Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

एसओएस गण्डकीमा नव आगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण - Brighter khabar


साउन ११,  पोखराको रामबजारमा एसओएस हर्मन माइनर स्कुल गण्डकीमा कक्षा ११ का नव आगन्तुक विद्यार्थीहरूको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको प्राङ्गणमा आयोजित एक विशेष समारोहका बिचमा उनीहरूको स्वागतसहितको अभिमुखीकरण गरिएको हो । दीप प्रज्वलनसहित एसओएसका संस्थापक हर्मन माइनरको तस्बिरमा पुष्पार्पण गरी कार्यक्रमको समुद्घाटन गरियो । कक्षा १२ का विद्यार्थीहरूको आयोजनामा सम्पन्न कार्यक्रमको सभापतित्व विद्यालयका प्राचार्य चूडामणि सुवेदीले गरेका थिए । 

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा कक्षा १२ मा अध्ययनरत छात्र रविन अधिकारी र छात्रा निहारिका लम्सालले नव आगन्तुक विद्यार्थीहरूलाई शब्द गुच्छाद्वारा स्वागत गरे । वरिष्ठ गायक रामभक्त जोजिजूको निर्देशनमा एसओएसका विद्यार्थीहरूले वाद्यवादनसहित राष्ट्रिय गान प्रस्तुत गरे । दीपेङ्का बिजुक्छेले नेवारी समुदायमा प्रचलित शास्त्रीय शैलीको ‘कुमारी नृत्य’ प्रस्तुत गरी समारोहमा आकर्षण थपिन् । त्यस्तै गायक जोजिजूले ‘उडेर जून छुन्छु भन्थेँ’ बोलको आफ्नो चर्चित गीत प्रस्तुत गरेर समारोहमा साङ्गीतिक रौनकता थपिदिए । 

विद्यालयका १०+२ संयोजक खगेन्द्रराज बरालले मन्तव्यसहित कक्षा ११ का नव आगन्तुक विद्यार्थीहरूलाई स्वागत गरे । नव आगन्तुक विद्यार्थीहरूलाई अभिमुखीकरण दिँदै संयोजक बरालले आफ्नो भविष्यका सपना साकार पार्ने उद्देश्य लिएर एसओएस गण्डकीमा प्रवेश गरेका विद्यार्थीहरूलाई योजना साकार पार्ने अभियानमा समर्पित भएर अगाडि बढ्न सुझाव दिए । नव आगन्तुक विद्यार्थीहरूलाई प्रमुख अतिथि धनराज आचार्य, एसओएस गण्डकीका परियोजना निर्देशक प्रदीपभक्त आचार्य तथा विद्यालयका प्रधानाध्यापक चूडामणि सुवेदीले अबिर र खादा लगाएर स्वागत गरेका थिए । विशेष अतिथिको आसनबाट बोल्दै एसओएस बालग्राम गण्डकीका परियोजना निर्देशक प्रदीपभक्त आचार्यले एसओएस गण्डकीमा कक्षा ११ का नव आगन्तुक विद्यार्थीहरूको अबको दुई वर्षे शैक्षिक यात्रा उपलब्धिपूर्ण बनोस् भनी कामना गर्दै उनीहरूको उज्ज्वल भविष्यको कामना गरे । 

समारोहमा नव आगन्तुक विद्यार्थीहरूका तर्फबाट स्वागत स्वीकार मन्तव्य राख्दै कक्षा ११ का सचेत सुवेदीले अध्ययन–अध्यापनका क्षेत्रमा एसओएस पोखराकै सर्वोत्कृष्ट शैक्षिक गन्तव्य रहेकामा आफू विश्वस्त रहेको बताए । उनी एसओएस गण्डकीबाटै ४ जिपिए हासिल गर्ने विद्यार्थीसमेत हुन् । त्यस्तै छात्राहरूका तर्फबाट स्मृति लम्सालले स्वागत स्वीकार मन्तव्य राख्दै एसइई दिएर बसेपछि तीन महिनासम्म उच्च शिक्षाका बारेमा जिज्ञासा राख्दा सबैले एसओएस गण्डकीको नाम सिफारिस गरेको र आफ्ना सपनाहरू सुनिश्चित गर्ने शिक्षण संस्थाका रूपमा आफूले एसओएस गण्डकीलाई नै छनोट गरेर बताइन् । उनी पोखराकै डिजिल्यान्ड एकेडेमीबाट ४ जिपिए हासिल गर्ने विद्यार्थी हुन् ।

कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले अनाथ र असहाय बालबालिकाहरूलाई संरक्षण र शिक्षादीक्षा प्रदान गर्दै एसओएस गण्डकीले शैक्षिक क्षेत्रमा पुर्‍याइरहेको योगदानको सराहना गरे । ‘एसओएस गण्डकीले प्राप्त गर्दै आइरहेको सफलतामा संस्थाले कहिल्यै पछाडि फर्केर हेर्न परेको छैन । पोखरामा चार सयभन्दा बढी विद्यालयहरू छन् । म सबै विद्यालयमा पुगेर सम्भव छैन । व्यवसायलाई भन्दा सामाजिक सेवालाई प्राथमिकता दिने एसओएसजस्ता प्रतिष्ठित शिक्षण संस्थामा समय भ्याएसम्म आफू पुगेर मैले साङ्केतिक रूपमा सम्पूर्ण विद्यार्थीहरूलाई महानगरको अभिभावकका हैसियतले शुभेच्छा प्रकट गर्दै आइरहेको छु ।’ समारोहमा विद्यार्थीहरूद्वारा प्रस्तुत प्रतिभाको समेत प्रशंसा गर्दै मेयर आचार्यले भने, ‘एसओएसबाट दीक्षित भएर उच्च शिक्षातर्फ अग्रसर हुने विद्यार्थीहरूले शैक्षिक प्राप्ताङ्कभन्दा पनि जीवनोपयोगी सीप आर्जनलाई प्राथमिकता दिनुपर्दछ । विद्यार्थी भाइबहिनीहरूले विदेशी विश्वविद्यालयका डिग्रीभन्दा आफ्नै विश्वविद्यालयको डिग्री हासिल गरेर मातृभूमिका सेवामा आफूलाई समर्पित गर्नुहोला ।’ 

कार्यक्रममा एसओएस गण्डकीबाट विद्यालयीय शिक्षा पूरा गरेका पूर्वविद्यार्थीद्वय डा. कृष्णराज अधिकारी र डा. दीपक गौतमको पनि सहभागिता रहेको थियो । काठमाडौँको वीर अस्पतालबाट आन्तरिक औषधी विज्ञानमा एमडी गरेका अधिकारी हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत छन् भने चीनको बेइजिङ फरेस्ट्री विश्वविद्यालयबाट वन विज्ञानमा विद्यावारिधि प्राप्त गरेका गौतम हाल पोखराको वन विज्ञान अध्ययन संस्थानमा प्राध्यापन पेसामा सक्रिय छन् । 

पूर्व विद्यार्थीका तर्फबाट अनुभवात्मक मन्तव्य व्यक्त गर्दै डा. कृष्णराज अधिकारीले एसओएस गण्डकीमा अध्ययनरत आफ्नो ब्याचका २६ जना विद्यार्थीहरूमध्ये आज २१ जना विद्यार्थीहरू डाक्टर बनेर बिरामीहरूको सेवामा जुटिरहेका छन् भन्ने खबर सुनाउन पाउँदा मात्रै पनि आफूलाई निकै गौरव बोध हुने बताए । सभाध्यक्षको आसनबाट बोल्दै विद्यालयका प्रधानाध्यापक चूडामणि सुवेदीले एसओएस गण्डकीलाई विश्वास गरेर कक्षा ११ मा भर्ना हुन आउने गण्डकी प्रदेशका उत्कृष्ट मस्तिष्कहरूलाई विद्यालयमा स्वागत गर्न पाउँदा आफू निकै हर्षित भएको बताउँदै विद्यार्थीहरूले एसओएस गण्डकीमा प्राप्त भौतिक र मानवीय सुविधाको उच्चतम उपयोग गर्नेमा आफू विश्वस्त रहेको बताए ।

समारोहमा पोखरा महानगरपालिका वडा नं. १५ का अध्यक्ष तोरणबहादुर बानियाँ, पोखरा महानगरपालिकाकी कार्यपालिका सदस्य मन्दिरा परियार, एसओएस युवालय गण्डकीका प्रमुख बाबुराम बराल, शिक्षक तथा कर्मचारी कल्याणकारी युनियन एसओएस गण्डकीका एकाइ अध्यक्ष मिलन खत्री, एसओएस गण्डकीका सहप्राचार्यद्वय वीरसिंह बूढा र प्रभास पौडेल, एसओएस बालग्राम गण्डकीकी आमा प्रतिनिधि पार्वती पाण्डेलगायतका अन्य विशिष्ट व्यक्तित्वहरूको समेत सहभागिता रहेको थियो ।

कक्षा १२ मा अध्ययनरत छात्रा अपि कुँवर र प्राश्ना पौडेलद्वारा सञ्चालित उक्त कार्यक्रममा नव आगन्तुक विद्यार्थीहरूको स्वागतमा विभिन्न सांस्कृतिक प्रदर्शनीसमेत प्रस्तुत गरिएको थियो । विज्ञान सङ्कायअन्तर्गत जीवविज्ञान र कम्प्युटर समूहको अध्ययन–अध्यापन हुने एसओएस गण्डकीको कक्षा ११ मा हाल भुक्तानी र छात्रवृत्ति कोटामा गरी १ सय ४० भन्दा बढी विद्यार्थीहरू अध्ययनरत छन् ।

Top Post Ad

post bottom ads

Ads Bottom