Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

कास्कीमा हिरासतमा रहेका थुनुवाहरूको निःशुल्क स्वास्थ्य परीक्षण - Brighter Khabar


पोखरा , वैशाख २९ गते ।  जिल्ला प्रहरी कार्यालय कास्कीको आयोजनामा थुनुवाहरूको नि:शुल्क स्वास्थ्य परीक्षण तथा औषधी वितरण कार्यक्रम सम्पन्न  भएको छ ।

नेपाल औषधी व्यवसायी सङ्घ कास्की र पद्म नर्सिङ होम अस्पताल नदीपुर- ३ को सहयोगमा शनिवार जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासत कक्षमा अनुसन्धानको क्रममा रहेका थुनुवाहरूको नि:शुल्क स्वास्थ्य परीक्षण तथा औषधी वितरण कार्यक्रम सम्पन्न भएको हो  ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक वसन्त कुमार शर्माको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा  नेपाल औषधी व्यवसायी सङ्घ कास्की जिल्लाका अध्यक्ष धिरज गौतम, पद्म नर्सिङ होमका सञ्चालक एवं सुपरभाइजर यादव गौतम, वरिष्ठ फिजिसियन डा. सुदर्शन सुवेदी, मेडिकल अफिसर डा. विज्ञान कोइराला, नर्स प्रेम लामिछाने लगायतको मेडिकल टोलीको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा  कार्यालयको हिरासतमा रहेको महिला ८ जना र पुरुष ५० जना गरी ५८ जनाको स्वास्थ्य परीक्षण गरी  उचित परामर्श, औषधी वितरण गर्नुका साथै हिरासतमा रहेका महिला र महिला प्रहरी कर्मचारीहरूलाई नि:शुल्क सेनेटरी प्याड समेत  हस्तान्तरण  गरिएको थियो ।

नेपाल औषधी व्यवसायी सङ्घ कास्की जिल्लाका अध्यक्ष धिरज गौतमले कार्यक्रममा आफ्ना भनाइ राख्दै  जुनसुकै कारण वा अनुसन्धानको क्रममा प्रहरी हिरासतमा आएका व्यक्तिहरू आफ्नो व्यक्तिगत स्वास्थ्य प्रति सचेत रहुन् भन्ने उद्देश्यले नि:शुल्क रूपमा स्वास्थ्य परीक्षण,  परामर्श र औषधी समेत दिइएको बताए ।

त्यस्तै  प्रहरी नायव उपरीक्षक  वसन्त कुमार शर्माले प्रहरी हिरासतमा धेरै जना एकै ठाउँमा रहँदा बस्दा विभिन्न किसिमका सरुवा रोग, अन्य व्यक्तिगत रोगको सिकार हुन सक्ने बताउँदै त्यसमा सचेत रहन आग्रह गरेका थिए ।

Top Post Ad

post bottom ads

Ads Bottom