Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पार्टीकारितामा कलम सुताएर पत्रकार बन्न सकिँदैन - Brighter Khabar

पोखरा, २५ कात्तिक ।  शनिवार पोखरामा सम्पन्न एक कार्यक्रमका वक्ताले पत्रकारिता क्षेत्रलाई मजबुत बनाउन पत्रकार स्वयम्ले पार्टीकारितामा कलम सुताउन नहुने धारणा राखेका छन् ।

स्वतन्त्र पत्रकार सङ्घ कास्कीको ११ औँ वार्षिक साधारण सभाका वक्ताले उक्त कुरामा जोड दिएका हुन् । 

सभाको उद्घाटन गर्दै सङ्घका ज्येष्ठ पत्रकार उदयबहादुर अमात्यले स्वतन्त्र पत्रकारिता समुन्द्र भएकाले समुन्द्रसम्मको यात्रामा आउने उल्झनमा डगमगाउन नहुने बताए ।

सङ्घका संस्थापक केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले आफ्नो कलम पार्टीकारितामा सुताएर पत्रकार बन्न खोज्नेहरू स्वतन्त्र पत्रकारिताको तपस्यामा नअटाउने धारणा राखे ।

सङ्घकी केन्द्रीय पार्षद् शान्ति राणाले, व्यापकता सत्य भए तापनि त्यसैमा शक्ति हुन्छ भन्नु भ्रम मात्र भएकाले सबै त्यो भ्रमबाट मुक्त भएर बाँच्नुपर्नेमा जोड दिइन् । उनले कृष्ण जन्माष्टमीको दृष्टान्त दिँदै थपिन्, ‘हरेक परिवार सन्तानलाई श्रीकृष्ण जस्तो पहिरनमा सजाउन लालायित हुने तर यथार्थमा पुग्ने धैर्यता नभए जस्तै वर्तमानको पत्रकारिता देखिनु विडम्बना बनेको छ ।’ 

सङ्घका केन्द्रीय पार्षद् विश्वलाल श्रेष्ठले समग्र विकास र समृद्धिका लागि निष्पक्ष पत्रकारिता भनेकै स्वतन्त्र पत्रकारिता रहेको औँल्याए ।

साहित्यकार मदन भण्डारीले एउटा परिवारका सदस्य पारिवारिक स्वार्थका लागि फरक–फरक पार्टी सदस्यता लिएर हिँड्दै गरेको समाजमा स्वतन्त्र पत्रकारिता उकालोको यात्रा जस्तो देखिए पनि त्यसको फल सुन्दर हुने धारणा राखे ।

सङ्घको आर्थिक तथा साङ्गठनिक प्रगति विवरण प्रस्तुत गर्दै कास्की अध्यक्ष असफल गौतमले जस्तो विषम परिस्थिति आइलागे पनि स्वतन्त्र पत्रकारिताको मर्म मर्न नदिन कलम कहिल्यै नडगमगाउने बताए ।

सोही समारोहबिच केन्द्रीय समितिकातर्फद्वारा कास्की अध्यक्ष असफल गौतम देशभरका सयौँ पत्रकार संलग्न राष्ट्रिय लेख प्रतियोगितामा प्रथम भई एक लाख राशिसहित र साधारण सदस्य रूपनारायण ढकाल उत्कृष्ट १५ मा पर्न सफल भई १० हजार राशिसहित पुरस्कृत भएकोमा सम्मानसमेत गरिएको थियो ।

सभामा सङ्घका केन्द्रीय महिला उपाध्यक्ष तिर्सना लक्ष्मी गुरुङ, उप–महासचिव कल्याण पन्त, केन्द्रीय पार्षद् लेखबहादुर थापा, तिलक थापा, सङ्घका कास्की सह–सचिव डिल्लीराम काफ्ले, सदस्य रामबहादुर बानियाँ, सागर कार्की, गणेश बज्र लामा, रजनी तामाङ स्याङ्बोलगायतले स्वतन्त्र पत्रकारितालाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने बारे धारणा राखेका थिए ।

Top Post Ad

post bottom ads

Ads Bottom