Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

वाक स्वतन्त्रता: समाजको उन्नतिको आधार र यसको सीमाहरू - Brighter Network


वाक स्वतन्त्रता कुनै पनि प्रजातान्त्रिक समाजको आधारशिला हो। व्यक्तिले आफ्ना विचार र भावनालाई खुलेर व्यक्त गर्न पाउनु भनेको प्रजातन्त्रको एउटा महत्त्वपूर्ण विशेषता हो। वाक स्वतन्त्रता नहुँदा व्यक्ति आफ्नो अस्तित्व र अधिकारप्रति सजग हुन सक्दैन। यसले समाजलाई जागरूक, सचेत र प्रगतिशील बनाउन सघाउ पुर्‍याउँछ। तथापि, यो अधिकार सम्पूर्ण रूपमा स्वतन्त्र भने होइन। यसमा केही सीमाहरू छन्, जसले समाजमा अनुशासन, सम्मान र शान्तिको सन्तुलन कायम राख्न मद्दत पुराउँछन्।


वाक स्वतन्त्रताको अर्थ भनेको आफ्नो विचारलाई खुला रूपमा अभिव्यक्त गर्न पाउनु हो। यो अधिकारले व्यक्तिलाई समाजमा सक्रिय सहभागिता जनाउने, अन्यायको विरोध गर्ने, तथा राज्य प्रणालीप्रति सचेत बनाउने अवसर दिन्छ। यो अधिकारको माध्यमबाट व्यक्तिले आफ्नो धारणालाई, विचारलाई तथा आफ्नो असन्तुष्टि, आलोचना र सन्देशलाई सार्वजनिक रूपमा व्यक्त गर्न पाउँछ। यसको उद्देश्य भनेकै समाजलाई सुसूचित, समावेशी र प्रजातान्त्रिक बनाउन मद्दत गर्नु हो।


व्यक्ति वा समूहले कुनै पनि सार्वजनिक मुद्दामा आफ्नो धारणा राख्न पाउँछ। चाहे त्यो सामाजिक अन्याय होस् वा राजनीतिक असमानता, वाक स्वतन्त्रता मार्फत व्यक्तिहरूले आफ्ना विचारलाई सशक्त रूपमा व्यक्त गर्न सक्छन्। यो अधिकारले नै समाजमा समस्याहरूको पहिचान र समाधानको सम्भावनालाई उजागर गर्ने कार्य गर्छ। अहिलेको समाजमा अन्याय र अत्याचारको विरोध गर्न वाक स्वतन्त्रताको ठुलो भूमिका हुन्छ। व्यक्तिले आफ्ना व्यक्तिगत अधिकारहरूको संरक्षणका लागि विरोध गर्न पाउँछ, जसले न्याय र समानताको पक्षमा आवाज उठाउन सघाउँछ। वर्तमान समयमा सञ्चार माध्यमहरू जस्तै रेडियो, टेलिभिजन, पत्रपत्रिका, सामाजिक सञ्जालमार्फत वाक स्वतन्त्रताको प्रयोग गर्ने अवसर बढेको छ। यसले व्यक्तिलाई समाजको मुद्दाहरूमा सजग र सचेत बनाउँछ, साथै सरकार तथा प्रशासनलाई पनि जनताको आवाज सुनाउन बाध्य पार्छ। विचार अभिव्यक्त गर्न लेखन, सङ्गीत, चलचित्र, साहित्य र चित्रकलाको प्रयोग वाक स्वतन्त्रताको महत्त्वपूर्ण पक्ष हो। यसले समाजमा गहिरो प्रभाव पार्न सक्छ। लेखन, चलचित्र, र साहित्यमार्फत सामाजिक, राजनीतिक र सांस्कृतिक विषयमा सचेतना फैलाउन सकिन्छ।


वाक स्वतन्त्रता असीमित अधिकार होइन। यसलाई सदुपयोग गर्दै समाजको शान्ति र मर्यादालाई कायम राख्न केही नियमहरू लागू गरिएका छन्। यसमा केही सीमाहरू छन्, जसले समाजमा नैतिकता र अनुशासन कायम राख्न मद्दत पुर्‍याउँछ। विभिन्न जाति, धर्म, समुदाय र वर्गबिच घृणा, विभाजन र असन्तुष्टि फैलाउने अभिव्यक्तिहरूले समाजमा अस्थिरता ल्याउँछन्। यस कारण जातीय द्वेष, धार्मिक कट्टरता, र हिंसा भड्काउने प्रकारका अभिव्यक्ति निषेध गरिएका छन्। वाक स्वतन्त्रताको नाममा राष्ट्रको सुरक्षालाई खतरामा पार्ने अभिव्यक्ति वैधानिक होइन। उदाहरणका लागि, हिंसाको प्रचार-प्रसार, देशको गोप्य सूचना लिक गर्ने, तथा राष्ट्रको सुरक्षामा असर पार्ने जानकारी खुलासा गर्ने कार्यहरू प्रतिबन्धित छन्। समाजको नैतिकता र मर्यादा भत्काउने अभिव्यक्तिहरू वर्जित गरिएका छन्। अश्लील तथा अपमानजनक अभिव्यक्तिहरूले समाजको नैतिक मान्यतालाई कमजोर बनाउँछ, त्यसैले वाक स्वतन्त्रतामा अश्लील सामग्री वा अमर्यादित अभिव्यक्ति रोक्न व्यवस्था गरिएको छ। कुनै व्यक्तिको प्रतिष्ठामा आँच पुर्‍याउने, झुटा आरोप लगाउने वा अफवाह फैलाउने खालका अभिव्यक्ति कानुनी दृष्टिले वर्जित छन्। मानहानि तथा झुटो जानकारी दिने कार्यले व्यक्तिको सामाजिक प्रतिष्ठामा नकारात्मक असर पर्न सक्छ। त्यसैले वाक स्वतन्त्रतामा यो सीमालाई ध्यानमा राख्नुपर्छ।


एकै छिन सामाजिक सञ्जाल तिरको वाक स्वतन्त्रतालाई नियाल्ने कोसिस गरौँ । आजको डिजिटल युगमा सामाजिक सञ्जालले सबैलाई आफ्नो विचार र भावना अभिव्यक्त गर्ने स्वतन्त्रता दिएको छ। यसले व्यक्तिलाई विचार प्रकट गर्न, अन्य व्यक्तिहरूसँग जोडिन र सूचनाहरू आदान–प्रदान गर्न सजिलो बनाएको छ। तर, यो स्वतन्त्रता कहिलेकाहीँ नकारात्मक प्रभावहरू पनि निम्त्याउने गरेका कतिपय घटनाहरू पनि हाम्रो समाजमा देखिँदै आएका छन् । कतिपय अवस्थामा, वाक स्वतन्त्रताले सामाजिक सञ्जालले  गालीगलौज र घृणा फैलाउने सन्देशहरूलाई बढवा दिएका घटना दिनप्रतिदिन बढिरहेका छन् । वाक स्वतन्त्रताको दुरुपयोग गरी विभिन्न संजालाहरुमा  गलत सूचना र अफवाहहरू फैलाउने कामले गर्दा जनताको मानसिकतामा भ्रम उत्पन्न गराउने गरेका घटना समेत दिनानुदिन बढ्दै गइरहेका छन्। यो सँगै सामाजिक सञ्जालमा भएका नकारात्मक टिप्पणीहरूले व्यक्तिगत जीवनमा तनाव उत्पन्न गराउनुका साथै त्यसले  मानसिक स्वास्थ्यमा गम्भीर असर पुर्‍याएका घटनासमेत बढिरहेका छन् । 


सामाजिक सञ्जालको उपयोग गर्दा जिम्मेवारीका साथ विचार प्रकट गर्ने अभ्यासलाई बढवा दिन आवश्यक छ। वाक स्वतन्त्रताका सीमाहरू, जिम्मेवारी र यसको प्रभावबारे जनचेतना अभिवृद्धि गर्नका लागि डिजिटल शिक्षामा समेत जोड दिनुपर्ने देखिन्छ । 


तसर्थ सामाजिक सञ्जालको विवेकपूर्ण प्रयोगले समाजलाई प्रगतिशील मार्गतर्फ अघि बढाउन मद्दत गर्न सक्छ भने यसको गलत प्रयोगले समाजमा नकारात्मक घटनाहरू निम्त्याउन सक्छ। त्यसैले, वाक स्वतन्त्रताको सीमारेखा र यसको सही उपयोगबारे सचेत रहनु आवश्यक देखिन्छ ।


अब एकै छिन हाम्रो संविधानले यस सम्बन्धमा के बोलेको छ भन्ने तर्फ लागौँ । नेपालको संविधान, २०७२ ले वाक स्वतन्त्रतालाई नागरिकको मौलिक हकको रूपमा सुनिश्चित गरेको छ, जसले लोकतान्त्रिक समाजमा विचार र अभिव्यक्तिको स्वतन्त्रतालाई संरक्षण दिन्छ। संविधानको धारा १७ को उपधारा २ (क) ले सबै नागरिकलाई आफ्नो विचार र अभिव्यक्ति स्वतन्त्रताका साथ प्रकट गर्न पाउने अधिकार प्रदान गरेको छ। यसको अन्तर्गत विचार प्रकट गर्ने, सञ्चार गर्न पाउने र अन्य व्यक्तिसँग सूचना आदान–प्रदान गर्न पाउने स्वतन्त्रता सामेल छ। संविधानमा वाक स्वतन्त्रता अन्तर्गत नागरिकलाई आफ्नो विचार व्यक्त गर्न र आलोचना गर्ने स्वतन्त्रता छ। यो अधिकार लेखन, भाषण, कला, साहित्य, र अन्य माध्यमबाट प्रयोग गर्न सकिन्छ। यसले व्यक्ति र समाजको अभिव्यक्ति तथा सृजनशीलतालाई प्रोत्साहित गर्दछ। वाक स्वतन्त्रता भित्र प्रेस स्वतन्त्रतालाई पनि छुट्टै महत्त्व दिइएको छ। संविधानले प्रेसलाई समाचार लेख्न, विचार सम्प्रेषण गर्न र जनचासोका विषयमा रिपोर्ट गर्न स्वतन्त्रता दिएको छ। प्रेस स्वतन्त्रताले सूचना प्राप्त गर्ने र सरकार तथा संस्थाहरूलाई जबाफदेही बनाउने आधारशिला तयार गर्दछ। संविधानले नागरिकलाई सरकारी क्रियाकलाप र सूचनामा पहुँच दिने हक पनि दिएको छ। सूचना प्राप्त गर्न पाउने अधिकारले राज्यलाई पारदर्शी बनाउन र भ्रष्टाचार नियन्त्रण गर्न मद्दत पुर्‍याउँछ।


संविधानले वाक स्वतन्त्रतालाई पूर्ण रूपमा निरङ्कुश भने बनाएको छैन। राष्ट्रको अखण्डता, सार्वभौमिकता, राष्ट्रिय सुरक्षा, सार्वजनिक नैतिकता, सद्भावमा खलल, व्यक्तिगत प्रतिष्ठामा आँच पुर्‍याउने, गोपनीयता हनन गर्ने, जातीय, धार्मिक द्वेष फैलाउने अभिव्यक्तिमा रोक लगाइएको छ। यसरी, वाक स्वतन्त्रता प्रयोग गर्दा सामाजिक शान्ति र समरसता कायम राख्ने सर्त पनि तोकिएको छ।


नेपालको संविधान, २०७२ ले वाक स्वतन्त्रतालाई नागरिकको आधारभूत अधिकारका रूपमा सुनिश्चित गर्दै यसलाई लोकतन्त्रको प्रमुख आधारशिला बनाएको छ। यो अधिकारले नागरिकलाई सशक्त बनाउँछ, साथै सरकारलाई पारदर्शी र जबाफदेही बनाउन भूमिका खेल्छ। यद्यपि, यसमा राष्ट्रको हित, सार्वजनिक शान्ति र सद्भावलाई ध्यानमा राखेर आवश्यक सीमाहरू तोकिएको छ, जसले समाजमा सन्तुलन कायम गर्न मद्दत गर्दछ।


वाक स्वतन्त्रताले व्यक्तिलाई निडर, सचेत र जिम्मेवार नागरिक बनाउँछ। तर, यसको प्रयोग गर्दा अन्य व्यक्तिहरूको अधिकारलाई हानि नपुगोस् भन्ने कुरामा विशेष सचेत रहनुपर्छ। कुनै पनि समाजको प्रगति र विकासका लागि वाक स्वतन्त्रताको अधिकार आवश्यक छ, किनभने यसले नागरिकलाई सशक्त बनाउँछ र समाजलाई न्यायपूर्ण बनाउँछ। वाक स्वतन्त्रताको सही प्रयोग र यसमा रहेका सीमाहरूको पालना गर्दै हामीले सुसंस्कृत, मर्यादित र प्रजातान्त्रिक समाजको निर्माण गर्न सक्छौँ।

Top Post Ad

post bottom ads

Ads Bottom