पोखरा, मङ्सिर ७। पोखरामा मानव बेचबिखन तथा ओसार पसार र जबरजस्ती करणी सम्बन्धी मुद्दामा ३ जना पक्राउ परेका छन् ।
४ जना बालिकालाई जिल्ला कास्की पोखरा महानगपालिका वडा नं. ६ लेकसाईड स्थित रहेको स्नो ल्यान्ड होटेलले सञ्चालन गरेको भिजा यूथ होस्टेलको कोठाहरूमा राखी बाध्य तुल्याई यौन शोषण गरिरहेको भन्ने सूचनाको आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा गोरखा पालुङ्टार गा.पा. वडा नं.४ स्थायी घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. ६ लेकसाईड स्थित होटेल स्नोल्याण्डमा डेरा गरी बस्ने वर्ष १९ की ममता तामाङ , जिल्ला मकवानपुर बाग्मती गा.पा. वडा नं.८ स्थायी घर भई हाल जिल्ला काठमाडौँ बुढानीलकण्ठ न.पा. वडा नं. ७ कपन बस्ने वर्ष २३ की रिना तामाङ, जिल्ला पूर्वी नवलपरासी मध्यबिन्धु न.पा. वडा नं.१० स्थायी घर भई हाल पोखरा म.न.पा. वडा नं. ६ लेकसाईड बस्ने वर्ष अन्दाजी १९ की जस्मिन ठकुरी रहेको प्रहरीले जनाएको छ ।
बालिकाहरूको उद्धार गरी पीडित बालिकाहरूसँग बुझ्दा ललाई फकाई राम्रो होटेलमा काम लगाइदिन्छु, मासिक तलब राम्रो हुन्छ, खानाबस्नको राम्रो सुविधा छ भन्ने विश्वासमा पारी कोठा बाहिर समेत निस्किन नदिई पर पुरुष व्यक्तिहरूसँग शारीरिक सम्पर्क गर्न बाध्य तुल्याउँदै आएको अवस्थामा निज बालिकाहरूलाई उद्धार गरिएको प्रहरीले जनाएको छ ।
उनीहरूमाथि कास्की जिल्ला अदालतबाट मानव बेचबिखन तथा ओसार पसार मुद्दामा दिन (पाँच) ५ म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडी बढाइएको छ ।