Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

कार दुर्घटनामा मृत्यु भएका तीनै जनाको पहिचान खुल्यो - Brighter khabar

तस्विर : गोरखापत्र 


जेठ १७ गते । भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्ड अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका ६ स्थित जुरिखेतमा कार दुर्घटनामा परी मृत्यु हुने तीनै जनाको पहिचान खुलेको छ । कार दुर्घटनामा परी एक बालिकासहित तीन जनाको मृत्यु र दुई जना घाइते भएका हुन् । 


जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार मृत्यु हुनेमा मकवानपुरको मनहरी गाउँपालिका ८ स्थित बेलुवाका २५ वर्षीय अर्जुन नेपाली र निजका तीन महिने छोरी अजिता भित्रीकोटी छन् । नेपालीलाई उपचारका लागि बुधबार राति १९ः४० बजे हेटौँडा अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषित गरेका थिए । 


यस्तै दुर्घटनामा परी मृत्यु भएका चालकको बिहीबार सनाखत भएको छ । काठमाडौं जिल्ला चन्द्रागिरि नगरपालिका १ स्थित दहचोकका वर्ष ६० का कार चालक सानु परियार रहेको र निजको छोरा अनिल परियारले सनाखत गरेको प्रहरी नायब उपरीक्षक भण्डारीले बताउनुभयो । 


काठमाडौंबाट हेटौँडातर्फ आउँदै गरेको बा ६ च ९३७९ नं.को कार बुधबार दिउँसो १६ः३० बजेको समयमा आफैं अनियन्त्रित भई दुर्घटना हुँदा एक बालिकासहित तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा परी घाइते भएकी मनहरी गाउँपालिका ८ स्थित बेलुवाकी २३ वर्षीया सरिता परियार र चितवन जिल्ला राप्ती नगरपालिका १ स्थित लोथरकी ३५ वर्षीया सानोकान्छी तामाङ मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ । 


घाइते दुवै जनाको शरीरको विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ । सडकबाट करिब २५० मिटर तल खोल्सामा खस्न गई दुर्घटना भएको सूचनापछि इलाका प्रहरी कार्यालय, भीमफेदीबाट गएको प्रहरी टोलीले कारमा सवार दुई जना महिला, दुई जना पुरुष र एक बालिकालाई उद्धार गरी उपचारका लागि हेटौँडा पठाएको थियो ।

Top Post Ad

post bottom ads

Ads Bottom