ताप्लेजुङ, कात्तिक १३ गते । ताप्लेजुङका एक बालिकालाई जबरजस्ती करणी गरी गर्भवती बनाएको आरोपमा पाँचथरका एक युवक पक्राउ परेका छन् । प्रहरीका अनुसार १६ वर्षीया बालिकालाई करणी गरी गर्भवती बनाएको आरोपमा २८ वर्षीय युवक पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार बालिकालाई जबरजस्ती करणी गरी गर्भवती बनाएको आरोपमा राकेश हेम्ब्या लिम्बू पक्राउ परेका छन् । पीडित बालिकाकी हजुरआमाले दिएका किटानी जाहेरीको आधारमा लिम्बूलाई पक्राउ गरिएको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार बालिकालाई जबरजस्ती करणी गरी लिम्बू फरार रहेका थिए । यता पक्राउ परेका लिम्बूमाथि ताप्लेजुङ जिल्ला अदालतबाट सात दिनको म्याद लिएर मुलुकी अपराध संहिता २०७४, भाग २ परिच्छेद १८ बमोजिम अनुसान्धान सुरु गरिएको पनि जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।