पोखरा, कात्तिक ३० गते । कास्कीमा ४८ जना फरार प्रतिवादीहरू पक्राउ परेका छन् । कार्तिक महिनाभरिमा जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत प्रहरी कार्यालयहरू समेतबाट खटिएको प्रहरी टोलीले सम्मानित अदालतबाट विभिन्न मुद्दामा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका ४८ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पुरुष ३६ जना र महिला १२ जना छन् । उनीहरूलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागि कास्की जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार निजहरूबाट १ वर्ष ६ महिना ६ दिन कैद सजाय र एक करोड दुई लाख एक हजार पाँच सय जरिवाना असुल गर्नको लागि सम्मानित अदालतमा उपस्थित गराइएको हो ।
पक्राउ हुनेहरूमध्ये चेक अनादर मुद्दामा ३५ जना, लागू औषध मुद्दामा ५ जना, अभद्र व्यवहार मुद्दामा १ जना, आपराधिक उपद्रव मुद्दामा १ जना, सार्वजनिक सम्पत्तिको नोक्सान गरी भ्रष्टाचार गरेको मुद्दामा १ जना, बैङ्किङ कसुर मुद्दामा ४ जना, लेनदेन बिगो मुद्दामा १ जना रहेका छन् ।