Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

श्रीमानको हत्यारा महिनौँ सम्म पनि पत्ता नलाग्दा डर र त्रासमा बाँचेकी सविता - Brighter khabar

तस्विर स्रोत : गोरखापत्र 


जेठ २ गते । जानकी गाउँपालिका वडा नं. ३ इन्द्रपुर बाँकेकी ३१ वर्षीया सविता राजवंशीको श्रीमान् सन्तोष कठरियालाई गत फागुन २३ गते राती एक लुटेराको समूह घरमा पसेर लुटपाट गरी आक्रमण गरेर हत्या गरे ।


सविताको श्रीमान् सन्तोषलाई लुटेराको समूहले हत्या गरेको पनि दुई महिनाभन्दा बढी भयाे । तर हत्यारा भने अझैसम्म पत्ता लाग्न सकेकाे छैन । सविता भन्नुहुन्छ, “यतिका समयसम्म पनि श्रीमानको हत्यारा पत्ता नलाग्दा डरै डर र त्रासै त्रासमा बाँचेकी छु ।”


६ जनाभन्दा बढीको लुटेराको समूहले राती साढे एघार बजेतिरको समयमा घरको ढोका फोडी भित्र पसेर पहिला सविताको कानमा लगाएको सुनको जुली र नाकमा लगाएको फुली लगे । त्यसपछि दराजको चाबी मागेर दराज खोली दराजमा भएको ७३ हजार रुपियाँ नगद लगेपछि सन्तोष र सवितालाई काठले आक्रमण गरे ।


पेस्तोलसहित आएका लुटेराको समूहले काठले टाउकोमा प्रहार गरेपछि आफू एकातिर पल्टिएको र काठकै प्रहारबाट गम्भीर घाइते हुनुभएका सन्तोषलाई स्थानीय र प्रहरीको सहयोगमा राती नै उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज पुर्याइयो तर सन्तोषको साढे एक बजेतिर उपचारका क्रममा निधन भएको सविताले बताउनुभयो । उनीहरूसँग आफूले पेस्तोल देखे पनि पेस्तोल भने प्रयोग नगरेको उहाँको भनाइ छ ।


सविताले गत चैत ५ गते शान्ति सुरक्षा कायम गरिपाउँ भनेर जिल्ला प्रहरी कार्यालय बाँकेमा निवेदन पेस गरेको बताउनुहुन्छ । “मैले श्रीमानको हत्यापछि चैत ५ गते शान्ति सुरक्षा कायम गरिपाउँ भनेर जिल्ला प्रहरीमा निवेदन पेश गरेँ, अहिले कहिलेकाहीँ बिहान र साँझको समयमा प्रहरीहरू मेरो घरतिर गस्तीमा जाने गर्नुभएको सुनेकी छु ।”


सविताले लुटेराले श्रीमानको हत्या गरेपछि त्यो घरमा आफू जान नसकेको बताउनुभयो । घटना भएको केही दिनपछि फेरि त्यही घरमा अर्को चोरीको घटना भएको र त्यसपछि त झनै जान डर लाग्ने गरेको उहाँको भनाइ छ । 


“श्रीमानको हत्यापछि डरका कारण म त्यहाँ जान सकिनँ, बाहिरै डेरा लिएर बसेँ, जान त मन लाग्छ तर डर लाग्छ, त्यहाँ सुरक्षित महसुस हुँदैन ।” उहाँले भन्नुभयो, “घटना भएको केही दिनपछि म एक दिन घर पुगेँ, घर पुग्दा घरको ढोका फोडेर भित्र रहेको चामल, चिनी, तेल, जाडोमा लगाउने कपडासहित सबै सामान चोरले लगेछ, त्यसपछि त झनै त्यहाँ जानै डर लागेर आउँछ ।”


अहिले आफू नेपालगन्जमा छोरासहित डेरा गरेर बसिरहेको उहाँले बताउनुभयो । “अहिले नेपालगन्जमा डेरा खोजेर बसेकी छु, नयाँ कोही मान्छे हिँडडुल गरेको देख्यो भने डर लाग्छ, काखमा रहेको दुधे बालकलाई मार्ने हुन् कि, मलाई मार्ने हुन् कि भनेर मन झसङ्ग झसङ्ग हुन्छ ।” उहाँले भन्नुभयो, “श्रीमानको हत्यारा अझैसम्म पनि पक्राउ नपर्दा अझै ढुक्क हुन सकेकी छैन, उनीहरू फेरि आएर हामीलाई मार्ने हुन् कि भनेर सधैँ त्रास र डर लाग्छ ।”


सविताको काखमा अहिले दुई वर्षीय एउटा छोरा छन् । नोकरी पेसा व्यवसाय केही पनि छैन । अब दैनिकी कसरी गुजारा गर्ने भनेर उहाँले गुनासो गर्नुभयो । “श्रीमानले पहिला जसोतसो गरेर जागिर गरेर हाम्रो दैनिक गुजारा चलाइरहनुभएको थियो, कमाएर घर ल्याई खुवाउने मान्छे नभएपछि अब कसरी जीवन चलाउने ?” उहाँले भन्नुभयो, “यो दुधे बालकलाई कसरी खुवाउने, ठुलो हुँदैछ कसरी पढाउने, मैले के गरी खाने, केही पेसा जागिर छैन, कमाउने मान्छे नै नभएपछि कसरी  बाँच्ने ।”


जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी एवम् प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले घटनाका बारेमा सूक्ष्म अनुसन्धान भइरहेको जानकारी दिनुभयो । “उक्त समयमा सोही क्षेत्रमा लगातार एउटै प्रकृतिका केही घटनाहरू भए, जानकी ४ मा गत चैत २६ गते राती बन्दुक देखाएर भएको लुटपाटको घटनामा संलग्न दुई जना भारतीय नागरिकलाई पक्राउ गरिसकेका छौँ ।” उहाँले भन्नुभयो । गोरखापत्रमा गजेन्द्र गुरुङले समाचार लेख्नुभएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom