Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

एसइई पूरक परीक्षाको नतिजा असोज तेस्रो सातासम्म सार्वजनिक हुने - Brighter Network


भदौ १८ गते । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) पूरक (ग्रेडवृद्धि) को नतिजा असोज तेस्रो सातासम्म सार्वजनिक गर्ने भएको छ । बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का अनुसार दसैँअघि नै नतिजा प्रकाशन गर्ने गरी काम भइरहेको छ । परीक्षा नियन्त्रक कक्षा १० का नन्दलाल पौडेलका अनुसार अहिले उत्तरपुस्तिका परीक्षण सकेर केन्द्रमा ल्याउने काम भइरहेको छ । 


पौडेलका अनुसार उत्तरपुस्तिका परीक्षण उपत्यकाका तीनसहित ३४ वटा केन्द्रबाट भएको थियो । बोर्डका अनुसार धेरै स्थानबाट प्राप्ताङ्कसमेत आइसकेको छ । केही केन्द्रमा उत्तरपुस्तिका परीक्षण सकिएको भए पनि प्रतिकूल मौसमका कारण प्राप्ताङ्क तथा उत्तरपुस्तिका ल्याउन सकिएको छैन ।


बोर्डले कक्षा ११ को रजिस्ट्रेसन फारामलाई असर नपर्ने गरी नतिजा प्रकाशन गर्ने तयारी गरेको हो । बोर्डको वार्षिक कार्यतालिका अनुसार कक्षा ११ को रजिस्ट्रेसन फाराम भराउने समय कात्तिक १५ गतेभित्रलाई तोकिएको छ ।


विलम्ब शुल्क तिर्नेका लागि भनेर कात्तिक ३० भित्रको समय तोकिएको छ तर कुन दिनदेखि फाराम भर्न पाइने भन्ने विषयमा बोर्डले वार्षिक कार्यतालिकामा नखुलाए पनि सामान्यतया एक महिनाको समय राखेर फाराम भर्न लगाइने चलन छ । फाराम भर्ने समय नसकिँदै नतिजा प्रकाशन गर्ने योजनासाथ काम भइरहेको पौडेलले जानकारी दिनुभयो । 


२०८० सालको एसइईमा नियमित परीक्षार्थीका रूपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका सबै परीक्षार्थी ग्रेडवृद्धि परीक्षामा सहभागी भएका छन् । ग्रेडिङ निर्देशिका–२०६८ मा दुई विषयमा एनजी आएका विद्यार्थीले मात्र ग्रेडवृद्धि परीक्षा दिन पाउने व्यवस्था थियो । निर्देशिकाको उक्त व्यवस्थालाई संशोधन गरी परीक्षामा अनुपस्थित तथा ननग्रेडेड सबैलाई परीक्षामा सामेल हुने अवसर दिइएको थियो ।


दुई लाख ३४ हजार विद्यार्थीको एनजी आएकोमा ग्रेडवृद्धि परीक्षामा भने दुई लाख नौ हजार ८०४ विद्यार्थी मात्रै सहभागी थिए ।

Top Post Ad

post bottom ads

Ads Bottom