Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पर्वतमा ट्याङ्की निर्माण भएको ४ वर्ष बितिसक्दा पनि पानी नखस्दा खानेपानीको हाहाकार - Brighter khabar

सांकेतिक तस्विर


कात्तिक १० गते । पर्वतको जुकेपानी गाउँका दलितले खानेपानी घर घरमा पुराउने भनी पक्की पानी ट्याङ्की बनाएको अहिले ४ वर्ष हुन थालिसकेको छ । जनश्रम दानमा ट्याङ्की बनाएको ४ वर्ष बितिसक्दा पनि पाइप नहुँदा ट्यांङकीमा पानी खसाल्न पाएका छैनन् । गाउँको दलितवस्तीमा खानेपानीको हाहाकार छ । 


ट्याङ्की बनाउनका लागि वडाले तीन लाख लगानीले मात्र नभई दलितवस्तीका बुढाबुढी देखि केटाकेटीसम्मले जनश्रमदान पनि गरेका थिए । सबैको आशा थियो कि अव खानेपानी लिन जानका लागि घण्टौँ उकाली ओराली गर्नु पर्ने छैन । करिब दुई किलोमिटर टाढा रहेको मुहानबाट मानववस्तीमा पानी ल्याउन पाइपको खाँचो परेको छ । पाइप नभएको कारण नै गाउँमा खानेपानी ल्याउन नसकिएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष सोम बहादुर विश्वकर्माले गुनासो गर्नुभयो । 


स्थानीय युवा भीम बहादुर विश्वकर्मा भन्नुहुन्छ–“हामीलाई एक घर एक धारा भनी चुनावमा भोट माग्नु भयो । भोट दिई रामचन्द्र जोशी मेयर हुनुभयो तर कहिले पनि यो दलित बस्तीमा फर्केर आई हाम्रो समस्या सुन्न पनि चाहनु हुँदैन ।” पर्वतको कुश्मानगरपालिका वडा १ को जुकेपानी भन्ने जलजला गाउँपालिकाको सीमानमा पर्ने दुर्गम स्थल हो । 


जुकेपानीमा रहेका दलीतवस्तीकी वृद्ध महिला सरस्वती विश्वकर्माले खानेपानीको लागि घण्टौँ हिँड्नु परेको दुखेसो पोख्दै भन्नुभयो–“डोको बोकेर पानी लिन टाढा आर्य खाल्टामा जानुपर्छ । त्यहाँ पनि कमेरे सहितको माटो तर्काएर पानी डुबाउँदा गाग्री भर्न पनि आधा घण्टा लाग्छ ।” जुकेपानीको दलितवस्तीको १२ घरमा करिब ७० जना दलित सदस्यको बसोबास छ । आर्थिक रूपमा विपन्न दलित बस्तीका अधिकांश सदस्यहरू किसान र ज्याला मजदुरी गरी बाँचेका छन् । आर्थिक रूपमा विपन्न किसान र मजदुरहरूको मागको सुनुवाइ कतैबाट भएको छैन । 


कुश्मानगरपालिका वडा १ का अध्यक्ष खगराज पौडेलले दलितवस्तीमा खानेपानीको समस्या टड्कारो रहेको उल्लेख गर्दै भन्नुभयो–“भूकम्प जानु पहिले दलितवस्ती भन्दा केही पर रहेको पानीको मुहानबाट सानो भए पनि पानी आउने गर्दथ्यो । अहिले केही  वर्षदेखि पानीको मूल खलबलिएर सुक्न जाँदा वर्षा मास सानो आउँछ । हिउँद लागेसँगै सुक्दा पानीको अभाव छ । अलि टाढाबाट पानी ल्याई जम्मा गर्न भनी ट्याङ्की बनाएको छ तर पाइप नहुँदा समस्या भएको छ ।” वडा अध्यक्ष पौडेलका अनुसार करिब २ किमी पाइप र एक थान पानी तान्ने मोटर हुने हो भने दलितवस्तीमा खानेपानीको व्यवस्था गर्न सकिन्छ । प्रनिश गिरीले गोरखापत्रमा समचार लेख्नुभएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom