Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पोखरामा चोरीको किल्ला गाडेका दुई युवक करोडौँको सम्पत्ति सहित पक्राउ - Brighter Khabar


जेठ २८ गते , पोखरा ।   १ करोड भन्दा बढी मूल्यका सामानहरू चोरी गर्ने २ जनालाई प्रहरीले पोखराबाट  पक्राउ गरेको छ । 

पोखरा महानगरपालिका वडा नं. १७ घारिपाटन स्थित पोखरा हाउजिङ नजिकै लक्ष्मी कान्त शर्मा र सोही घरमा डेरा गरी बस्ने कृष्णजी पौडेल समेतको घर कोठाको मूल ढोका तथा अन्य कोठाहरूको ढोका समेत फोडी कोठा भित्र रहेका विभिन्न किसिमका सुनका गरगहना ४२ तोला, मोबाइल, ल्यापटप, क्यामेरा तथा अन्य सामानहरू र नगद रु.३,८०,०००  समेत गरी १ करोड भन्दा बढीका सरसामानहरू चोरी गरी फरार रहेका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

चोरीमा संलग्न रहेका पोखरा महानगरपालिका वडा नं.२२ घर भई हाल वडा नं. १३ मिया पाटन बस्ने २१ वर्षीय  नवीन नेपाली र गोरखा स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नं. ०४ गैह्रा पाटन बस्ने करिब  २९ वर्षीय  सुवास थापा मगरलाई प्रहरीले पक्राउ गरेको हो ।

चोरी गरी फरार भएको भन्ने सूचनाको आधारमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदाम समेतबाट विशेष अनुसन्धान टोली खटिई विभिन्न प्राविधिक विश्लेषण तथा सिसिटिभी  फुटेजका आधारमा अनुसन्धान गर्दै जाँदा उनीहरू पक्राउ परेका हुन् ।

उनीहरूलाई कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका मुद्दामा  ७ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको छ ।

निजहरूको घर कोटाबाट सुनका विभिन्न गरगहना (सुन र लाहा सहितको तौल जम्मा २४ तोला ८४ लाल),  विभिन्न कम्पनीका मोबाइल- २२ थान,  विभिन्न कम्पनीका क्यामरा - ९ थान, विभिन्न कम्पनीका ल्यापटप- १५ थान, टी.भी.- २ थान,  विभिन्न किसिमका (चरेस, तामा तथा चाँदीका) भाँडा वर्तन- ४६ थान,  कफी मेसिन- २ थान, नगद रकम रु.११,५६८, विभिन्न कम्पनीका घडी - ११ थान, सक्कल नागरिकता १ थान र सक्कली राहदानी १ थान, ड्रोन क्यामरा – २ थान, रेडियो सेट वाकीटकी – २ थान र ऐ.को चार्जर २ थान , चोरीमा प्रयोग हुने बरामद भएका औजारहरू – फलामको रड ३ थान, पेन्चिस २ थान, हेक्सा ब्लेड १ थान, पिलास २ थान, तार काट्ने कटर १ थान, फलामको कुटो १ थान लगायतका सामान बरामद भएको कास्की प्रहरीले जनाएको छ  ।

उनीहरू साँझको समयमा करिब २ देखि ३ घण्टा त्यस्ता घरहरू निरन्तर अवलोकन गरी निगरानी गर्ने त्यसपछि कुनै पनि बत्ती नबलेपछि उक्त घरहरूमा चोरी गर्ने ।  प्रायजसो त्यस्ता घरहरूको व्यक्ति जो विभिन्न कार्यालयमा काम गरी फर्की सकेपछि केही समय बाहिर मनोरञ्जन गर्न निस्किने बित्तिकै त्यस्ता घरहरूमा चोरी गर्ने ।  दुई जना मध्ये एक जना पहिला चोरी गर्ने स्थानको घर आसपासको एरियामा गई निगरानी गरी सूचना सङ्कलन गर्ने र घरमा मानिस भए/नभएको यकिन गरी अर्को साथीलाई खबर गरी चोरी गर्ने गरेको ब्यहोरा प्रारम्भिक सोधपुछको क्रममा खुलाएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जना अभियुक्तहरू पेसेवर चोर रहेको र निजहरूलाई यस भन्दा अगाडी समेत चोरी मुद्दामा पक्राउ तथा कारबाही भएको  प्रहरीले जनाएको छ ।  सुवास थापा मगरको नाममा मिति २०७५ साल १२ महिना १० गते जिल्ला प्रहरी कार्यालय कास्कीबाट चोरी मुद्दा चलेको समेत प्रहरीले जनाएको छ ।  त्यस्तै  राज कुमार नेपालीको नाममा  २०८० साल  वैशाख १७ गते जिल्ला प्रहरी कार्यालय कास्कीबाट चोरी मुद्दा चलेको समेत प्रहरीको दाबी छ  । निज पटक पटक मुद्दामा करिब ८ वर्ष कारागारमा जेल सजाय भुक्तान गरी पछिल्लो पटक अन्दाजी १० महिना अगाडी जिल्ला कारागार कास्कीबाट छुटेको देखिएको प्रहरीले जनाएको छ  ।

साथै प्रहरीका अनुसार  यस भन्दा अगाडी पोखराका विभिन्न स्थानमा चोरी घटनामा निजहरूको संलग्नता देखिएको छ । २०८१ वैशाख १२ गते जिल्ला कास्की पोखरा म.न.पा.वडा नं.०३ नदीपुर गण्डकी बोडी बिल्डिङ अगाडी रहेको बेथेस्टा ईन्टरनेशनल ल्याङवेज सेन्टर प्रा.ली.बाट १६ थान ल्यापटप, सोनी तथा क्यानन कम्पनीका ल्यापटपहरू चोरी गरेको भेटिएको छ । त्यसै गरी  २०८१ वैशाख १६ गते पोखरा म.न.पा.वडा नं. ०८ जाल्पारोडमा रहेको मनिका शाही गुरुङको बिन्स एन्ड बेरिज क्याफेबाट कफी बनाउने ठुलो मेसिन थान १ र ग्रयाण्डल थान १ चोरी भएकोमा दुवै सामान बरामद भएको प्रहरीले जनाएको छ  ।

त्यसै गरी  २०८१ वैशाख २९ गते  पोखरा म.न.पा.वडा नं.२७ खरानी फाँट स्थित प्रतिभा नेपालीको घर कोठाबाट  ड्रोन क्यामरा थान १, क्यानन कम्पनीको डी एस एल आर  क्यामरा थान १, लेनेभो कम्पनीको ल्यापटप थान १, विभिन्न सुनका गरगहनाहरू चोरी भएकोमा ड्रोन क्यामरा थान १, डी एस एल आर  क्यामरा थान १, ल्यापटप थान १ बरामद भएको छ  ।

साथै  विगत केही समययता चोरी भएका आफ्नो घर पसलमा पीडित तथा निवेदकहरूलाई चोरी भएका कुनै समानहरू वरामदीमा रहेको भएमा उल्लेखित सामानहरू पहिचान गरी कानुन बमोजिम कारवाईमा सहयोग गर्न प्रहरीले  अनुरोध समेत गरेको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom