पोखरा, कास्की प्रहरीले लागूऔषध कारोबार गरिरहेका ४ जनालाई पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय बगर कास्कीबाट खटिएको प्रहरी टोलीले जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.२ बागलुङ बसपार्क बस्ने २० वर्षीय कृष्ण श्रेष्ठ, जिल्ला म्याग्दी स्थायी घर भई हाल पोखरा म.न.पा. वडा नं. ३ नदीपुर बस्ने २५ वर्षीय प्रदीप पुन, पोखरा म.न.पा. वडा नं. ४ फिर्के पुल बस्ने १९ वर्षीय रोहित नेपाली र गणेश टोल बस्ने १९ वर्षीय सुमित परियारलाई लागूऔषध सहित प्रहरीले नियन्त्रणमा लिएको हो ।
लागू औषधको कारोबार भई रहेको भन्ने सूचनाको आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । उनीहरूको साथबाट लागू औषध Tramadol Hydrochloride Capsules I.P. Tramol-50 लेखिएको लागू औषध १६० चक्की र मोबाइल थान ४ समेत बरामद भएको प्रहरीले जनाएको छ ।
निजहरूलाई नियन्त्रणमा लिई लागू औषध सम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट ७ दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको छ ।