Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

यस्तो छ हरितालिका तिजको धार्मिक महत्त्व - Brighter Network


भदौ २१, नेपाली हिन्दु महिलाहरूको महान् चाड हरितालिका तीज पर्वमा महिलाहरू आफ्नो स्वास्थ्य र श्रीमान्को दीर्घायुको कामना गर्दै व्रत बस्छन् । यद्यपि समयसँगै संस्कार र संस्कृतिमा निकै परिवर्तन आएको छ । यसको महत्वमा कुनै कमी देखिँदैन । हिजोआज सहरी क्षेत्रको तीज भड्किलो हुँदैछ भने तीजको रमझममा पनि पश्चिमेली शैली मिसिन थालेको देखिन्छ । फलस्वरूप तीज केही उत्ताउलो हुन थालेको र यसको मौलिकता हराउन थालेको गुनासो पनि हुन थालेको छ ।  

तीज यही बेलादेखि सुरु भएको भन्ने ठ्याक्कै मिति निर्धारण त गर्न सकिँदैन तैपनि यो भारत वर्ष विशेष गरी उत्तर भारत एवं नेपालमा पौराणिक कालदेखि नै चलिआएको बुझ्न सकिन्छ । विशेष गरी तीज भारतभन्दा पनि नेपालमै बढी चलेको पर्व हो । नेपाली समाजमा यो पर्वको मौलिक स्वरूप विकास भएको हुनाले तीज विशुद्ध नेपाली पर्व हो र यो नेपालका महिलाहरूले मात्र मनाउँछन् भन्न सकिन्छ । नेपाली जनजीवनको सामाजिक, धार्मिक, सांस्कृतिक आदि पहिचान व्यक्त गर्ने यो पर्वले नेपाली महिलाहरूको इतिहासलाई बोकेको छ जुन विभिन्न रूपले यो पर्वमार्फत प्रकट हुन्छ ।


धार्मिक कथनअनुसार हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी व्रत बसेकी र उनको व्रत पूर्ण भई महादेव पति पाएको दिनलाई हिन्दु नारीहरूले हरितालिका तीजका रूपमा मनाउँदै आएका छन् । पार्वतीले महादेवलाई श्रीमान्का रूपमा पाउन १०७ जन्मसम्म घोर तपस्या गरे पनि १०८ औँ जन्ममा मात्र उनको तपस्या पूरा भएको कुरा विभिन्न शास्त्रमा उल्लेख छ । यही मान्यतालाई अनुसरण गर्दै विवाहित महिलाले आफ्ना श्रीमान्को दीर्घायु एवं अविवाहित महिलाले सुयोग्य वर पाऊँ भनी तीजको व्रत बस्ने चलन छ ।


तीज हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइन्छ । अघिल्लो रात अर्थात् द्वितीयाका दिन दर खाइन्छ । तीजका दिन व्रत बसिन्छ । चौथीका दिन स्नान गरी व्रतको पारण गरेर खाना खाइन्छ भने तीजको तेस्रो दिन अर्थात् ऋषि पञ्चमीका दिन व्रतालु महिलाहरूले ३६५ वटा दतिवनले दाँत माझेर माटो लेपन गरी स्नान गर्छन् । अपमार्ग लेपनले छालामा हुने एलर्जी हटाउँछ । पञ्चमीका दिन अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि तथा वशिष्ठ ऋषिको पूजा गरी हलोले नजोतेको अन्नको भात र एक सुइरे भएर उम्रने कर्कलो आदिको तरकारी वा एकदलीय अन्न मात्र खाइन्छ । यो दिन श्रीमान्ले पकाएको भोजन खाए आपसी आत्मीयता एवं सद्भाव बढ्ने विश्वास छ ।


तीजमा प्रयोग हुने गहना र पहिरनको पनि आफ्नै महत्त्व छ । धार्मिक संस्कारयुक्त तीज सर्वमान्य हुन्छ । तीजका दिन महिलाले लगाउने रातो साडी सुख, समृद्धि एवं साहसको प्रतीक मानिन्छ । रातो रङले महिलालाई एक किसिमको शक्ति प्रदान गर्ने धार्मिक विश्वास छ । पोतेले शान्ति र आनन्द प्रदान गर्छ भने रातो टीका सौभाग्यको प्रतीक हो । हृदय स्वच्छ भए मनोकाङ्क्षा पूर्ण हुने धार्मिक विश्वास तीजको व्रतमा अन्तर्निहित छ ।


तीजमा महिलाहरूले निर्जल, निराहार उपवास बस्नुपर्ने धार्मिक मान्यता छ । पुरुषभक्त हुन गरिने व्रत तीजमा महिलाले गरेको धार्मिक विधिले श्रीमान्को दीर्घायु, सुस्वास्थ्य, प्रगति हुने मान्यता छ ।

Top Post Ad

post bottom ads

Ads Bottom