Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

एकै घरका तीनजनाको तीन चितामा दाहसंस्कार - Brighter Khabar


मङ्सिर ८ गते । जिल्लाको धनकुटा नगरपालिका–१ स्थित निगालेमा डेरागरी बस्दै आएका एकै परिवारका तीनजनाको शव आज तीन चिता बनाई दाहसंस्कार गरिएको छ । 


स्थानीय ३५ वर्षीय टिकाराम गुरुङ, उहाँकी श्रीमती ३६ वर्षीया भीमा गुरुङ्ग र १० वर्षीय छोरा आयुष गुरूङ्गको शव पोष्टमार्टम पछि आफन्तले बुझी दाहसंस्कार गरेका हुन् । 


टिकाराम झुण्डिएको अवस्थामा मृत भेटिनु भएको थियो भने उहाँकी श्रीमती भीमा र छोरा आयुष पनि घरभित्रै मृत भेटिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले बताउनु भयो ।


उहाँका अनुसार जिल्ला अस्पतालमा पोष्टमार्टम पछि आफन्तको जिम्मा लगाइएकाे हो । मानिकलाल श्रेष्ठको घरमा भाडामा बस्दै आउनु भएका  टिकारामले श्रीमती र छोराको हत्या गरी नजिकैको छिमेकीमा लगेर आफ्नी ६ वर्षीया छोरीलाई छोडी आफू आएर झुण्डी आत्महत्या गरेको स्थानीयको भनाइ छ । 


संखुवासभाको चैनपुरस्थित नुनढाकी स्थायी घर भएका गुरुङ परिवार करिब १२ वर्ष अघिदेखि निगालेका श्रेष्ठको खाली घरमा बस्दै आउनु भएको थियो । 


ज्याला मजदुरी गर्दै आफ्नो गुजारा चलाउँदै आउनु भएका टिकारामको परिवारमा रहेका चारजना मध्ये ६ वर्षीय छोरी आशिकाबाहेक सबैजना मृत भेटिएका थिए । छोरी आशिकाले घरमा बुवाआमाबीच झगडा भएको भन्दै छिमेकीलाई सुनाएपछि घटना थाहा भएको स्थानीय गौतम थापाले जानकारी दिनुभयो । 


बुधवार राति करिब १ बजे घटना भएको अनुमान गरिएको छ । घटनाको प्रकृति हेर्दा झगडाका क्रममा टिकारामले श्रीमती र छोराको हत्या गरी आफूले झुन्डिएर आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुमान छ । 


सधैँभरी रक्सी पिएर घरमा आएर झगडा गर्ने गुरूङ्ग परिवारको झगडाको कारण भने खुल्न सकेको छैन । यसअघि पनि पटक पटक यस घरमा र घर परिसरमा मृत्युका घट्ना भइरहेकाले प्रशासनले आगामी दिनमा यस घरलाई बास बस्न बन्देज गरी यस घरको निगरानी गरिदिन स्थानीयको माग छ ।

Top Post Ad

post bottom ads

Ads Bottom