ज्यान गुमाउनेमा पुरुष आठ सय ५४, महिला दुई सय नौ, बालक ५० र बालिका २४ रहेका प्रहरी केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा १६ हजार तीन सय ३५ जना घाइते भएका छन् ।
तीन हजार दुई सय १३ गम्भीर र १३ हजार एक सय २२ जना सामान्य घाइते भएका ढकालले बताउनुभयो । “डिजिटल प्रविधि, सिसिटिभी जडान, ट्राफिक लाइट, मापसे चेकिङलगायतलाई प्रहरीले प्राथमिकता दिएको छ । योसँगै प्रहरीले दुर्घटना कम हुने विश्वास लिएको छ”, उहाँले भन्नुभयो ।
प्रवक्ता ढकालका अनुसार सो अवधिमा देशभर १२ हजार आठ सय ५६ वटा सवारी दुर्घटना भएका छन् । काठमाडौँ उपत्यकामा पाँच हजार आठ सय ६५, कोशी प्रदेशमा एक हजार छ सय ३९, मधेसमा तीन हजार एक सय ९०, बागमतीमा सात सय छ, गण्डकीमा एक सय ९५, लुम्बिनीमा छ सय छ, कर्णालीमा चार सय ९५ र सुदूरपश्चिम प्रदेशमा एक सय ६० सवारी दुर्घटना भएका छन् ।
दुर्घटनामा १० हजार तीन सय ५३ वटा सवारी साधनमा क्षति पुगेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरीको तथ्याङ्क हेर्दा सबैभन्दा बढी दुर्घटना हुने सवारी साधनमा मोटरसाइकल रहेको छ ।
तीव्र गति, यात्रुले बाटो काट्दा, मापसे र लापसे, ट्राफिक नियम उल्लङ्घन, सवारी चालक अनुमतिपत्र प्राप्त नहुनु, ओभरटेक, ओभरलोड, ब्रेक फेल, मोबाइल फोनको प्रयोग, यान्त्रिक गडबडी, झुण्डिएर यात्रा गर्नु, जीर्ण तथा कच्ची सडक, उकालो ओरालो, हुस्सुकुहिरो, बाढीपहिरो र चौपायलगायत कारणले दुर्घटना हुने गरेको प्रवक्ता ढकालको भनाइ थियो ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले दुर्घटना बढी हुने स्थानमा निरन्तर चेकजाँच गर्ने, सचेतनामूलक चिह्न राख्नेलगायत काम गरिरहेको बताउनुभयो । उपत्यकाका साँघुरा सडकमा तीव्र गतिमा सवारी साधन चलाउँदा बढी दुर्घटना हुने गरेको उहाँको भनाइ थियो ।