभावित हुने गरी सामाजिक सञ्जालमा धम्कीपूर्ण भाषामा स्टाटस राखेका छन् । केही वर्षअघि इन्काउन्टरमा उनको नाम जोडिएपछि केही समय भारत लुकेर नेपाल फर्किएपछि राजनीतिक दलको संरक्षणमा नेता हुँदै जनप्रतिनिधि बनेका थिए ।
काठमाडौं प्रहरी परिसरको टोलीले विशेष सूचनाका आधारमा अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट मलद्वारमा लुकाई ल्याएको सुन बरामद गरेको थियो । प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानमा विकास योञ्जन, तीर्थ लामा र दावा भनिने जितेन्द्रमान तामाङ व्यावसायिक साझेदार देखिएका छन् । प्रहरीले विकास योञ्जनलाई सुन बरामद हुनु केही दिनअघि सुन खरिद गरी ल्याउन दिएको ६ लाखको चेकसहित अन्य कागजात बरामद भएपछि उक्त तथ्य सार्वजनिक भएको हो । करोडौ रुपियाँ लेनदेन भइरहेको बैंकको स्टेटमेन्टबाट देखिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले सुन तस्करी प्रकरणमा प्रयोग भएको मोबाइल फोनको कल डिटेल्स पनि निकालेको छ भने बरादमी सवारी साधन र पक्राउ परेका भरियाहरुको बयानलाई प्रमुख आधार मानेको छ ।
स्रोतका अनुसार गृहमन्त्री बालकृष्ण खाँड, अर्थमन्त्री प्रकाशरण महतसँगको सिधा सम्पर्क र तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवासँगको समेत सिधा सम्पर्कमा कांग्रेस काभ्रेका सभापति लामाले विमानस्थलमा सेटिङ मिलाएर दुई वर्षदेखि विकास योञ्जनमार्फत सुन तस्करी गर्दै आएका थिए । दुबईमा अर्का व्यवसायी नवीन दोङ छन् । उनी पनि सोही पार्टीका सक्रिय कार्यकर्ता हुन् । उनले दुबईमा सुन खरिद गरी विकास योञ्जनमार्फत भरिया लगाएर एयरपोर्टबाट हप्ताको दुई केजी सुन नेपाल ल्याउने गरेका थिए ।
प्रारम्भिक अनुसन्धानले मासिक १० केजी सुन ल्याउने गरेको उक्त समूहले दुई वर्षको अवधिमा २ सय केजीभन्दा धेरै सुन ल्याएर बिक्री गरेको देखाएको छ । लामा र योञ्जन तथा पक्राउ परेका तीन जना भरियाको खातामा प्रारम्भिक अनुसन्धानमा वार्षिक ५० करोडभन्दा धेरै कारोबार हुने गरेको देखाएको छ । नेपाल समाचार पत्र