Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

काठमाडौँ महानगरले ल्याएको निःशुल्क उपचार सेवा यसरी लिन सकिन्छ - Brighter Khabar


काठमाडौँ महानगरपालिकाले अशक्त, गरिब र असहाय बिरामीको निःशुल्क उपचार गर्नका लागि तय गरेको प्रणालीमा ५२ अस्पतालका तीन सय ७४ शय्या सुनिश्चित भएको छ ।


कामपामा रहेका निजी अस्पतालले विपन्न, बेवारिसे र असहाय बिरामीका लागि १० प्रतिशत शय्या अनिवार्य एवं निःशुल्क रूपमा उपलब्ध गराउनुपर्ने प्रावधानअनुसार अस्पतालले उक्त शय्या विपन्न र असायका लागि छुट्याएका हुन् ।


कामपा स्वास्थ्य विभागका जनस्वास्थ्य निरीक्षक धनेन्द्र श्रेष्ठका अनुसार विसं २०८० फागुनबाट सुरु गरिएको उक्त सेवाबाट अहिलेसम्मा ७० बिरामी लाभान्वित भइसकेका छन् । यसरी सेवा लिन आउनेमा काठमाडौँ उपत्यकाको भन्दा पनि उपत्यका बाहिरका नागरिक बढी रहेका उहाँले जानकारी दिनुभयो ।


कानुनी व्यवस्थालाई निजी अस्पतालले अटेर गरेपछि कामपाले निःशुल्क स्वास्थ्य उपचारसम्बन्धी कार्यविधि, २०८० पास गरेर उक्त व्यवस्था कडाइका साथ कार्यान्वयनमा ल्याएको हो ।


कामपाले कुन अस्पतालमा शय्या उपलब्ध छ ? र कुन सेवा प्राप्त गर्न सकिन्छ ? भनेर विस्तृत विवरण अनलाइनबाटै पाउन सकिनेगरी व्यवस्था गरिसकेको छ । निःशुल्क उपचार सेवा लिएकामध्ये केही निको भएर घर फर्किसकेका छन् भने केही उपचाररत रहेको कामपाले जानकारी दिएको छ ।


यसरी सेवा लिनेमा नाक, कान, घाँटी र मिर्गौलाका बिरामी बढी रहेका छन् । त्यस्तै दम, क्षयरोग छाती र आँखासम्बन्धी सेवा लिएका बिरामी रहेको पनि श्रेष्ठले जानकारी दिनुभयो ।


उपचार लिनका लागि समस्या भए वा थप जानकारी आवश्यक परेमा कामपाको स्वास्थ्य विभागमा वा कामपाको हटलाइन नम्बर ११८० मा सम्पर्क गरेर पनि आवश्यक जानकारी लिन सकिने श्रेष्ठले बताउनुभयो ।


यसरी लिन सकिन्छ निशुल्क उपचार सेवा


सरकार-प्रदेश सरकार-स्थानीय सरकारले लक्षित वर्ग हो भनी जारी गरेको कागजात÷परिचयपत्र, त्यस्तै राष्ट्रिय परिचयपत्र÷नेपाली नागरिकता प्रमाणपत्र-जन्मदर्ता प्रमाणपत्र प्रतिलिपि र हालसालै खिचिएको फोटो, रोग पहिचान भएमा सोको कागजपत्र, सम्बन्धित स्थानीय तहको वडाले लक्षित वर्ग हो भनी अनुसूची–४ अनुसारको सर्जमिन गरेको कागज र सम्बन्धित स्थानीय तहको वडा कार्यालयले उपचारको लागि अनुसूची–३ अनुसारको सिफारिस गरेको पत्र आवश्यक पर्ने बताइएको छ ।


बेवारिसे बिरामीको हकमा आकस्मिक कक्षमा आएका बखत उपचार खर्च नभएका गरिब, विपन्न तथा बेवारिसे बिरामीलाई प्रारम्भिक स्वास्थ्योपचार निःशुल्क प्रदान गर्नुपर्नेछ ।

Top Post Ad

post bottom ads

Ads Bottom