कात्तिक २२ गते , पोखरा । बुधवार पौने १ बजे तिरको समयमा पोखरा महानगरपालिका ८ सभागृह चोकमा रहेको नबिल बैकको एटिएम मेसिन फोड्दै गरेको अवस्थामा एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
नबिल बैकको एटिएम मेशिनमा रहेको पैसा चोरी गर्ने उद्देश्यले फलामको रडले मेसिनमा रहेको ढोकाको लक फोडेर भित्र पसी मेशिन समेत तोडफोड गर्दै गरेको अवस्थामा २० वर्षीय बबि ठाकुरलाई प्रहरीले पक्राउ गरेको हो ।
भारत बिहार प्रदेश मोतीहारी जिल्ला फेनरा पञ्चायत ग्राम ढाका बजार घर भएका ठाकुरले कास्की पोखरा महानगरपालिका वडा न.९ नयाँबजारमा बबि ठाकुर सैलुन पसल सञ्चालन गर्दै आएका थिए ।
वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले उनका साथबाट मेशिन फोर्न प्रयोग गरेको फलामको रड थान-१, पेचकस थान-१, कपाल काट्ने कैँची भाँचिएको अवस्थाको १थान र ढुङ्गा १ थान समेत बरामद गरिएको जनाएको छ ।
निजलाई नियन्त्रणमा लिई चोरी उद्योग मुद्दामा अनुसन्धान प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।