महेश देवकोटा ,
मानव सभ्यता सँगै हिजो आजका मानिस हिजो सिकारी युगबाट कृषि हुँदै आजको दिनमा आधुनिक युगमा आई पुगेको छ। हिजो सिकारी युगमा मुख्यतः २ किसिममा मात्रै उद्देश्य थियो एउटा सिकार गर्ने र खाने अर्को जङ्गली जनावरबाट बच्ने, पछि कृषि सँगै मानिसहरू आफ्नो सम्पत्ति सुरक्षार्थ एकै ठाउँमा बस्न थालेको पाइन्छ हुन पनि आफूले लगाएको खेतीपाती छोडेर जान कहाँ सकिन्छ र?
जब मानिसहरू आगो पत्ता लगाए त्यसपछि पकाएर खाने बानीको विकास भयो। क्रमशः मानिसले आधुनिक प्रविधिको प्रयोग द्वारा नयाँ खोज एवम् औद्योगिक विकासको सुरुवादमा आफ्नो सीप खर्च गर्न थाले।
मानिसहरूलाई अहिले सम्म आउनको निम्ति विभिन्न चुनौती नभएका भने पक्कै होइन त्यो बेला आफू कसरी जोगिने र आफ्नो अस्तित्व कसरी जोगाउने भन्ने थियो। मानिस समूहमा बस्न थालेको प्रमुख कारण पनि सायद सुरक्षा नै हुनु पर्छ।
वैज्ञानिक एवम् विज्ञान क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्ने महान् विद्वान चाल्स डार्बिनको एक भनाई महत्त्वपूर्ण छ उनले भनेका छन् कि प्रकृतिले आफै आफूलाई चाहिने जीव वा मानव आफै छनोट गर्छ यसको अर्थ विभिन्न घटना घटने गर्छन् त्यहीबाट छानिँदै आउँदा योग्य ठहरिने बाच्ने गर्दछन्।
हिजो मानिसहरू जङ्गली अवस्थामा रहँदा जङ्गली जनावर बाघ, भालु जस्ता हिंस्रक जनावरको चुनौती थियो, विरोधी समूहको डर एवम् अन्य प्रकृति प्रकोप रोग, महामारीको डर थियो तर अहिले छनोट सिद्धान्तको स्वरूप फेरिएको छ। मानिसहरू सडक दुर्घटनाबाट आफ्नो ज्यान गुमाएका छन्। बाढी पहिरोबाट ज्यान गुमाएका छन्।विभिन्न किसिमको महामारी र रोगबाट आफ्नो ज्यान गुमाउँदै आएका छन् । हिजो जङ्गली ओडारमा बस्दा भन्दा आधुनिक घरमा बस्दैमा प्रकृति छनोट सिद्धान्तमा कमी आएको छैन मात्रै स्वरूप परिवर्तन भएको छ।त्यसैले प्रकृतिलाई न त कसैले रोक्न सक्छ न त छेक्न नै। शान्त स्वरूपमा आफ्नो छनोटलाई दिनप्रति दिन तीव्रता दिएको छ। अतः हामी आजका मानिसहरू प्रकृतिसँग मिल्न सकेमा मात्रै आफ्नो अस्तित्व जोगाउन सकिन्छ।