देशभर गरेर ४५ ठाउँभन्दा बढी क्षेत्रका सडक आवागमन अवरुद्ध भएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।
उहाँका अनुसार विपद्जन्य घटनामा परेर स्याङ्जामा तीन, पर्वतमा दुई, काठमाडौँमा एक र काभ्रेमा खोलाले बगाएर दुईजनाको मृत्यु भएको छ ।
प्रवक्ता कार्कीले दाङमा दुई, तनहुँमा तीन, दोलखामा एक गरी छजना बेपत्ता भएका जानकारी दिनुभयो । अहिलेसम्म तनहुँ, गुल्मी ओखल्ढुङ्गामा गरेर सातजना घाइते भएका पनि प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
भारी वर्षाका कारण देशभरकै जनजीवन प्रभावित भएको छ । कोशी नारायणीलगायतका ठूला नदीमा जलसतह उच्च भएको छ भने अन्य साना खोला खहरे पनि उर्लिएको छ । तीनवटै सुरक्षा निकाय हाईअलर्टका साथ प्रभावित क्षेत्रमा परिचालन भई खोज तथा उद्धार जारी राखेका छन् ।