ग्रहणको मध्य आइतबार बिहान १:५९ बजे हुने छ भने आइतबार बिहान २:३८ बजे ढाक्न छोड्ने छ । बिहान ४:१२ बजे विरल छायाले ढाक्न छोड्ने छ ।
खण्डग्रास चन्द्रग्रहण नेपालका सबै भागबाट देखिने छ । बिपी कोइराला मेमोरियल प्लानिटोरियम, अब्जरभेटरी तथा विज्ञान सङ्ग्रहालयका अनुसार नेपालका साथसाथै युरोप, अफ्रिका र एसियाको पूरै भागबाट तथा अस्ट्रेलिया र उत्तर एवं दक्षिण अमेरिकाका केही भागबाट देखिने छ ।
सङ्ग्रहालयका कार्यकारी निर्देशक डा. सनतकुमार शर्माका अनुसार सघन छायाले ढाक्ने अवधि एक घण्टा १८ मिनेटको र विरल छायाले ढाक्ने अवधि चार घण्टा २६ मिनेट हुने छ ।
उहाँले चन्द्रग्रहणलाई नाङ्गो आँखाले हेर्न सकिने र यसले कुनै नकारात्मक असर नगर्ने बताउनुभयो ।
पृथ्वीले सूर्यलाई र चन्द्रमाले पृथ्वीलाई घुम्ने क्रममा सूर्य, पृथ्वी तथा चन्द्रमा एउटै सरल रेखामा रहँदा पृथ्वी बिचमा परेका बेला पृथ्वीको छाया चन्द्रमामा परी पृथ्वीबाट चन्द्रग्रहण देखिन्छ ।