Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

रातको समयमा वनकर्मी र काठ तस्करबिच घम्साघम्सी - Brighter khabar


साउन ९ गते । सागरनाथ वन विकास परियोजनाका जङ्गल काठ तस्कर र बनकर्मीबिचको सङ्घर्षले रण क्षेत्र बन्दै गएको छ । काठ तस्करको सङ्गठित गिरोहका कारण रातको समय पनि वन क्षेत्र अशान्त हुँदै गएको छ । गिरोह र बनकर्मीबिच झडप र घम्साघम्सी घट्नाले वन संरक्षणमा अनेकन् समस्या र चुनौती थपिएको वनकर्मीले जनाएका छन् ।  


बुधवार बिहान गौशाला–१२ लक्ष्मीनियास्थित परियोजनाको स्टिल टावर उत्तरको ७ नम्बर ब्लक र अघिल्लो दिन गौशाला–८ कुशुमाडीको प्लट नं ३ नजिकको ग्रीनबेल्टमा घटेका त्रासदीपूर्ण घट्नाले वन जङ्गलको सुरक्षालाई चुनौतीपूर्ण बनाएको हो । 


माइस्थानस्थित परियोजनाको हात्तीलेट वन व्यवस्थापन शाखा प्रमुख विद्यासागर कर्णकाअनुसार राति करिब २.३० बजेतिर उत्तरतर्फको ग्रीन बेल्टमा २ वटा बत्ती बलेको देखेपछि रेन्जर रोहित चौधरीको कमाण्डमा खटेको ११ जना परियोजनाकर्मीको टोलीले घेराबन्दी गरी सर्च गर्दा शङ्कास्पद अवस्थामा बा ५ च ४३१ नम्बरको बलेरो गाडी फेला पारेको थियो।


बलेरोको तलासी लिँदा त्रिपालले छोपेको करिब ५५ क्युफिट बराबरका साल जातका १६ थान काठ देखेपछि गस्तीमा रहेका परियोजनाकर्मीले बलेरो नियन्त्रणमा लिएको थियो । यस्तो अवस्थामा जङ्गली क्षेत्रको बाटो हुँदै दक्षिणबाट केही मोटरसाइकल हुइँकिँदै उत्तरतर्फ लागेपछि मध्यरातको बेला त्रास र संशय थपेको गस्तीमा रहेका परियोजनाकर्मीले बताएका छन् । 


लामो प्रयासपछि परियोजनाले काठ र बलेरो नियन्त्रणमा लिएको जनाएको छ । घट्नामा संलग्नहरूको पहिचान र खोजी भइरहेको परियोजनाको वन व्यवस्थापन शाखाका फरेष्टर प्रेमप्रसाद उपाध्यायले बताउनुभयो । 


यसअघि परियोजनाकै गौशाला–८ कुशुमाडीको जङ्गलस्थित प्लट नं ३ मा काठ तस्कर र वनकर्मीबिच घम्साघम्सी पर्दा ३ जनालाई नियन्त्रणमा लएको वनकर्मीको भनाइ छ । 


राति करिब १० बजेतिर फरेष्टर उपाध्यायको कमाण्डमा खटी गएको गस्तीले ४ वटा साइकलमा २ थान सालको काठ चोरीगरी लाँदैगरेको अवस्थामा पक्राउ गर्न खोज्दा झडप परेको बताइएको छ ।  


परियोजनाकर्मीले गौशाला–८ भन्टावारीका अभिषेक साह, रामकिसुन महतो र रामबाबु शर्मालाई नियन्त्रणमा लिनुका साथै ४.५८ क्यूफिट फिट बराबरको २ थान सालका काठ र ४ थान साइकल बरामद गरेको परियोजनाको हात्तीलेट वन व्यवस्थापन शाखाले जनाएको छ । 


दोहरो झडपछि दुवै ठाउँबाट करिब ५८ क्यूफिट साल जातको १८ थान काठसहित –३ जना तस्कर, ४ थान साइकल र एउटा बलेरो पिकअप नियन्त्रणमा लिएको माइस्थानस्थित परियोजनाका हात्तीलेट वन व्यवस्थापन शाखा प्रमुख विद्यासागर कर्णले बताउनुभयो । 


पक्राउ परेका तीनै जनालाई माईस्थान सबडिभिजन कार्यालयले न्यायिक हिरासतमा राखी वन ऐनअनुसार कारबाही अघि बढाएको सबडिभिजन प्रमुख कृष्णकान्त पटेलले जनाउनुभयो । वनकर्मीकाअनुसार जङ्गली क्षेत्रमा झडपका घट्ना पटक–पटक घटेका छन् ।

Top Post Ad

post bottom ads

Ads Bottom