Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

सरकारी छाप तथा दस्तखत किर्ते गरेको आरोपमा पाँच जना पक्राउ - Brighter Khabar

 

मङ्सिर ११ गते । मोरङको रतुवामाई नगरपालिकामा सरकारी छाप तथा दस्तखत किर्ते गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् । जग्गा कारोबारीमार्फत किनबेच भएको जग्गाको सिफारिस किर्ते देखिएपछि उनीहरूलाई शनिबार प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको हो ।


स्थानीयले भने किर्तेमा जग्गाधनीको संलग्नता नरहेको दाबी गरेका छन् । प्रहरी नियन्त्रणमा रहेका पाँचै जना ६० वर्षमाथिका खेतीकिसानी गर्ने नागरिक हुन् । सात जनाको जग्गा बिक्रीका लागि दलालमार्फत प्रक्रिया अगाडि बढाइएको थियो । पक्राउ पर्नेमा रतुवामाई–४ का ६५ वर्षीय चेतनलाल राजवंशी, ६२ वर्षीया झरियादेवी राजवंशी, ६३ वर्षीय विष्णु राजवंशी, पैखनलाल राजवंशी र ६४ वर्षीय कन्हारु राजवंशी छन् । बाँकी दुई जना गुञ्जीलाल र सनिता राजवंशी फरार सूचीमा रहेका छन् । उनीहरूविरुद्ध रतुवामाई नगरपालिका–३ का वडाध्यक्ष देवीलाल ताजपुरियाले सरकारी छाप दस्तखत किर्तेसम्बन्धी कसुरमा प्रहरीमा जाहेरी दिनुभएको थियो । 


प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको भए पनि स्थानीयले उनीहरू निर्दोष रहेको दाबी गरेका हुन् । सात जनाको नाममा रहेको चार बिघा सात कट्ठा जग्गा जग्गा कारोबारीमार्फत ८७ लाख रुपियाँमा किनबेचका लागि बैनाबट्टा गर्ने तयारी भइरहेको थियो । गत कात्तिक २ गते बैना गर्न उनीहरूलाई लेखनदास भए ठाउँमा बोलाइएको थियो । इटहरीका कृष्ण थापाले लक्ष्मी कार्की, निर्मला थापासमेतको नाममा जग्गा पास गराउने बिचौलियाको काम गरेको बुझिएको छ । त्यसमा लेखनदासमार्फत बैना गराउने कागज बनाएको भन्दै रजिस्ट्रेसनमा हस्ताक्षर गराएको खुलेको छ ।


मालपोतमा जग्गा पास गराउनुअगाडि वडामार्फत बैनाबट्टाको कागज गराउनुपर्ने हुन्छ । त्यसपछि वडाबाट घरबाटो सिफारिस लिनु पर्दछ । घरबाटो सिफारिस लिँदा कर बुझाउनुपर्ने हुन्छ । जग्गा किनबेचमा कर छल्ने हुँदा नक्कली सिफारिस जग्गा दलालहरूले नै बनाएको स्थानीयको दाबी छ ।


वडाध्यक्ष ताजपुरियाले जग्गा बिक्री गर्नेहरूको नाममा घरबाटो सिफारिस लिनुपर्ने भएकाले तत्काल कागजातका आधारमा उजुरी दिएको बताउनुभयो । “नक्कली घरबाटो सिफारिस लिएर मालपोत पुगेका जग्गा कारोबारीको कागजात शङ्कास्पद देखिएपछि वडाध्यक्षको नाताले मलाई फोन आयो,” ताजपुरियाले भन्नुभयो, “त्यसपछि प्रहरीमा खबर भएको हो । उनीहरूविरुद्ध कात्तिक १६ गते पक्राउ पुर्जी लिएर मङ्सिर ९ गते पक्राउ गरिएको मोरङ प्रहरीका प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले जानकारी दिनुभयो । 


स्थानीयवासी सनम राजवंशीले जग्गा प्रकरणमा प्रहरीले कारोबारीको जालोबारे अनुसन्धान नै नगरी निर्दोष नागरिकलाई पक्राउ गरेको दाबी गर्नुभयो । उहाँका अनुसार बैनाका लागि बोलाएर रजिस्ट्रेसन पास गराएर जग्गा हत्याउने योजना बनेको विषय ओझेलमा परेको छ । पक्राउ पर्नेहरू सबै खेतीकिसानी गरेर गुजारा चलाउँदै आएका व्यक्ति रहेका छन् । 


झुक्याएर पास गराउने योजनामा नक्कली कागजात कारोबारीले तयार पारेको जिकिर गाउँलेले गरेका छन् ।


वडामा घरबाटो सिफारिस लिँदा करबापत बुझाएको रकम सफ्टवेयरमा इन्ट्री भएको प्रतिलिपिसमेत नक्कली रहेको थियो । कर बाँडफाँटका लागि स्थानीय तहमा इन्ट्री भएको डाटा मालपोतमा समेत स्वतः देखिने हुँदा नक्कली घरबाटो सिफारिस भएको देखिएको थियो ।


प्रहरीले घटनामा तत्काल सरकारी छाप दस्तखत किर्तेसम्बन्धी कसुरमा पक्राउ परेका पाँच र फरार रहेका दुई जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । प्रहरी नायब उपरीक्षक रञ्जन दाहालले पक्राउ परेकाहरूको बयानका आधारमा यसको अनुसन्धान थप कोणबाट हुने बताउनुभयो । पक्राउ परेकाहरू ६० वर्षमाथिका रहेका कारण उनीहरूले घरबाटो सिफारिसलगायतका कामसमेत जग्गा खरिद गराउने जग्गा कारोबारीलाई जिम्मा दिएको दाबी स्थानीयको छ । 

जग्गा कारोबारी कृष्ण थापाले जग्गाधनीका नाममा लेखनदासमार्फत नक्कली घरबाटो सिफारिस बनाएर नक्कली चलानी नम्बर हालेको स्थानीयले बताएका छन् ।   

Top Post Ad

post bottom ads

Ads Bottom